पोखराको पहिचान थप्दै पोखरा अन्र्तराष्ट्रिय विमानस्थल


     सन्देश श्रेष्ठ    
     कार्तिक २ गते २०७७ मा प्रकाशित




निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल ।

नेपाललाई चिनाउन सगरमाथाको देश र बुद्धको जन्मभूमि भनेझैं पोखरालाई चिनाउन फेवाताल र माछापुच्छ«ेको नाम लिने गर्दछौं । तर अबको केहि समयदेखि पोखराको पहिचानमा पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलपनि थपिने भएको छ । नेपालकै गौरवको आयोजना मध्येको एक पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल पोखराको पहिचान बन्ने पक्का छ । यो पोखराको गौरवको रुपमासमेत रहनेछ । यसअघी त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलबाट मात्रै वैदेशिक फ्लाईट हुन्थ्यो, तर अबको केहि महिना भित्रै पोखराबाटै अन्र्तराष्ट्रिय फ्लाईट हुने भएको छ । त्यतिमात्र होईन विदेशबाट पर्यटक वा आफन्त आउनु परेपनि सिधै पोखरा एयरपोर्टमा आउन पाउने भएका छन् ।

पोखरामा यसरी सिधै विदेशबाट आउने र यहिंबाट विदेश उड्ने सपना देखेको ४६ वर्षपछि त्यो सपना पूरा हुने क्रममा रहेको छ । अबको ८ महिनामा पोखराको पहिचानको रुपमा रहेको निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुँदैछ । निर्धारित समयभन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने योजना निर्माण कम्पनी सिएएमसी ईञ्जिनिरिङ कम्पनीले बनाएपनि विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण पूरा नहुने भएको छ । तर आयोजना सम्पन्न गर्ने मितिसम्ममा भने विमानस्थल निर्माण सम्पन्न भईसक्ने विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनंकमीले बताए । हाम्रो लक्ष्य भनेको ६ महिना अघि नै सम्पन्न गर्ने थियो,‘उनले भने, तर कोभिड–१९ र त्यसलाई रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र निषेधाज्ञाका कारण त्यो सम्भव भएन, तर हामी तोकिएको मिति १० जुलाई २०२१ मा भने निर्माण सम्पन्न गरिसक्छौं ।’

पोखरा विमानस्थलको निर्माण कार्य हालसम्म ६४ प्रतिशत सम्पन्न भएको छ । अबको २ महिनामा यो कार्य प्रगति बढेर झण्डै ८८ प्रतिशत पुग्ने विमानस्थल निर्माण प्रमुख मुनंनकमीले बताए । अहिले निर्माणको कार्य प्रगति निकै सुस्त छ,‘उनले भने,‘तर विमानस्थलको मुख्य भनेको ईक्यूपमेन्ट हो, ईक्यूपमेन्ट आएर सेटल गर्ने वित्तिकै ८७÷८८ कार्यप्रगति हुन्छ ।’ विमानस्थलमा आवश्यक ईक्यूपमेन्ट ल्याउने र त्यसलाई सेटअप गर्ने काम मात्रै विमानस्थलको कुल कार्यको झण्डै २२÷२३ प्रतिशत हुने उनको भनाई छ । त्यसपछि भने डेकोरेसन, रंगरोगनलगायतका काम मात्रै बाँकी रहने र त्यो १० देखि १२ प्रतिशत हुने उनले बताए । उनका अनुसार विमानस्थल निर्माणका लागि आवश्यक पर्ने ग्लाइड पाथ, इलेक्ट्रोमिटर, बोडिङब्रिजलगायतका उपकरण तथा डेकोरेसनका सामानहरु चीनबाट आउन बाँकी छ । अहिलेसम्म २ वटा ईक्यूपमेन्ट आइसकेको छ भने बाँकी बन्दरगाहमा आएर बसेको छ । त्यो ल्याउने प्रयास भइरहेको र त्यो १५÷२० दिनमै आईपुग्ने भएपनि २ महिना ढिला हुँदापनि निर्धारित समयमा काम सक्न बाधा नपर्ने प्रमुख मुनंनकमीले बताए ।

विमानस्थल निर्माणको पहिलो वर्ष २०७४÷७५ मा १५ प्रतिशत कार्य प्रगति भएको २०७५÷७६ मा २७ प्रतिशत थप कार्य प्रगति गर्दै कुल ४२ प्रतिशत विमानस्थल निर्माण कार्य प्रगति भएको थियो । तर २०७६÷७७ मा कोरोनाका कारण केवल २० प्रतिशत मात्र कार्य प्रगति भएपनि कुल ६२ प्रतिशत निर्माण कार्य प्रगति भएको थियो ।

निर्माण कार्य समयमै सक्ने स्थिति बन्नुमा तत्कालिन पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गिय रवीन्द्र अधिकारीको देन रहेको प्रमुख मुनंनकमीले बताए । उहाँ एकदमै एक्टिभ हुनुहुन्थ्यो,‘उनले भने,‘हामी सुस्त भयो कि भन्ने चिन्ताले उहाँले बारम्बार फोन गर्ने, विमानस्थल निर्माणबारे चासो राख्ने, केहि समस्या भए तत्कालै समाधानको बाटो खोजिहाल्ने गर्नुहुन्थ्यो ।’ जसका कारण हामीले त्यसबेला लक्ष्य भन्दा करीब ८÷१० प्रतिशत बढी काम गर्न सफल भयौं । ‘त्यहि भएर नै हामीले तोकिएको मिति भन्दा ६ महिना अघि नै विमानस्थल निर्माणको काम सम्पन्न हुने परिस्थिति बनाएका थियौं’–उनले भने । उहाँको अभाव अहिले खड्किएपनि वर्तमान पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलेपनि चासोका साथ विमानस्थल निर्माणको कामबारे सोधखोज गरिराख्ने उनले बताए । अधिकारी स्थानिय भएरपनि होला,‘अलि बढी नै चासो राख्नुहुन्थ्यो र विहान उठ्ने वित्तिकैदेखि सुतिसक्ने बेलामापनि फोन गरेर झकझकाई राख्नुहुन्थ्यो,‘उनले भने,‘यसको मतलव अहिलेको मन्त्रीले चासो राख्नु भएन भन्न खोजेको होईन, तर तुलनात्मक रुपमा केहि फरकचाहिं महशुष भएको छ ।’

कुल २२ अर्ब लागतमा निर्माण गर्न लागिएको सो विमानस्थल निर्माण अन्तर्गत हालसम्म २ हजार ५ सय मिटरको रन–वे, एयरसाइड निर्माण गरिएको छ भने भवनतर्फ आन्तरिक तथा बाह्य टर्मिनल भवन, एटिसी टावरसहित १४ वटा भवनहरु निर्माण गरिएका छन् । त्यस्तै, ह्याङ्गरलगायतको सिभिल संरचना र कंक्रिट संरचना निर्माणको कामपनि सकिएको छ भने ट्याक्सी आइसोलेटेड पार्किङ, राजमार्गबाट टर्मिनल भवनसम्मको मुख्य सडक तथा अन्य पहुँच मार्ग (एक्सेस रोड) निर्माण गरिसकिएको प्रमुख मुनंकर्मीले जानकारी दिए । उनले पानीको निकासका लागि सिंचाई नाला, पानी बाहिर पठाउने (आउटलिफ्टिङ) र कल्भर्ट निर्माणको कामपनि सम्पन्न भइसकेको बताए ।

निर्माण सम्पन्न गर्ने सम्झौताको समयसीमा भित्रै विमानस्थल निर्माण सम्पन्न गर्ने नया लक्ष्य लिएर काम गरिरहेको पोखरा विमानस्थल निर्माण आयोजनाले कामदारको अभाव भने अझै झेलिरहेको जनाएको छ । कोरोनाका कारण घर फर्केका कामदार फर्काउन समस्या हुँदा कामले अझैपनि गति लिन नसकेको आयोजना प्रमुख मुनंनकमीले बताए । उनले चीनिया कामदार र नेपाली कामदार दुबै ल्याउने तयारी भइरहेको जानकारी दिए । चिनिया कामदार २ सय जना ल्याउनुपर्ने भएपनि अझै ल्याउन नसकेको बताए । १४ जना अबको १÷२ दिनमै आउँदैछन्,‘उनले भने,‘बाँकीपनि चाँडै ल्याउँछौं ।’

पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल ईञ्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सन (ईपिसी) मोडलमा अन्र्तराष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण भइरहेको छ । यसमा न्यारोवडीका १९० सिटे विमानहरु उडान तथा अवतरण हुनेछन् ।

प्राधिकरण र सिएएमसिईबीचको सम्झौतामा इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा आइकाओ (अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसन) को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल बनाउने उल्लेख छ । चार दशकअघि पोखरा–१४, १५ र १८ वडाको तीन हजार एक सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो । त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पोखरा–१४ मा निर्माणाधीन पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका लागि थप १०४ रोपनी जग्गा अधिग्रहण गरिएको छ । यसमा ९० रोपनी जग्गा अधिग्रहण गरिएको हो १४ रोपनी जग्गा सरकारी हो ।

आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अवतरणको क्रममा रहेको जहाजलाई नियन्त्रण गर्ने उपकरण (ग्लाइड पाथ) राख्नका लागि अतिरिक्त जग्गा अधिग्रहण गरिएको हो । ग्लाइड पाथले अवतरण गर्ने क्रममा रहेको जहाजलाई सही उचाईमा झर्न सघाउँछ । जहाजको सुरक्षित अवतरणलाई पनि ग्लाइड पाथले सघाउने उनले बताए । ‘ग्लाइड पाथका लागि यसअघि नै २५ रोपनी जग्गा छुट्याइएको छ । त्यसले अपुग हुने भएपछि जग्गा आवश्यक परेको हो,’ उनले भने । उनका अनुसार ग्लाइड पाथले लिने ३० मिटर चौडाईभित्र कुनैपनि संरचना बनाउन नमिल्ने भएकोले व्यक्तिको जग्गालाई पनि आफ्नै क्षेत्रमा समेट्न खोजिएको हो । मुनकर्मीका अनसार फ्यूल डिपो वा सुुरक्षाको डफ्फा राख्नका लागि पनि अधिग्रहण जग्गा प्रयोग गरिनेछ । विमानस्थल सुरक्षार्थ बम डिस्पोजल टोलीको यूनिट रहने भएकोले त्यसका लागिपनि यो जग्गा प्रयोग गरिनेछ । त्यस्तै एप्रोच ग्लाइडका लागि पनि जग्गा प्रयोग गरिने जनाइएको छ ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।