
पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले शिक्षा क्षेत्रमा गुणस्तर र नवप्रवर्तन आवश्यक रहेको बताएका छन् । विहिबार पोखरा लिङ्कन इन्टरनेशनल कलेजको स्नातक बधाई समारोहमा उनले यस्तो बताएका हुन् ।
“समयअनुकूल शिक्षामा रूपान्तरण आवश्यक छ। शिक्षक र विद्यालयले मात्र होइन, अभिभावकले पनि शिक्षामा सक्रिय भूमिका खेल्नुपर्छ ।”, उनले भने ।
मन्त्री थापाले विद्यालय शिक्षा ऐन संघ सरकारले ल्याएपछि प्रदेश सरकारले आफ्नो कानुन बनाउने जानकारी दिए । उनले शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले फ्राइडे फर फ्युचर, सिक्दै कमाउँदै र अभिभावक शिक्षा जस्ता कार्यक्रमहरू ल्याइएको उल्लेख गरे ।
“शिक्षा अब केवल किताबी ज्ञानमा सीमित रहनु हुँदैन। प्रविधिमैत्री शिक्षाले मात्रै नेपाललाई बस्न योग्य, सीपयुक्त, र आत्मनिर्भर बनाउँछ”, उनले भने । मन्त्री थापाले उद्यमशीलता विकासका कार्यक्रमलाई प्राथमिकता दिँदै शिक्षालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए ।
स्नातक कार्यक्रममा सहभागी भएका विद्यार्थीलाई शुभकामना दिँदै उनले नेपालमै अपार सम्भावना रहेको र युवाहरूले पढाइसँगै सीप विकासलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, विद्यार्थी, शिक्षक र अभिभावकहरूको उपस्थिति रहेको थियो। कलेजले समेत भविष्यमा गुणस्तरीय र व्यवहारिक शिक्षाको विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।