पोखरा । पोखरा- ९ शिवटोल बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा आधुनिक प्रविधिसहित तातोचिसो पिउने पानीको सुविधा भएको धारा हस्तान्तरण गरिएको छ। समाजसेवी अमर गुरुङ र अर्जुन मैनालीको संयुक्त पहलमा युभी प्रविधिसहितका धाराहरु निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो।
धारा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले सरकारले निःशुल्क शिक्षाको अवधारणा ल्याए पनि कार्यान्वयनमा कमजोरी रहेको उल्लेख गरे। सहारा विद्यालयले विभिन्न अभावका बावजुद शैक्षिक तथा भौतिक उन्नति गर्दै गएकोमा प्रशंसा गर्दै विद्यालय व्यवस्थापन समितिका सबैलाई धन्यवाद दिए।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले बालबालिकाको मौलिक हकअन्तर्गत पर्ने शिक्षा हासिल गर्न उपयुक्त वातावरण सिर्जनाका लागि गुणस्तरीय पिउने पानीको महत्वपूर्ण भूमिका रहेको बताए। वडाले विद्यालयप्रति आफ्नो जिम्मेवारी बहन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
पत्रकार तथा सिद्द सेतुली प्रतिष्ठान कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले दाताहरुलाई धन्यवाद दिँदै विद्यालयको स्थायित्वका लागि आफ्नै जग्गा हुनुपर्ने आवश्यकता औंल्याए। उनले बसपार्क व्यवस्थापनपछि विद्यालयको भविष्य के हुने ? चासो व्यक्त गर्दै जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराए।
विद्यालयकी प्रधानाध्यापक लोचना अधिकारीले ३ ओटा धारामार्फत विद्यार्थीहरुले सुविधा लिनसक्ने व्यवस्था भएको जानकारी दिँदै दाताहरुप्रति आभार व्यक्त गरिन्। उनले पिउने पानीको सुविधा विद्यालयलाई हस्तान्तरण गर्नु पुण्य कार्य भएको बताइन्।
समापनमा व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीले विद्यालयमा अध्ययनरत करिब २६० विपन्न तथा अव्यवस्थित बस्तीका विद्यार्थीहरुको हितलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले आगामी दिनमा पनि सहयोगी मनहरुबाट निरन्तर चासो र सक्रियता रहनुपर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, जनप्रतिनिधि, सहारा क्लबका पूर्वअध्यक्ष, सहारा क्लब र सहारा युकेका पदाधिकारीहरु, शिक्षक, अभिभावक, विद्यार्थी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।