पठाओको आग्रह: जरिवाना काट्ने र थुन्ने नगरियोस्


     एभरेस्ट आवाज    
     असार १७ गते २०८१ मा प्रकाशित




पोखरा । गण्डकीमा राईड सेयरिङको कानून छ तर कार्यविधी र मापदण्ड बनेको छैन । त्यसैले यहाँ राईड सेयरिङ वैधानिक छैन । यसैलाई टेकेर यातायात व्यवस्था (सवारी) कार्यालय पोखराले राईड सेयरिङ चलाउन रोक लगाएको छ ।

गत असार ८ गते एक सूचना जारी गर्दै कार्यालय प्रमुख डिल्लीराम रिज्यालले राईड सेयरिङ एपमार्फत सेवा सञ्चालन गरेको पाइए कारवाही गर्ने जनाएका छन् । राईड सेयरिङको मापदण्ड नबन्दा भाडादर तोकिएको छैन भने यात्रु वीमाबारे अन्यौल छ ।

यसका बाबजुद पोखरामा राईड सेयरिङ एपमार्फत सेवा सञ्चालन भइरहेको छ । पोखरामा पठाओ, ईनड्राइभलगायतले निरन्तर सेवा सञ्चालन गरिरहेका छन् । ईड्राइभले केहि समयपछि सेवा सञ्चालन गर्ने जनाएको छ । कार्यविधी नबन्दै राइड सेयरिङ एपमार्फत सेवा दिन थालिएपछि यसलाई रोक्ने प्रयास भएको छ ।

खास गरेर ट्राफिक प्रहरीले यसको अनुगमन गर्ने गरेको छ । केहि दिनअघि करीब २६ जनालाई पक्राउ गरेर अब आईन्दा मापदण्ड नबनी राईड सेयरिङ एपमार्फत सेवा सञ्चालन नगर्ने शर्तमा छाडिएको थियो ।

राइड सेयरिङ एपमार्फत यात्रु बोक्ने पठाओलेपनि पोखरामा सेवा बिस्तार गरेको छ । बैशाखदेखि नै सेवा सञ्चालनमा ल्याएको पठाओले आफूलाई मान्यता दिन आग्रह गरेपनि बेवास्ता भएपछि बाध्य भएर सेवा सञ्चालनमा ल्याएको बताएको छ ।

पठाओका निर्देशक असीममानसिंह बस्नेतले राइड सेयरिङ एपमार्फत सेवा सञ्चालनमा रोक लगाउने सूचना निस्किनु दुर्भाग्य भएको बताए । कम भाडादरमा, प्रभावकारी सेवा सञ्चालन गर्दा सर्वसाधारण लाभान्वित थिए,उनले भने,‘तर यो सञ्चालनमा रोक लगाउने सूचना आउनु दुर्भाग्य हो । यसले सर्वधारणलाई मार पर्छ भने राज्यलाईपनि घाटा हुन्छ ।’

जनतालाई सहज हुनेगरी सेवा दिदा अवरोध आउन नहुने उनले बताए । केहि दिनअघि राइड सेयरिङ सञ्चालन गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै उनले भने,‘सेवा दिदा जरिवाना काट्ने, थुन्ने नहोस् ।’ उनले ज्यादती जारी रहे गण्डकीमापनि रिट हाल्ने चेतावनी दिए ।

आफूहरु कानून अनुसार नै सञ्चालनमा आउन चाहेको तर राज्यले त्यस्तो वातावरण नबनाएको उनको आरोप छ । हामीले सेवा सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै सरोकारवाला निकायहरु गण्डकी प्रदेश सरकार, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रदेश र जिल्ला ट्राफिक कार्यालयमा पत्र लेखेका थियौं,उनले भने,‘तर एक वर्षसम्म त्यसको कुनै रेस्पोन्स भएन । त्यसपछि बाध्य भएर सेवा सञ्चालन गर्न थाल्यौं ।’

पाटन उच्च अदालतले सेवा सञ्चालन गर्न दिन भन्दै परमादेश दिएकाले सोहि अनुसार गण्डकीमा पनि सेवा सञ्चालन गर्न पाउनुपर्ने उनको जिकीर छ । ‘त्यहाँको कानून र यहाँको कानून एउटै हो । अदालतले परमादेश दिएकाले यहाँपनि सेवा सञ्चालन गर्न दिने वातावरण राज्यले बनाउनुपर्छ’–उनले भने ।

पठाओका मिडिया प्रमुख विष्णुकान्त घिमिरे पठाओमा भाडदर तथा वीमाबारे अन्यौलता छैन । पठाओले भाडादर अग्रिम जानकारी गराउने र वीमापनि घाईते भई उपचार गराउँदा एक लाखको, मृत्यू भएमा वा गम्भीर घाईते भए अपाङ्गता भएमा १०÷१० लाखको वीमा गरिएको उनले दाबी गरे ।

राईड सेयरिङ चलाउन नदिने षडयन्त्र भइरहेको पठाओका निर्देशक बस्नेतको आशंका छ । हामीलाई असफल बनाउन पहिलेदेखि नै प्रयास हुँदै आएको हो,उनले भने,‘राइड सेयरिङ फेल गराउन, बिस्थापित गराउन अहिलेपनि केहि न केहि प्रयास भइरहेकै छ ।’ काठमाडौंमा राइड सेयरिङ सञ्चालन गर्न नदिन ट्याक्सीले विरोध र दवाब नै सिर्जना गरेको र त्यो प्रयास गण्डकीमापनि हुनसक्ने उनको आशंका छ । ‘यकीन भन्न सक्दिन । यहाँका जनतालाई नै बढी थाहा होला बाँकी कुरा’–उनले भने ।

गण्डकीमा रजिस्ट्रेसन शुल्क नतिरेको भन्ने आरोपकोपनि पठाओले खण्डन गरेको छ । आफूहरुले रजिस्ट्रेसन शुल्क तिर्न चाहेपनि तिर्ने वातावरण नबनाएको भन्दै निर्देशक बस्नेतले भने,‘वार्षिक ७० हजार तिर्न हामीलाई गाह्रो भएको होईन, बरु सरकारलाई उठाउन गाह्रो भएको हो ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।