नेपालको ऐतिहाँसिक गुजरावाद


     गनेस पौडेल    
     कार्तिक १ गते २०७७ मा प्रकाशित



यो आलेख नेपालीहरूको सामाजिक मानसिकता माथिको सतही अवलोकन हो । र मलाई के लाग्छ भने आम मान्छेलाई सतही कुरा मन पर्छ । सतही कुरा सुस्पष्ट हुन्छ । सतही ज्ञान, सतही संघर्ष, सतही सम्पन्नता, सतही सम्बन्ध जिन्दगीको तलाउमा उत्रने कला हो, गहिराई त जिन्दगीलाई डुबाउने उपाय सिवाय केही होइन ।

म कहिलेकाहिँ यसो विचार गर्छु ः नेपालको राष्ट्रिय मनोविज्ञानको स्टिमुली तन्तु के होला ? म मनोविज्ञानकै विद्यार्थी त होइन तैपनि किन हो मलाई आफू सम्मिलित यो देशको मनोविज्ञान नै कुनै न कुनै हदमा हाम्रो अविकासको कडी हो जस्तो लाग्छ । हाम्रो विचार, संस्कृति र दर्शनको सामूहिक स्वाभावले हामीलाई एकातिर नेपाली हुनुको परिचय दिएको छ भने अर्कोतिर अज्ञानता, अभाव, अशिक्षा जस्ता ‘अ’हरुको अध्याय पनि जम्मा गरेको छ ।

त्यस्तो विचार मैले जसरी डोरबहादुर बिष्टले उहिल्यै सोंचेका हुन् । खासमा मेरो सोंचाई “फेटलिजम एण्ड डेभलपमेन्ट“कै डोरमा पलाएको विचार हो भन्ने पनि मलाई थाहा छ । तर बिष्टले भनेको भाग्यवादले नेपालको मौलिक राष्ट्रिय मनोविज्ञानको अर्थ दिदैन । किनकी भाग्यवाद संसारका हरेक देशमा छ त्यसको तिब्रता र बिस्तृति भने फरक हुन सक्छन । हेरिल्याउँदा संसारकै सर्बाधिक विकसितमध्येको देश जापानमा सबैभन्दा धेरै भाग्यवाद छ । त्यसैले मलाई घरिघरि त के पनि लाग्छ भने भाग्यवाद अविकासको कारण हुँदै होइन ।

खासमा म राष्ट्रिय मनोविज्ञानको सतही कुरा गर्दै थिएँ । यस्तो मनोविज्ञान राज्यले ‘ल हाम्रो सरकारले अबदेखि यस्तो राष्ट्रिय मनोविज्ञान बनाउने निर्णय गर्यो’ भनेर बनाउने कुरा होइन । हाम्रो आफ्नै व्यक्तिगत मनोविज्ञान पनि हामी आफैँले निर्माण गर्ने कुरा होइन । इतिहासको लिखित या अलिखित संघर्ष र त्यसको उपलब्धिको अविरल अभ्यासबाट राष्ट्रिय मनोविज्ञान बनेको हुन्छ । यही अभ्यासका कारण हामीले समय सम्बन्धि धारणा निर्माण गरेका हुन्छौं । विगतलाई कसरी लिने ? भविष्यप्रति कस्तो धारणा राख्ने र कस्तो तयारी वर्तमानमा गर्ने भन्ने बिषयबाटै मान्छेको मिहिनेत र संघर्ष निर्देशित भएको हुन्छ ।

समयगत रूपमा हेर्दा मान्छेका तीन मनोवृत्ति हुन्छन् । एक थरी मान्छेलाई अहिलेभन्दा उहिले धेरै राम्रो थियो भन्ने धारणा हुन्छ । संसारका हरेक समाजमा सत्ययुग (गोल्डेन एज) को कल्पना छ । अतित्प्रति आकर्षित हुनु मानवीय गुण हो । विगतप्रतिको यही आकर्षण नै वास्तवमा ज्ञानको श्रोत हो । किनकी ज्ञान भनेकै इतिहासको विवेचना हो । तर अतित्मा आफ्नो उपस्थितिलाई कसरी संलग्न गर्ने ? अतित्को अस्तित्वलाई आफू असंलग्न भएर खोज्ने कि ‘पूर्व जन्म’को संलग्नताबाट खोज्ने ? यसको आधारमा नै ज्ञानको वैज्ञानिक वा आध्यात्मिक लय निर्धारण भएको हुन्छ ।

बिष्टले गरेको सामाजिक अविकासको विवेचना अतिप्रधान विवेचना हो । जेसुकै अफ्ठ्यारो अबस्था आए पनि त्यसलाई पूर्वजन्मको फल भनेर चित्त बुझाउने ठाउँ भएपछि मान्छे धेरै हदसम्म समर्पणवादी बन्न पुग्छ भन्ने उनको निश्कर्ष हो । ‘अहिले जे भैरहेको छ, त्यो मेरो नियन्त्रणमा छैन । यो त मेरो भाग्यको फल मात्रै हो’ भन्ने सोच नै विकास विरोधी सोंच हो ।

दोस्रो थरी मान्छे वर्तमानप्रति केन्द्रित हुन्छन् । उनीहरूलाई न अतिअतित्को पूर्व जन्मका आधारमा निर्देशित हुन्छ न भविष्यप्रति उत्पात् चिन्तित् । वर्तमानका नीजि वा सामाजिक आवश्यकता र त्यसको पूर्तिका प्रति मान्छेले गर्ने प्रयत्न कस्तो हुन्छ भन्ने बिषय नै मान्छेको वर्तमानमुखी मनोविज्ञान हो । मेरो खास विवेचना यसमा केन्द्रित छ ।

तेस्रोथरि मान्छे भविष्यकेन्द्रित हुन्छन् । भविष्य उन्मुखता खासमा अतित्उन्मुखताकै करलरी अभ्यास हो । भाग्यभरोसाकै अर्को पाटो हो । नेदरल्याण्डका प्रसिद्ध सोधकर्ता गीर्ट होफ्स्टेडले समाजहरुको ‘भविष्य उन्मुखता’ अन्तरगत अध्ययन गरेका छन् । संयोगले बिष्ट जन्मेकै बर्ष सन १९२८ मा उनी जन्मेका थिए । बिष्ट बेपत्ता भए होफ्स्टेड गत फेब्रुअरीमा बिते । (यी दुईमध्ये एकजना अर्कोबाट पक्कै प्रभावित थिए कि भन्ने म अनुमान लगाउँछु ।) ‘मान्छे भविष्यप्रति जति केन्द्रित हुन्छ त्यत्ति नै उ अहिले कर्मशिल हुन्छ ।’ होफ्स्टेडको निश्कर्ष थियो । नेतृत्व र संस्कृति बारेको चेत संसारका हरेक समाजमा ५ आयाममा बाँडिएको हुन्छ भन्दै होफ्स्टेडले संसारका सबै देशका समाजिक विवेचना गरेका छन् ।

हामी जुन संस्कारका हुक्र्यौँ यसले जीवनको बारेमा भन्दा ज्यादा जीवनपछिको सोंच ज्यादा राख्छ । जति पाप गरेपनि श्रीमदभागवत सप्ताह लगाएपछि पखालिने व्यवस्था छ समाजमा । त्यसो भएपछि जिन्दगीको लागि छोटो बाटोबाट हलक्क पैसा कमाउने र जिन्दगी पछिको लागि श्रीहरी गुहार्ने उपाय निस्कने भइहाल्यो । सनातन हिन्दू–बौद्ध दर्शनको मिश्रणबाट निर्मित यहाँका अन्य धर्मालम्बीमा पनि यही मनोविज्ञान छ्यालब्याल छ ।

बिष्ट र होफ्स्टेडका दुबै मोडेल अर्थात भाग्यवाद र भविष्य उन्मुखताको सामाजिक मनोविज्ञान खासमा समाजको वर्तमानप्रतिको अवधारणाबाट निर्देशित भएको हुन्छ । पूर्वजन्म र भविष्यवादको सोंच खासमा गुजारावादी सोंचको उत्प्रेरक हो । ‘त्यत्ति भएपछि त भैहाल्यो नि’ भन्ने हिसाबले नेपालमा अधिकाँस मान्छेहरू चल्छन् । त्यसैको फाइदा ‘यत्तिले कहाँ पुग्छ ?’ भन्नेहरुले उठाइरहेका हुन्छन् ।
यो ‘यत्तिले पुग्ने’ सोंच बनाउन हामी सारभूत रुपका केबाट निर्देशित छौं ? हामी किन काम गर्छौँ या काम गर्दैनौँ ? हामी किन चाँडै उम्लिन्छौं र चाँडै सेलाउँछौं ? हामी किन अत्यन्तै आपतको बेलामा पनि गैरगम्भीर तरिकाले शान्त बस्न सक्छौं ? वा शान्त बसेर अवलोकन गर्नु पर्ने समयमा अनावश्यक उर्लन्छौं ? हामी किन चाहिनेभन्दा ज्यादा क्षमाशिल भएको ? ‘भैगो भो छोड्दे’ मनोविज्ञान किन मेचीदेखि महाकालीसम्म बरोबर बाँडिएको ? हाम्रो समाजको स्वभाव किन यस्तो भयो ? के कारणले हामी अति भ्रष्ट र गुण्डागर्दी मार्काको राजनीतिक नेतृत्वलाई पनि बारम्बार भोट खसालिरहेका छौँ ? के हाम्रो आधारभूत सामाजिक स्वभाव नै हिंस्रक र गुण्डागर्दी मार्काको हो ?

मैले पुगेको सतही निश्कर्स के हो भने यो देशको सबैभन्दा शक्तिशाली विचार गुजारावाद हो । ‘यत्ति भएपछि गुजारा चल्छ’ भनेर हामीले जीवनमा तमाम काम गर्छौं । पढ्छौं, जागिर खान्छौं, प्रेम गर्छौं, बिहे गर्छौं, साथी र सम्बन्ध निर्वाह गछौं । गुजारामा जीवन सक्छौं । ‘यत्तिको भए त भैहाल्यो नि !’ भन्ने आधारमा जीवनका तमाम निर्णयहरु गरेका हुन्छौं हामीले । हामी यत्तिको भएपछि भैहाल्यो भनेर गुजारामुखी नेतालाई भोटहाल्छौं । जिन्दगीभर सम्पत्ति कमाउँछौं र त्यसलाई उपयोग गर्दैनौं, छोरानातीका लागि राख्छौं । कुनै काल जमानामा एउटा पुर्खाले जोरिदिएको सम्पत्ति आफ्ना सन्ततीका लागि सुरक्षित हस्तान्तरण गर्दिनु बाहेक अभिभावक (त्यसमा पनि बाबु) को जिम्मेदारी खासै हुँदैन ।

आधारभूत रुपमा एउटा नेपाली ’जतिसक्दो धेरै सम्पत्ति’ सन्तानलाई हस्तान्तरण गर्न मात्रै बाँचेको हुन्छ । त्यही सम्पत्ति कमाउन मात्रै बाँचेको हुन्छ । सम्पत्तिकै लोभमा उ सात समुन्द्र पार समाज र परिवार छोडेर एकलकाँटे जीवन बिताउन राजी हुन्छ । यो बाहेक खास अरु केही कुराको लागि औसत नेपाली बाँचेको देख्दिन म ।
आजलाई यत्ति !

पौडेल लेखक तथा साहित्यकार हुन् भने समसामयिक विषयमा कलम चलाउँछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।