एकमित्रलाई परेको पितृ शोकमा समबेदना व्यक्त गर्न केहि दिन अघि उनको घर गएको थिएं । परिचित पुरोहितसंग पुराना धार्मिक पुस्तक बारे चर्चा भयो । मैले भन्दै थिएं – ‘तपाईंले पुराना पुस्तक जम्मा पारेर सानो पुस्तकालय बनाउनोस् न । धर्म संस्कृति , पठन संस्कृतिको पनि बिकास हुन्छ र पन्डित्याई पेशा मात्र होइन यो सामाजिक जागरणको अभियान पनि रहेछ भन्ने शिक्षा नयाँ पुस्तामा पनि सकारात्मक चेतनाको रुपमा बिकास हुन्छ र यो पेशा अझै मर्यादित हुन्छ’ ।
एकजना भाइले बिचैमा रोष प्रकट गर्दै भने- हिजो किताब जलाउदै हिड्नु भयो, आज बल्ल दाइको बुद्धि आएछ !
ति भाइले त्यसो भन्दै गर्दा म सम्झन्छु किताबसंगको मेरो सम्बन्धको इतिहास ।
२१ बर्ष अघि बिहे गरेर आउँदा सरिताले मलाई सोधेकी थिइन- यो तपाइँको निजि पुस्तकालय होकि पार्टीको ? पुराना डायरी पल्टाएर हेरे – मेरो दाइ गणेश, रमेश, खगराज बराल मिलेर २३ बर्षअघि हामीले आफ्नै बलमा सानो पुस्तकालय बनाउने समिति नै बनाएका रहेछौं ।
हिजो जनयुद्धका बेलामा हाम्रो घरको पुस्तकालयबाट पुस्तक लगेर नपढ्ने सायद कुनै माओवादीको जिल्लामा खट्ने कार्यकर्ता थिएनन् होला ।
बि.सं.२०५६ तिर आशा खनाल (हाल गण्डकी प्रदेश सभासद्)लगायत का आस्थाका बन्दीलाई कास्की कारागारमा मेरो ब्यक्तिगत पहलमा हरेक हप्ता पुस्तक लिएर भेट्न जान्थें । आशाजिले सायद लेख्नु भएको होला कतै ।
जब म पहिलो पटक २०५८ सालमा जेल परें । त्यो बेला कास्की कारागारका तत्कालिन जेलर मेरा मित्र ऋषि आचार्यले जेलभित्रकै पुस्तकालयमा पढ्ने र राती सुत्ने ब्यबस्था गरिदिएका थिए ।
ब्यारेक बसाई (२०६०-६१) र पुस्तकको सन्दर्भ त अझ रोचक छ । हामी देवीप्रसाद ढकाल, बुद्दि पाण्डे बिगुल साथीहरु थुनिएको ब्यारेकभित्रको कस्टडीमा एक भट्टराई थरको ‘फुच्चे’बाबुलाई पढाउने जिम्मा पाएको थिएं मैले । हातमा हत्कडी, खुट्टामा नेल , टाउकोदेखी घाटिसम्म पट्टी ,र पनि मैले पढाउने काम पाएको थिएं । पक्राउ परेर सिमेन्टमा सुतेको ११-१२ महिना भैसकेको थियो । घरमा तह लाउन नसकेर ब्यारेकमा बाउसंग बस्न आएको फुच्चे माओवादीसंग डराउला र पढ्ला भनेर उसको बाउले हामी बसेको कस्टडीमा ल्याएर हुलिदिने गर्दथ्यो । एकदिन अनायास मेजर आयो अनि हामीलाई देखेर सोध्यो – यो केहो ? उसको बाउ त्यो सिपाहिले भन्यो– साप, यो पढ्न मान्दैन त्यही भएर यहाँभित्र ल्याएर राखिदिएको , डराएर पढ्छ कि भनेर । अनि, मेजरले सोध्यो- आंखामा पट्टी बाॅंधेर कसरी पढाउछ त यो पत्रकारले ? उसले संकोच मान्दै तनक्क तन्केर भन्यो- ‘साप, कपि र कलम देख्ने गरि पट्टी माथि तानिएको दिएको छु’।
ब्यारेकबाट नभागेसम्म मैले उसलाई पढाइरहें। त्यही बहानामा कापी- कलम मिल्यो र हामीले पत्र लेखेर घर र पार्टीसम्म जिउदो रहेको सन्देश पुर्यायौं। त्यो बेला बन्दी अबस्थामै सेनाको कस्टडिभित्र मैले डायरी पनि लेखेको थिएं । ब्यारेकबाट निस्केको केहि समयपछि म कास्की जिल्ला पार्टीमा जोडिन आइपुगें । त्यो बेला मेरो जिम्मा प्रकाशन बिभागको थियो र मैले झोलाभरि पुस्तक बोकेर हिड्थें र पार्टीको कार्यकर्ता जहाँ भेट्यो त्यहीँ पुस्तक दिन्थें । सायद आजपनि धेरैले ति दिन सम्झदा हुन् । त्यो बेला लुकाएर राखेका सयौं किताब पछि माट्टिएर गए भन्ने सुनें, एकदम दुख लाग्यो ।
शान्तिप्रक्रियापछि केहि १ बर्ष पोखरामा पत्रिका निकालेर म काठमाडौं गएं । झलकपाणि तिवारी दाइको सम्पादकत्वमा रहेर काम गर्दा दाइकै पहलमा पोखरामा केहि पुस्तक संग्रह गरेका थियौं । जनादेशको कार्यकारी सम्पादक हुने बेला पत्रिकाको कार्यालयमा सानो भए पनि पुस्तकालय थियो । त्यो पुस्तकालयलाई पुस्तकप्रेमी सम्पादक मनऋषि धितालले मायाले सुम्सुमाएर राख्नु हुन्थ्यो ।
अहिले पनि म पढ्न रुचि गर्ने मान्छे खोजेर पुस्तक दिन्छु ।हालै मात्रै घरमा आएका पुर्ब नेकपा एमाले कास्कीका तत्कालीन कावा अध्यक्ष लीला पौडेललाई ´नेपाली राजनीतिको पुनर्गठन` पुस्तक पढ्न दिएं। कोरोना संक्रमणबाट घरमै आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका मित्र पत्रकार कृष्णमणि बराललाई मित्र दीपेन्द्रसंगै घरमै पुगेर बिमान बिद्रोह र नेल कटर पुस्तक दिई शिघ्र स्वास्थ्य लाभको कामना गर्यौं ।
मेरो गाउँमा घनश्याम देवकोटा ,उमानाथ देवकोटा , खेमराज पौडेल , बिजय गुरुङ, पोषराज पौडेल ईश्वर थापा, सन्तोष आचार्य ,नवराज बराल,शैलेन्द्र घिमिरे , आशा पहारी लगायत थुप्रै नामहरु छन् , जसले पुस्तक लगेर पढ्छन । केहि यस्ता मान्छे छन जसले किताब लगेर कहिल्यै ल्याइदिएनन् । अर्को जन्म रहेछ भने ति साथीहरू किताब खाने किरा भएर जन्मुन्(ठट्टा नि) ।
पुस्तकलाई माया गरौं । दशैंको फुर्सदमा पठन संस्कृति बिकास गरौं । शुभकामना ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।