
गण्डकी प्रदेश सांसद विन्दुकुमार थापाले पैसा भएरपनि पोखरामा स्वास्थ्य सेवा लिनसक्ने स्थिति नरहेको बताएका छन् । सांसद थापाले पत्रकारहरुसँग कुरा गर्दै पैसा नहुनेले मात्र नभई पैसा हुनेलेपनि स्वास्थ्य सेवा पाउने स्थिति नरहेको बताएका हुन् । त्यसको भिक्टिम स्वयम् आफूपनि रहेको सांसद थापाको भनाई छ ।
हस्पिटल घुमाउँदा घुमाउँदै बेड नपाएर ज्यान गएको खबरले दुःखित तुल्याएको भन्दै उनले त्यस्तै दुःख आफूलेपनि भोगेको उल्लेख गरे । केहि दिन अगाडि आफ्नै सासुलाई ३ वटा हस्पिटल डुलाउँदापनि बेड नपाएपछि अन्तिममा मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार गर्दागर्दै मृत्यू भएको उनले सुनाए । मजत्तिको पहुँच भएकाले त हस्पिटल डुलाउँदा पनि बेड नपाउने स्थिति छ,उनले भने,‘सर्वसाधारणको अवस्था के होला ? ।’
सरकारले कोरोनालाई गम्भीरतापूर्वक लिएर तयारी नगर्दा अहिले जनताले स्वास्थ्य सेवा नपाएको उनको आरोप छ । हिजो कांग्रेसले १ घर १ पिसीआर, हस्पिटलमा बेड, भेन्टिलेटर, क्वारेन्टिन र आईसोलेसनको संख्या बढाउन माग गर्दा सरकारले वास्ता नगरेको र अहिले त्यसैको अभावमा ज्यान जाने स्थिति बनेको उनले बताए ।
प्रदेश सांसद थापाले पत्रकारसँग बोलेका कुराको सम्पादित अंश :
अहिले सर्वसाधारणले स्वास्थ्य सेवा नपाउने स्थिति छ । अरुको त के कुरा, मआफैलेपनि त्यो भोगेको छु । केहि दिनअघि राम्रो उपचार नपाएर मेरो आफ्नै सासुआमाको मृत्यू भयो । स्वास्थ्यमा समस्या आएपछि हस्पिटल लैजाउँ भन्दा बेड पाइएन । शुरुमा चरक लगियो बेड छैन भनेर फर्कायो । त्यसपछि गण्डकी मेडिकल कलेजमा लगियो, त्यहाँपनि बेड छैन भनेर भर्ना गरेन । अन्तिममा मणिपाल लैजाँदा बल्ल बेड त पाईयो तर उपचारमा ढिलाई भएको भन्दै काठमाडौं लैजान भनियो । काठमाडौंको मेडिसिटीमा लैजाने तयारी गर्दागर्दै सासुआमाको मृत्यू भयो ।
अस्पतालमा बेड नपाएपछि मैले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्मालाई फोन गरेँ । पटक÷पटक फोन गर्दापनि उहाँले फोन उठाउनु भएन । नत उहाँले मलाई कलब्याक नै गर्नुभयो । त्यसपछि मैले गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनलाई फोन गरेँ । उहाँलेपनि फोन उठाउनु भएन । पटक÷पटक फोन गर्दापनि नउठाउनु भएको उहाँले भोलिपल्ट विहान मिसकल गर्नुभयो । एक पटक मात्र रिङ्ग आयो र काटियो ।
म आफूलाई पहुँच भएकै ठान्छु । प्रदेश सांसद हुँ, उपचार खर्च ब्यहोर्नपनि सक्छु । तरपनि मैले बेड पाईन भने सर्वसाधारणको अवस्था के होला ? पक्कैपनि स्थिति भयावह छ । सरकारले यसबारेमा ध्यान दिएर स्वास्थ्य उपचार पाउने अवस्थाको ज्ञारेन्टी गर्नुपर्छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।