धान नेपालको प्रमुख खाद्यन्न वाली हो। चामललाई संसारकै अति लोकप्रिय खाना मानिन्छ। कुनै–कुनै देशमा धानलाई ‘सुनको दाना’ֺ पनि भन्ने प्रचलन छ। सन् १५०० ताका लेखिएको वेदकालीन समयदेखि नेपालमा धान खेती हुँदै आएको हो। प्राचीन धर्मग्रन्थ ऋग वेदमा धानलाई शाली धान्या, व्रीही धान्या, शुक धान्या, शिम्वी धान्या, क्षुद्र धान्याको नामले समेत वर्गिकरण गरिएको छ।
हिन्दू संस्कारभित्रका महत्वपूर्ण चाडपर्वको समयमा अक्षता, रेखी, महाप्रसादलगायतका काममा चामलको प्रयोग हुँदै आएको छ। नेपालमा खेती गरिने धान एक औराइजा साटिभा एक वर्षीय विरुवा हो। अहिले मनाङ जिल्लावाहेक नेपालका ७६ वटै जिल्लामा धान खेती हुँदै आएको छ। जलवायु परिवर्तनको नियमअनुसार कास्कीमा निम्न भूमिवाट उच्चभूमितर्फ धान खेती सर्दै गएको देखिन्छ। हावापानी, माटो, भौगोलिक वनोट आदीले गर्दापनि धानवालीमा ठूलो विविधता देखिन्छ।
प्रशस्त उपत्यका, तालतलैया, सिमसार क्षेत्र भएकाले पहाडी जिल्ला कास्कीमा परापूर्वकालदेखि नै धान खेती गरिएको छ। कास्कीमा अहिलेसम्म १ सय भन्दा बढी प्रजातीका धान लगाइन्छ। कास्कीमा धानको मुख्य क्षेत्र मानिएको वेगनासमा मात्रै ७४ प्रजातिका धान लगाउने गरेको पाइएको छ। पोखरा र आशपासका उपत्यका र पहाडी भेगमा गरी झण्डै १ सय प्रजातीका धान रोप्ने चलन छ। कास्कीमा सवैभन्दा पहिले समुन्द्रफिँजा र नाभो जातको धान लगाउने गरिएको थियो। आजकाल समुन्द्राफिँजा र नाभो जातको धान देख्नु अनौठो भइसक्यो भने अनुसन्धानको विषय नै भएको छ। यसैगरी आँगा, वले, कृष्णभोग, जिरासरी र फल्याङकोटे जस्ता धान पनि दुर्लभ भैसकेका छन्।
कास्की र खासगरी पोखरा उपत्यकामा कम उचाईको क्षेत्र ३ सयदेखि ६ सय मिटरको उचाई आसपासका क्षेत्रमा बढी रैथाने धानका जात विस्थापित भएको देखिन्छ। कास्कीमा मात्रै अहिलेसम्म रैथाने २५ प्रजाती भन्दा बढी धानका जात लोप भैसकेको भेटिन्छ। पँहेले, मनसरा, विरमफुल, ठिमाहा, ताकमारे, खोलेमार्सी, रमन, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मंसुली, आँघा, तौली, मार्सी, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्ले रैथाने धानका जात हुन्। यस्ता धान आजकाल कमै मात्रामा भेटिने गरेको छ। पछिल्लो समय विकास भएका छोमरुङ, राधा ७, खुमल ४, सीएच–४५, राधा ९, खुमल ७ र पोखरा उपत्यकाको लागि पोखरेली जेठोबुढो धान बढी प्रयोगमा आएका छन्। देशका ५९ जिल्लामा संकलन गरिएका दुर्लभ धानका प्रजाती अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्था फिलिपिन्समा राखिएको छ ।
उन्नत जातको धानको विकास भएर नै रैथाने जात हराएको हो। उत्पादनमा आएको वृद्धिसँगै नयाँ धानको विकास भएको हो। घामपानी, रोगकिरा खप्न सक्ने कारण कतिपय पहाडी ईलाकामा पुराना धान लगाउने गरेको पाइन्छ। किसानहरुमा थोरै लगानीमा धेरै फाइदा लिन खोज्ने प्रवृत्ती बढेका कारण पशुचौपायलाई दिने पराल भन्दापनि धान मात्रै बढी फल्ने खालका धानवाली रोज्ने गरेको छन्। जसको कारण पनि कतिपय रैथाने धान मासिँदै गएको देखिन्छ।
कास्कीमा छोमरुङ, सिलाङ्गे, ताकमारे, मानपुरीलगायतका धान बढी उच्च क्षेत्रमा लगाउने प्रचलन छ। यो उचाईमा खासगरी लुम्ले कृषि अनुसन्धान केन्द्रले निकालेको छोमरुङ जातको मात्रै धान लगाउने गरिन्छ भने अन्य धान हराइसकेका छन्। कम उचाईको क्षेत्रमा खासगरी काठे गुर्दी, तौली, अंगा, रामनी, झिनुवा, फालो, गुडुरा गुर्दी, पहेँले, मार्सी, एक्ले, मानामुरी, मनसरा, लहरे गुर्दी, विचरो, घैया, कालो झिनुवा, माला, ठिमाहा, विरमफूल, भट्टे, अँधेरे, काँडे, गौरी, कालो बयर्नी, कालो अनदीलगायतका धान लगाउने प्रचलन थियो। अहिले अधिकांश धानका जातहरु लोप भैसकेका छन्। त्यसको ठाँउमा अहिले सुधारिएको जेठोबुढो, मार्सी, झिनुवा, मनसरा, खुमल, राधा, जर्नेली, वासमती, सुनौलो सुगन्दा, मंसुली, अनदी, पहेँले, गुर्दीलगायतका धान लगाउने चलन छ। यी अधिकांश नयाँ प्रजातीका धान हुन्। जसलाई व्यवसायिक रुपमा बढी प्रयोग गर्न थालिएको छ।
कास्कीमा पछिल्लो तथ्यांकअनुसार करिब २७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। पोखरा उपत्यका तथा यहाँका नदी र खोलाले वनाएका स–साना वेँसी तथा पहाडमा पनि गरा वनाई धान खेती गरिँदै आएको छ भने, बढी उचाईको क्षेत्रमा भलपानी छोपी टारी खेतमा धान खेती गरिएको छ।
धान खेती उपत्यका, वेंसीवाट पहाडसम्म उत्पादनको अभ्यास गरिएपनि कास्कीमा शहरीकरणको विकास र वसाँईसराँई गरी आउने जाने दुवै क्रमले खाद्यन्न उत्पादन घटेको र खाद्यन्न अभाव हुँदै गएको आभाष भएको छ। अहिले खासगरी धानको उत्पादन र वितरणमा जनसंख्या अर्थात वसाँईसराई र यातायातको पहुँच सवै ठाँउमा नपुग्नु नै मुख्य समस्या बनेको छ। पहाडी र उच्च पहाडी क्षेत्रका नागरिक सेवा र सुविधाको खोजीमा शहर अर्थात मैदानी क्षेत्रमा झर्ने क्रम बढेको छ। ग्रामिण क्षेत्रका अधिकांश गाँउ रित्ता छन् भने धान खेती हुने क्षेत्र बाँझो बन्दै गएको देखिन्छ। मैदानी भेग उच्च उर्वर भूमि भएपनि धान खेती हुने जमिनमा अग्ला अग्ला महलहरु ठढाइएका छन्।
कास्कीमा उच्च उचाईको क्षेत्र घान्द्रुकको छोमरुङ (२३५०मि.) मा समेत अहिले छोमरुङको उचाई र मौसम अनुसार उत्पादन हुने धानको प्रजाति विकास गरी धान खेती थालिएको छ। बास्तवमा एकातीर अहिले धानको महत्व दिन प्रतिदिन बढ्दै गएको अनुमान गरिएको छ भने, अर्कोतिर यही धान खेती हुने जमिन अव्यवस्थित शहरीकरण र वसोवासका कारण धान उत्पादनमा समेत उच्च गिरावट आएको छ।
नयाँ धानका जात क्रस गरेर पनि मौसमी र क्षेत्र अनुसार धान लगाउने कामको सुरुवात भएको छ। यो कामसमेत कास्कीको लुम्ले र वेगनासमा भैसकेको छ। कास्की जिल्लाको पहाडी क्षेत्रको उत्पादन कम छ, भने समथर मैदानमा बढी छ। मैदानी क्षेत्रमा प्रशस्त पानी अर्थात सिँचाईको प्रवन्ध भएको कारण पनि भौगोलिक हिसावले यो भूमिमा धानको उत्पादन बढी भएको छ।
नयाँ विकास र सिफारिस गरिएका धानका प्रजातिले पुराना र हाम्रा रैथाने धानका प्रजाति मास्दै गएको देखिन्छ। साथै उत्पादनमा हस आएका कारण पनि रैथाने धान लोपन्मुख अवस्थामा पुगेको हो । त्यसैले तत्काल धानको सुधार गरी संरक्षण गर्नुपर्ने आवश्यकता अहिले देखिएको छ। साथै कृषि योग्य जमिनमा वढेको शहरीकरण रोक्न तथा ग्रामीण क्षेत्रका वस्ती खाली हुन नदिन वस्ती विकासको कार्यक्रम प्रभावकारी कार्यान्वयन गरिनुपर्ने हुन्छ। साथै सेवा र सुविधाको विकेन्द्रीकरण गरी गाँउमा नै वस्नयोग्य बनाउने तथा उत्पादनका कार्यक्रम बढाउनुपर्ने अहिलेको आवश्यकता र माग पनि यही नै हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।