
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धिका लागि आवासीय सुविधासहित तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाअन्तर्गतका विद्यालयबाट एसइईमा अनुत्तीर्ण विद्यार्थीका लागि ग्रेडवृद्धिमा सहभागी हुन पालिकाले आवासीय सुविधासहितको तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
आजदेखि रामशाह मावि र मित्रता माविमा अतिरिक्त कक्षा सञ्चालन गर्ने र त्यसका लागि शिक्षकहरूले सकेको सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
गाउँपालिकाअन्तर्गतका दश विद्यालयमध्ये दुई विद्यालयको नतिजा शून्य छ । छिम्केश्वरी मावि र कन्यादेवी माविका सबै विद्यार्थी एसइईमा अनुत्तीर्ण भएका छन् । छिम्केश्वरीका १४ र कन्यादेवीका १९ विद्यार्थी परीक्षामा अनुत्तीर्ण छन् । कुल चार सय ३३ विद्यार्थीमध्ये ३.६–४ जिपिए ल्याउने १६, ३.२–३.६ जिपिए ल्याउने ४५, २.८–३.२ जिपिए ल्याउने ५२, २.४–२.८ जिपिए ल्याउने ३६ र २.०–२.४ जिपिए ल्याउने दुई विद्यार्थी छन् ।
अध्यक्ष चुमानले एसइईको नतिजाले जनप्रतिनिधि, विद्यालय प्रशासन र विषय शिक्षक फेल भएको बताए । उनले भने, “यो वर्षको माध्यमिक शिक्षा परीक्षामा आँबुखैरेनी गाउँपालिका नराम्रोसँग फेल भएको छ । यो नतिजाको अनुत्तीर्णमा बच्चाहरूको नाम देखिए पनि खास फेलचाहिँ हामी सरकारमा बसेर जिम्मेवारी लिने ठूला मान्छे पल्टिएकाहरू, केही हदसम्म विद्यालय प्रशासन र विषय शिक्षक भएको जस्तो लाग्छ ।”रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।