प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श कार्यशाला सम्पन्न


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०८१ मा प्रकाशित




वैशाख २१ पोखरा । महिलाका सवालमा उठाइएका विभिन्न संवैधानिक व्यवस्था, लैङ्गिक समानता र सशक्तीकरण, स्वास्थ्य शिक्षा लगायतका विषयका व्यवहारिक पक्षलाइ सबल बनाउनु पर्ने लगायत वेइजिङ्ग कार्यनीति माथिको कार्यान्वयको अवस्थाको बारेमा प्रदेश स्तरीय बेइजिङ प्लस ३० परामर्श सम्पन्न भएको छ ।

वियोण्ड बेइजिङ कमिटि गण्डकी प्रदेशको आयोजनामा बेइजिङ प्लस ३० परामर्शमा गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री एवम प्रदेश सभा सदस्य सीता सुन्दासले राज्यका तिनै तह तथा सम्पूर्ण निकायमा महिलालाई समानुपातिक एवं अर्थपूर्ण साझेदारी अपरिहार्यतामा जोड दिइन् । उनले नीति निर्माण तहमा महिलाको उपस्थिती बढाउन महिला सशक्तिकरणमा जोड दिएर सामुहिक सोचबाट अघि बढ्नु पर्ने भन्दै बनेका नीति नियमको प्रभावकारी ढङ्गले कार्यान्वयन भए–नभएको अनुगमन गर्न प्रभावकारी संयन्त्र बनाउनु पर्नेमा जोड दिए ।

परामर्शमा गैरसहकारी संस्था महासंघका गण्डकीका अध्यक्ष गोपाल खड्काले महिलाको स्थितिको अध्ययन गरेर सोही अनुसारको कार्यक्रम तय गर्नुपर्ने बताए । कानुनहरु बने पनि कार्यान्वयनका पक्ष भने प्रभावकारी हुन नसकेको धारणा राख्दै समानता कायम गर्न देखिएका अवरोधहरु केके हुन त्यसको पहिचान गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेशका पूर्व प्रदेशसभा सदस्य प्रभा कोइराला, रुपा गाउँपालिकाका उपाध्यक्ष लालसुवा गुरुङ, मुस्लिम महिला आमा समुहका अध्यक्ष नास्वुन निसा खान लगायतले सामाजिक न्याय र समानताका लागि महिलाको भुमिकाको महत्वमाथि धारणा राख्दै विभेद र हिंसा न्युनिकरणमा समविकासमा जोड दिनुपर्ने धारणा राखे ।
वियोण्ड वेइजिङ्ग गण्डकीका अध्यक्ष उषा बरुवालले प्रदेश स्तरीय परामर्शको औचित्य माथि प्रष्ट पार्दै १९९५ मा वेइजिङ घोषणापत्रलाई प्रत्येक पाँच पाँच वर्षमा समिक्षा गर्दै प्रतिवेदन बुझाइने र यसले नीति निर्माणमा भुमिका खेल्ने बताइन् ।

वेइजिङ्गमा भएको चौथो विश्व महिला सम्मेलन १९९५ वेइजिङ्ग घोषणापत्र पारित भएको थियो । इन्सेक पैरवी विभागका प्रमुख सम्झा श्रेष्ठले वेइजिङ्ग घोषणापत्र र कार्यमञ्च को बारेमा प्रस्तुती राख्दै महिलाहरुको लागि समानता, विकास, शान्ति प्राप्त गर्ने उदेश्यको अन्तराष्ट्रिय प्रतिवद्धताको रुपमा रुपमा यसको महत्व माथि प्रकाश पारेकी थिइन् ।

गण्डकी प्रदेशका ११ जिल्लाबाट उपस्थित सहभागीहरुले वेइजिङ्ग कार्यनीतिका १२ वटा सरोकारका सवालहरु ‘महिला र गरिबी’, ‘महिला र वातावरण’, ‘महिला र अर्थतन्त्र’, ‘महिला शिक्षा र तालीम’ र ‘महिला र स्वास्थ्य’ ‘महिला विरुद्धको हिंसा’, ‘महिला सशस्त्र संघर्ष’, ‘महिला र अर्थतन्त्र’, ‘शत्ति संरचनन र निर्णय तहमा महिला’, ‘महिला विकासका लागि संस्थागत संरचना’, ‘महिलाको मानव अधिकार महिला र सञ्चार’ , ‘बालिका’ विषयको समिक्षा गर्दैै सुझाव सहितको प्रस्तुती राखेका थिए ।

वियोण्ड वेइजिङ कमिटिका एक्सपर्ट अन्जना केसीले समानतामुलक समाजका लागि निरन्तरको खबरदारी र कानुनको कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्दै सहभागिहरुलाई धन्यवाद व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।