आज(सोमबार) नेपालीहरुको महान् पर्व बडादशैंको महत्वपूर्ण दिन ‘बिजया दशमी’ । आज १०.१९ बजेको शुभ साइतमा हामी दशैंको टिका लगाउदैछौं । आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ भई कोजाग्रत पूर्णिमाको दिनसम्म मनाइने यो मौलिक पर्व नेपालमा मात्र हैन संसार भरि छरिएर बसेका नेपाली समुदायले विशेष महत्वका साथ मनाउने गर्दछन् ।
पौराणिक मान्यता अनुसार दुर्गा भवानीले महिषासुरको बध गरेर असत्यमाथि सत्यको विजय उत्सबको रुपमा यस पर्व मनाइन्छ । कथा अनुसार देवी र महिषासुरको युद्दमा नवौं दिनको दिन महिषासुरको बध गरिएको थियो र त्यसको खुशीयाली स्वरुप दशौं दिनमा विजयोत्सव मनाइयो । त्यसैले यस दिनलाई विजयादशमी पनि भनेर भन्ने गरिन्छ । आजकै दिन बौद्द धर्मावलम्बिहरुले पनि अहिंसा पर्वको रुपमा दशैं मनाउने गर्दछन् ।
यस पर्वको महत्वपूर्ण पक्ष भनेको आफन्त इष्टमित्रसंगको भेटघाट/जमघट र अग्रज मान्यजनबाट टिका र जमरा लगाएर आर्शिवाद लिनु हो । यद्यपि अहिलेको कोभिड –१९ को महामारीले सृर्जित विषम परिस्थितिमा एकापासमा भौतिक दुरी कायम गर्नुपर्ने र ठुलो संख्यामा जमघट गर्न नहुने अवस्थाका कारण हरेक वर्ष हर्षोल्लास् , खुशी र उमङ्ग बोकेर आउने पर्व दशैंको यस वर्ष कुनै रौनक छैन ।
दशैंको रौनक घटे पनि कोरोना महामारीको बेला यस्तो हुनुलाई स्वाभाबिक रुपमा लिइनु पर्दछ । अहिले कोरोनाको जोखिम बढिरहेको अवस्थामा ठूलो जमघट भई एक अर्काको हातबाट टिका जमरा ग्रहण गर्नु त्यति सुरक्षित हुदैन । यो समयमा सबैभन्दा पहिले आफु सुरक्षित हुनु र परिवारलाई सुरक्षित राख्नु बुद्दिमानी हो । त्यसैले यस बर्ष उमंग र आशक्तिलाई हटाएर शान्त र सौम्य रुपमा मनाउनुपर्छ । अहिले हाम्रो पर्व हो ,संस्कार हो जसरी पनि मान्नुपर्छ भन्ने हठ त्यागेर ‘ म पनि कोरोनाबाट जोगिन्छु, र परिवारलाई पनि जोगाउँछु’ भनेर जिम्मेवार हुनुपर्छ । यो साल बाँचियो भने आगामी वर्षहरुमा हर्षोल्लास साथ हामीले थुप्रै पर्व मनाउन पाउनेछौं । त्यसैले आफु बाँचौ अरुलाई बचाऔँ, बरु यसलाई सूचना र प्रविधिको यो २१ औं शताब्दीमा डिजिटल प्रविधिबाट आशिर्वाद आदानप्रदान गर्ने वातावरण निर्माणको जग बनाउने बर्षको रुपमा सोचौं ।कोभिड– १९ को असर ज्येष्ठ नागरिकमा बढी हुने भन्ने स्वास्थ्य विज्ञको भनाइले गर्दा पनि अहिलेको अवस्थामा परिवार भित्रै पनि टाढैबाट अग्रज/मान्यजनको आर्शिवाद लिनु बुद्दिमानी हुन्छ । के कुरा बिर्सनु हुदैन भने ‘अहिलेको समयमा दशैको टिका भन्दा ठूलो कोरोनाबाट जोगिनु हो’ । यो वर्ष आफू पनि जोगिन सके र अरुलाई पनि जोगाउन सक्यौं भने आउने वर्ष एकसाथ धेरै खुशी मनाउन सकिन्छ । कोरोनाको कहर हाॅंसि मजाकको बिषय हैन । कोरोना केहि होइन भन्नेहरुले एक पटक कोरोना संक्रमित र तिनका परिवारलाई नजिकबाट आत्मसात् गरे मात्र पनि काफि हुन्छ यसको भयाबहता र पिडाको ‘ग्राभिटि’ बुझ्न । हो हाम्रो देशमा यसको मृत्यु दर (मोर्टालिटि रेट) कम भएकोले यो केहि होइन भनि ठम्याइएको होला तर यो त्यति हल्का पनि होइन जति हामी ठानिरहेका छौं र कोरोना संक्रमणको दर बढे पनि भिडभाडमा ठेलम्ठेल गरिरहेका छौं ।
यति बेला मानवीय जीवनको अस्तित्व रक्षानै पहिलो प्राथमिकता हो । हामी बाँचे संस्कार र सस्कृति बचाउन सकिन्छ । यो वर्ष घर भित्रै रहि स्पर्श विनाको दशैं मनाउन हामी सबैलाई अनुरोध गर्दछौं ।कोरोना महामारीको बेला हामीले चाडपर्वको महिमा र महत्वलाई अगाडि सार्दै परम्पराबादी भएर संयमता गुमायौं भने यसको नतिजा भयावह हुन सक्छ । जुन हामी कल्पना समेत गर्न सक्दैनौं ।
हो हामीलाई थाहा छ ,दशैंमा आशिर्वाद लिने हो । खुसी भर्ने हो । तर त्यहि खुसीमा ढुसी लाग्नेगरि कोरोनालाई कोसेलीको रुपमा ग्रहण गर्ने गल्ति गर्नु हुदैन । बरु दशैंलाई परिवारमा सिमित गर्ने हो । संक्रमण रोक्न सके दशैं त अर्को वर्ष मनाए पनि हुन्छ । हैन र ? त्यसैले आज आँट गर्नुस्, ‘मपनि घरका परिवारसँग मात्र टीका लगाउँछु अन्य आफन्तकोमा जान्नँ, अनि अन्य आफन्तलाई पनि घरमा बोलाउँदिन’ भनेर ।
हामी फेरि पनि भन्न चाहन्छौं ,अहिलेको दशैं अरूबेला जस्तो सामान्य अवस्थामा मनाउन लागिएको होईन । कोरोना महामारीको विषम परिस्थितिमा मनाउन लागिएको हो । त्यसैले यसलाई परम्परा र संस्कारको नाममा उल्लासमय बनाउने गरि संक्रमण फैलाउने अपराधी म बन्दिनँ भन्ने अठोट गर्नुपर्छ ।
दशैंमा टीका लगाउन जाँदा/आउदा एउटामा भएको संक्रमण अर्कोमा फैलिन सक्छ । टीका लगाउन जाने ठाउँसम्म जानका लागि प्रयोग गरिने सवारी साधनमा भेटिने अनेकन् मान्छेहरुसँगको सम्पर्कमा पुग्दा त्यहिंबाट संक्रमण फैलिन सक्छ ।
सरकारले पनि दशैं घर परिवारमा मात्र सिमित गर्न भनिसकेको अवश्था छ । नेपाल सरकार मातहत रहेका जिल्लास्थित प्रशासनले पनि दशैं ‘जहाँ बसेको छ त्यहिं मनाउनू’ भनेर पहिले नै सूचना जारी गरिसकेको छ । राज्यले भनेको कुरा मान्नू प्रत्येक नेपालीको कर्तव्य हो । त्यसमापनि सरकारले यो सूचना कोरोना महामारीको बेला हामी सर्वसाधारण जनताको हितका लागि निकालेको हो । यसलाई सबैले पालना गरेर आफूपनि सुरक्षित बन्ने अनि अरुलाई सुरक्षित बनाउन आफ्नो कर्तव्य ठान्नु पर्छ ।
यो दशैंमा आज टिकाको दिन कोरोनामुक्त बनाउन सामाजिक अगुवाहरुले पनि भूमिका खेलौं । तपाईंहरुले पनि आज हिम्मत गरेर सामाजिक संजाल मार्फत सार्बजनिक रुपमा भन्न सक्नुपर्छ कि ‘यो दशैं म परिवारसँग मात्र मनाउँदैछु, आज म पनि अन्य आफन्तकोमा टीका लगाउन जान्नँ, अनि अन्य आफन्तलाई पनि नआउन बिनम्रतापूर्बक आग्रह गर्दछु ‘। केहि अभियन्ताहरुले फेसबुक, ट्विटर लगायत सामाजिक संजालमा त्यस्ता सकारात्मक सन्देश स्टाटसको रुपमा पोस्ट/ट्विट गरेको पाइन्छ । ति आग्रहहरु आज साॅंच्चै व्यबहारमा अनुबाद होस् र कोरोनाका संक्रमणलाई घटाउन सकियोस् । नत्र त दशैं कोरोना संक्रमणको नमिठो बहाना बन्नसक्छ । यसो भएमा यो निकै नै भयावह बन्नेमा शंका छैन । त्यसैले कोरोना दशैंको काेसेली नबनोस् । अहिले बाँचिएछ भने अर्को साल मज्जाले हर्षोल्लासपूर्वक दशैं मनाउँला ।
त्यसैले,
यसपालिको बडा दसैं,
जहाॅं हुनुहुन्छ त्यहीं,
घर परिवारमै सिमित रहि,
संक्रमणको जोखिम घटाई,
अहिंसापूर्बक मनाऔं।
……… ह्याप्पि दसैं ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।