गोरखाको मनास्लु संरक्षण क्षेत्रको म्याद पाँच वर्ष थपियो


     एभरेस्ट आवाज    
     पौष २५ गते २०८० मा प्रकाशित




झण्डै साढे तीन वर्षदेखिको अन्योलतापछि उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ । आगामी पाँच वर्षसम्मका लागि कार्यालयको म्याद थप भएको हो ।

“गएको २०७७ असारदेखि म्याद थपको निर्णय नहुँदा कार्यालय रहने वा नरहने भन्ने अन्योलताका कारण समस्या हुँदै आएको थियो”, एमक्यापका प्रमुख सन्तोष शेरचनले उनले भने, “ मन्त्रिपरिषद्को यही पुस ५ गते बसेको बैठकले आगामी २०८५ असार मसान्तसम्म कायम रहने गरी म्याद थप गर्ने निर्णय गरेको जानकारी आएको छ, अब कार्ययोजना बनाएर काम गर्न सजिलो हुने भएको छ ।”

एमक्यापले मनास्लु क्षेत्रको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ । म्याद थपसँगै चार महिनाभित्रमा व्यवस्थापन नियमावली तथा संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका संशोधन गरी पठाउन कार्यालयलाई निर्देशन आएको उनको भनाइ छ ।

“कार्यालयलाई संरक्षण क्षेत्रको व्यवस्थापन योजना र व्यवस्थापन नियमावली २०५३ तथा निर्देशिका, २०५६ संशोधन गरी पठाउन पनि निर्देशन आएको छ”, प्रमुख शेरचनले भने, “हामीले त्यसको तयारी थालिसकेका छौँ ।” कार्यालयले मनास्लु संरक्षण क्षेत्रभित्र रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रचार–प्रसारका साथै त्यस क्षेत्रमा घुम्न जाने पर्यटकलाई भ्रमण अनुमति दिँदै आएको छ ।

त्यस्तै त्यहाँ जाने पर्यटकबाट प्रवेश शुल्क उठाउने, त्यस क्षेत्रमा पाइने जडीबुटी बिक्री गर्न छुट पूर्जी दिने, सिफारिस गर्नेलगायतका काम कार्यालयबाट हुँदै आएको उनले बताए । करिब एक हजार छ सय ६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मनास्लु संरक्षण क्षेत्र उत्तरमा चीनको सिमाना र पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सिमानासम्म फैलिएको छ ।

प्राकृतिक सुन्दरता तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण मनास्लु संरक्षण क्षेत्र घुम्न जाने पर्यटकले चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृङ्गी हिमाल, राजेन र मुगुम्बा अवलोकन गर्न पाउनेछन् । त्यस्तै नुब्रीभ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्छन् ।

योगाभ्यासका लागि पनि मनास्लु क्षेत्र विदेशी पर्यटकको मुख्य गन्तव्य बन्दै गएको छ । यी दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउँछन् । मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले विशेष महत्व रहेको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको प्रमुख शेरचनले बताए ।

विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति रु तीन हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो । गएको एक वर्षको अवधिमा मात्र मनास्लु संरक्षण क्षेत्रमा नौ हजार एक सय ६६ जना विदेशी पर्यटक घुम्न पुगेका थिए । यो सङख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।