१५ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिन्छु: नेता प्रदीप पौडेल


     एभरेस्ट आवाज    
     पौष ८ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज बिहान काठमाडौँमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले पार्टीको १४ औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिस्पर्धा गर्दा सफलता प्राप्त नभएको बताउँदै यस पटक भने सफल हुने गरी तयारी शुरु गरेको बताए । पुर्व स्वास्थ्य मन्त्री समेत रहेका नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित नेताहरुलाई आगामी महाधिवेशन समयमै गर्न स्पष्ट रुपमा निर्देशन दिइसक्नुभएको र चाँडै नेतृत्व हस्तान्तरण गर्न चाहेको जानकारी दिए । उनले समयमै महासधवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने पनि बताएका छन् ।

कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।उनले महाधिवेशनबाट आउने नयाँ नेतृत्वले जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाइ पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । उनले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु नै जेनजी आन्दोलनको भावना र चाहना भएको बताउँदै कांग्रेसको प्राथमिकता पनि संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको उल्लेख गरे ।

नेता पौडेलले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले आवश्यक वातावरण मिलाउनु पर्नेमा ध्यानाकर्षण गराए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।