माछापुच्छ्रे-८ का ८० विद्यार्थीलाई ‘रिडिङ कर्नर’ व्यवस्थापनका लागि शैक्षिक सामग्री सहयोग


     एभरेस्ट आवाज    
     पौष २२ गते २०८२ मा प्रकाशित





पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ का सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई ‘पढाइकुना’ (Reading Corner) व्यवस्थापनका लागि शैक्षिक सामग्री सहयोग गरिएको छ।

गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नौलो घुम्ती नेपालको आयोजनामा वडाभित्र रहेका पाँच सामुदायिक विद्यालयका ८० जना प्रायोजित बालबालिकाहरूलाई मंगलबार एक कार्यक्रमका बीच सामग्री हस्तान्तरण गरिएको हो।

बालबालिकाहरूलाई घरमा पढ्ने वातावरण सिर्जना गर्न र गुणस्तरीय शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले किताब राख्ने र्‍याक, पढाइ टेबल र विभिन्न बालमैत्री पुस्तकहरू सहयोग स्वरूप प्रदान गरिएको थियो।

सामग्री वितरण कार्यक्रममा बोल्दै माछापुच्छ्रे गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामबहादुर गुरुङले शिक्षा क्षेत्रको सुधारका लागि संस्थाले विविध कार्यक्रमहरू गर्दै आएकोमा प्रशंसा गर्नुभयो। उहाँले हाल उपलब्ध गराइएको पढाइ व्यवस्थापन सामग्रीले बालबालिकाको सिकाइमा मद्दत पुग्ने बताउँदै यस कार्यप्रति स्थानीय सरकार कृतज्ञ रहेको उल्लेख गर्नुभयो। साथै, वडाध्यक्ष गुरुङले बालबालिकाको उज्ज्वल भविष्यका लागि अभिभावकहरू थप जिम्मेवार बन्नुपर्ने र घरमा पनि पढाइका लागि उचित समय छुट्याउन आग्रह गर्नुभयो।

कार्यक्रममा वडा सदस्य चोकप्रसाद दाहालले प्राप्त सामग्रीहरूको उद्देश्यमूलक प्रयोगमा जोड दिनुभयो। उहाँले सामग्रीको सही सदुपयोग भए/नभएको विषयमा शिक्षकहरूले आवश्यक अनुगमन गर्नुपर्ने कुरा औंल्याउनुभयो।

समापन कार्यक्रममा बोल्दै गुड नेवर्स इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत भीम तामाङले संस्थाले विगत लामो समयदेखि बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, बाल संरक्षण तथा जीविकोपार्जन जस्ता क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो। उहाँले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नौलो घुम्ती नेपालका सामाजिक परिचालक बलराम पौडेलले जानकारी दिए अनुसार, उक्त सहयोगले बालबालिकाहरूको घरको पढाइ वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।