क्यामराले खिचेको फोटो/भिडियोलाई मेमोरी कार्डले सुरक्षित राख्छ । आखाँले देखेका कुराहरुलाई दिमागले सुरक्षित राखे जस्तै बैकं तथा संग्रहालयमा महङ्गो वस्तुलाई चोरीवाट जोगाउनका लागि कसैले छोए थाहा पाएर कराउने अलार्म राखिएको हुन्छ । छालाले छोएको थाहा पाए जस्तै दुग्धमा पानी मिसिएको छ कि छैन ? भनेर ल्याक्टोज मिटरले थाहा पाउँछ । जिब्रोले स्वाद थाहा पाए जस्तै । हाम्रो शरीरलाई प्राकृतिक रुपमा ५ इन्द्रियहरु प्राप्त भएका छन् – आँखा, नाक, कान, जिब्रो र छाला । यी ५ इन्द्रियहरुलाई आधार मानी गरिएको अध्ययन अनुसन्धानले नयाँ आविस्कारहरु भएका छन् र यी आविस्कारहरु मध्य एक हो – सेन्सर ।
सरल भाषामा व्याख्या गर्नुपर्दा हाम्रा शरिरका पाँच इन्द्रिय वाहेक अन्य कुनै माध्यमवाट कुनै तत्व छ कि छैन ? वा छ भने कति मात्रामा छ भनी पत्ता लगाउने प्रविधिलाई नै सेन्सर भनिन्छ । सेन्सर धेरै प्रकारका हुन्छन् – बायो सेन्सर (एन्टिवडि – एन्टिजेनको प्रयोग गरी बनेका सेन्सर), केमिकल सेन्सर (अणु प्रयोग गरी बनेका सेन्सर), थर्मल सेन्सर (ताप प्रयोग गरी बनेका सेन्सर), अप्टिकल सेन्सर (शिशा प्रयोग गरी बनेका सेन्सर) आदी ।
धेरै प्रकारका सेन्सरहरु मध्ये यो लेखमा बायो सेन्सर संम्बन्धि व्याख्या गरिएको छ । एन्टिवडि र एन्टिजेनको प्रयोग गरी बनेको बायो सेन्सरले काम कसरी गर्छ त्यो छुट्टै प्लेटफर्ममा वृहत रुपमा गरौंला । विज्ञानमा स्थापित परम्परागत प्रविधिहरु आर्थिक रुपमा खर्चिलो, दक्ष जनशक्तिको आवश्यकता र धेरै समय लाग्ने हुदाँ यस्ता प्रविधिहरुको वैकल्पिक रुपमा छिटो, थोरै लागत र दक्ष जनशक्तिको आवश्यकता नपर्ने हुनाले बायो सेन्सर उपयुक्त मानिन्छ । सन् २०१३ मा ११.४ अर्ब डलर (१३.६ खर्ब रुपयाँ) वरावरको व्यापार रहेको वायो सेन्सरको कारोवार वार्षिक रुपमा १०% का दरले वृद्धि भई सन् २०२० मा २२.७ अर्ब डलर (२७.२ खर्ब रुपयाँ) वरावरको व्यापार हुने प्रक्षेपण गरिएको छ । बायो सेन्सरको प्रयोग विश्व बजारमा मुख्यत स्वास्थ्थ क्षेत्रले ओगटेको छ ।
खाद्य गुणस्तर र यसको निगरानी विश्व सामु चुनौती बन्दै आइरहेको छ । विश्व स्वास्थ्थ संगठनका अनुसार २०० भन्दा बढी रोगहरु – झाडापखाला देखि क्यान्सर सम्म असुरक्षित खाद्य पदार्थले निम्त्याउछ । झाडापखालाले मात्र वार्षिक २० लाख मानिसको मृत्यु हुन्छ । वितेको दशकमा बायो सेन्सरलाई खाद्य गुणस्तर प्रयोगका लागि थुप्रै अनुसन्धान भएतापनि परम्परागत प्रविधिहरुलाई पुर्ण रुपमा विस्तापित गर्नका लागी र अनुसन्धानलाई वास्तविक प्रयोगमा ल्याउन अक्षै धेरै कार्यहरु बाँकि छन् । विकसित मुलुकहरुमा खाद्य विश्लेषणका लागी खाद्य वस्तुहरुमा विषाक्त पदार्थ, हर्मोन, किट्नाशक, आनुवंशिब रुपले परिमार्जित जीव पत्ता लगाउन थोरै मात्रामा भएपनि बायो सेन्सर प्रयोग भएको छ ।
शुरुवाति चरणमा रहेको बायो सेन्सरलाई अध्ययन अनुसन्धान गरी निस्किएका परिणामहरुलाई व्यवसाहिक कम्पनिसँग हातेमालो गरेर नयाँ रोजगारी तथा नयाँ बस्तुहरु उत्पादन गरी नेपालले धेरै फाइदा लिन सक्छ । यसका लागी नेपालमा रहेका विभिन्न विश्वविद्यालयका प्रध्यापकहरुलाई जागरुक बनाइ अनुसन्धान गर्न प्रोत्साहित गरी अनुसन्धानात्मक संस्कृतिको विकास गर्न जरुरी छ ।
अपवाद बाहेक नेपालका विश्वविद्यालयमा कार्यरत प्राध्यापक/उप–प्राध्यापकहरु अध्ययन अनुसन्धान गरि अनुसन्धानात्मक कृतिहरु प्रतिष्ठित प्रकाशनमा छाप्न छाडेर राजनितिक दलका पछाडि लागेका छन् । दुई चार पैसाका लागि दश ठाउँमा पढाएर अमुल्य समय र उर्जा शक्ति खेर फालिरहेका छन् । देशमा अनुसन्धान र विकाश तथा विज्ञान र प्रविधिलाई बढुवा गर्न खोलिएका व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट) होस् वा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) होस्, सबै संस्थाहरुले सोचे अनुरुप कार्य गर्न सकेका छैनन् । विज्ञान तब मात्र विज्ञान हुन्छ, यदि यसमा सोच, चेतना र सत्य हुन्छ ।
त्यसैले विज्ञानको विकाश र अनुसन्धानात्मक संस्कृतिको विकास गरौं । शुरुवाती चरणमा रहेको र विश्वमा स्थापित प्रविधिहरुलाई नै कायपलट गर्ने क्षमता भएको बायो सेन्सर प्रविधिको विकाशका लागी संम्बन्धित निकाएको ध्यानाकर्षण भएमा नेपालले आर्थिक रुपमा कोल्टो फेर्न धेरै समय लाग्ने छैन ।
(डा.किसन कोइराला बिज्ञान र प्रबिधिसंग सम्बन्धित लेख अध्ययन र लेखनमा रुचि राख्नु हुन्छ । रसायन शास्त्रमा बिद्यावारिधी कोइराला नेलम्बो नेपाल नामक एक गैर सरकारी संस्थामा कार्यक्रम संयोजकको रूपमा क्रियाशिल हुनुहुन्छ ।- सम्पादक)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।