फेवातालको विवाद कहिल्यै नउठ्ने गरी समाधान गर्न चाहन्छौं : संयोजक पौडेल


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७७ मा प्रकाशित




नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिका संयोजक पूण्य पौडेलले फेवातालको विवाद कहिल्यै नउठ्नेगरी समाधान गर्न चाहेको बताएका छन् । नेपाल सरकार, फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको विहीबार पोखरामा आयोजित पहिलो बैठकको अध्यक्षता गर्दै संयोजक पौडेलले भने,‘हामी फेरि कहिल्यै विवाद नउठ्ने गरी फेवातालको समस्या समाधान गर्न चाहन्छौं ।’ उनले आफू नेतृत्वको समितिले फेवा विवादको अन्त्य गरि सिमाङ्कन र नक्साङ्कन गर्न सफल हुनेमा आफू ढुक्क रहेको बताए ।

संयोजक पौडेलले समितिको मुख्य काम भनेको फेवातालको सिमाङ्कन नै भएको बताए । विभिन्न समयमा भएको नापी र त्यसले दिएको प्रतिवेदन फरक÷फरक भएकाले कुनलाई आधार मानेर अगाडि बढ्ने भन्ने अन्यौलता रहेको बताए । ‘तर हामी विगतको तथ्य, प्रमाण र प्रतिवेदनलाई आधार मानेर निर्णयमा पुग्छौं’–उनले भने । उनले २०३६ सालमा निर्माण गरिएको फेवाबाँध बाँध्नुअघी अतिक्रमित गरिएका दुषित जग्गा फिर्ता गरिने बताए । तर त्यसका लागि मापदण्ड बन्नुपर्ने भन्दै उनले भने,‘दुषित जग्गा कसरी फिर्ता गर्ने ? अनि दुषित जग्गापनि कसरी प्रमाणित गर्ने भन्ने चुनौति छ ।’

विभिन्न समयमा फेवातालको नापी भएका छन् भने ती प्रतिवेदनले फेवातालको फरक÷फरक प्रतिवेदन बनाएर सरकारलाई बुझाएको छ । २०५८ सालमा जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ‘जाईका’ र २०५४ सालमा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ‘आइयुसिएन’लेसमेत फेवाताल संरक्षणका लागि गर्नुपर्ने कामबारे बिस्तृत सुझाव दिदै अध्ययन प्रतिवेदन सरकारलाई दिएको थियो ।

विश्वप्रकाश लामिछाने संयोजकत्वको प्रतिवेदनमा १ हजार ६ सय ९२ रोपनी जग्गा विभिन्न व्यक्तिले आफ्नो नाममा दर्ता गरेको उल्लेख छ । ती मध्ये करिब ९ सय ५० जनाको व्यक्तिगत लालपुर्जा खारेज गर्न सिफारिस गरिएको थियो ।

विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल करिब ४.२ वर्ग किलोमिटर भनिएको छ । यो क्षेत्रफल २०१८ सालमा १० वर्ग किलोमिटर क्षेत्रफल २०३१ सालमा ६, २०५२ मा ४.४३, २०५७ मा ४.२५ हुँदै २०६४ सालमा ४.२ वर्ग किलोमिटरमा झरेको छ । त्यसपछि आधिकारिक मापन गरिएको छैन ।

पोखरा महानगरपालिकाको अध्ययन अनुसार २ सय १७ जनाले तालको मापदण्ड मिचेर पूर्वाधार बनाएका छन् । प्रतिवेदनका अनुसार फेवातालको मापदण्डभित्र थुप्रै अस्थायी र स्थायी संरचनाका बनेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।