मदरल्याण्ड माविमा वार्षिक सांस्कृतिक कार्यक्रम सुरु


     एभरेस्ट आवाज    
     माघ १९ गते २०८१ मा प्रकाशित




पोखरा, माघ १८
पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि तीनदिने वार्षिक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले तीनदिन अवधिका लागि कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार शुक्रबार पहिलो दिन नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकाका लागि कार्यक्रम आयोजना गरिएको थियो । दोश्रो दिन ४ देखि ८ कक्षासम्मका बालबालिकाले प्रतिभा देखाउनेछन भने अन्तिम दिन ९ देखि १२ कक्षासम्मका विद्यार्थीले कार्यक्रम पस्कनेछन् ।
विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि वार्षिक सांस्कृतिक कार्यक्रम गरिएको प्राचार्य बरालले जानकारी दिए । पहिलो दिनको कार्यक्रमको पोखरा महानगरपालिका–७ का अध्यक्ष राममोहन आचार्यले उद्घाटन गरेका थिए । कार्यक्रममा प्राचार्य बरालले विद्यालयको क्यालेन्डरमै समेटेर सबै तहका विद्यार्थीका लागि कार्यक्रम राखेको बताए । विद्यार्थीमा रहेको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि विद्यालयले हरेक वर्ष कार्यक्रम गर्ने गरेको उनले बताए ।
‘विद्यार्थीलाई कक्षाकोठामा मात्र सिमित नराखि उनीहरुमा रहेको आत्मविश्वास र क्षमतालाई बाहिर देखाउनका लागि पनि यस्ता कार्यक्रम जरुरी छन्,’ बरालले भने, ‘स्टेजमा कार्यक्रम पस्किदा एक किसिमको सिकाई विद्यार्थीमा देखिनेछ । त्यो सिकाईलाई अर्काे विद्यार्थीले उपयोग गर्नेछ ।‘ कक्षा कोठामा मात्र नभई बाहिर पनि क्षमता देखाउने अवसर विद्यालयले विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने उनले बताए ।
‘सबै किसिमको सिकाईमा विद्यार्थीको जिम्मेवारपूर्ण सहभागिता गराउने प्रयास गरेका छौं,’ प्राचार्य बरालले भने, ‘विद्यालयले विद्यार्थीलाई जुनसुकै तरिकाले पनि सिकाईमा जोड्ने र जिम्मेवार बनाउने प्रयास गरेको छ । योग्य नागरिक बनाउन विद्यालय हरदम प्रयासरत रहेको छ ।’ प्राचार्य बरालका अनुसार विद्यालयले यसअघि पनि विद्यार्थीका लागि यस्तै कार्यक्रम गरेको थियो । विद्यार्थीकै लागि भनेर साहित्य मेला पनि आयोजना गरेको बरालले स्मरण गराए ।
प्रमुख अतिथि पोखरा–७ का अध्यक्ष राममोहन आचार्यले अभिभावकले छोराछोरीका लागि पर्याप्त समय दिन छाड्दा बालबालिकाको सिकाई प्रभावित हुन थालेको बताए । ‘अभिभावकको व्यस्तताले गर्दा अहिले बालबालिकाले परिवारका सदस्यसँग घुलमिल हुन पाएका छैनन । त्यसैले जति नै व्यस्तता भएपनि केही समय निकालेर छोराछोरीका लागि उपलब्ध गराउनुपर्छ,’ आचार्यले भने, ‘तिनै छोराछोरीको भविश्यको लागि दौडधुप गर्ने अभिभावकले उनैका लागि समय दिन नसक्दा समस्या आउँछ ।’ म साह्रै नै व्यस्त छु भने पनि अभिभावकले छोराछोरीका लागि समय कटौती नगर्न उनले सुझाव दिए ।
विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमले साना बालबालिकाको क्षमता प्रस्फुटन हुने पनि अध्यक्ष आचार्यले बताए । ‘बालबालिकाका लागि गतिलो सिकाई यस्ता कार्यक्रमले दिलाउँछ,’ उनले भने, ‘पढाईमा मात्र नभई सबै गतिविधिमा हुने विद्यार्थीको सहभागिताले गतिलो अर्थ राख्छ ।’
तीनदिने कार्यक्रमका संयोजक बिनित छन्त्यालले सबै तहका विद्यार्थीलाई कुनै न कुनै कार्यक्रममा सहभागि गराउने गरि यो सांस्कृतिक कार्यक्रम आयोजना गरेको बताए । उनका अनुसार तीनदिनको यो अवधिमा विद्यालयमा सिर्जनात्मक कला प्रदर्शनी पनि राखिएको छ । त्यस्तै कार्यक्रममा विद्यार्थीका लागि भजन, योगानृत्य, नाटक, नृत्य लगायका कार्यक्रम पनि राखिएको थियो । विद्यालयमा प्रदर्शनीमा राखिएको कला विद्यार्थी आफैले कोरेका थिए ।
कार्यक्रमको अवसरमा मदरल्याण्डका पूर्व विद्यार्थीद्वय अर्जुन गौतम र टिसन विश्वकर्मालाई पनि सम्मान गरिएको थियो । गौतमले इटलीमा नेपाली उत्पादनलाई बिक्री गर्दै आएका छन् । उक्त कार्यक्रममा विद्यार्थीसँगै अभिभावक, स्थानीय तहका प्रतिनिधि, समाजसेवी, विभिन्न विद्यालयका प्राचार्य लगायतका सहभागि थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।