नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयद्वारा आज आयोजित सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह, २०८२ को शुभारम्भ गर्दै आइजिपी कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय तथा भवनमा आगजनी गरिएको, ट्राफिक प्रहरीका संरचना र उपकरणहरूमा ठूलो क्षति पुगेको स्मरण गराए । उनले भने, “आन्दोलनका क्रममा प्रहरीका विभिन्न कार्यालयमा ठूलो क्षति भयो । त्यस कठिन घडीमा पनि प्रहरीका खुट्टामा जुत्ता नहुँदा, शरीरमा लुगा नहुँदा समेत नागरिकको सुरक्षाका लागि सडकमा उभिइरह्यो । हामी अहिले खरानीबाट उठेर पनि नागरिकको सुरक्षा सुनिश्चित गर्न सडकमा छौँ ।”
महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह, २०८२ लाई केवल औपचारिक कार्यक्रमका रूपमा नभइ, नागरिक चेतना अभिवृद्धिको अभियानका रूपमा लिन आग्रह गरे । उनले नेपालका सवारी चालकदेखि पैदल यात्रुसम्म सबैले सभ्य, शिष्ट र जिम्मेवार नागरिकको व्यवहार देखाउँदै ट्राफिक नियमको पूर्ण पालना गर्ने विश्वास व्यक्त गरे । “ट्राफिक प्रहरीले हात हल्लाएर सडकमा ड्युटी गर्नुपर्ने अवस्था अन्त्य होस्”, उनले भने, “सभ्य नागरिक बनौँ, ट्राफिक नियम पालना गरौँ । यही नै ट्राफिक सप्ताह, २०८२ को मूल उद्देश्य हो ।”
आइजिपी कार्कीले कानुनको प्रभावकारी कार्यान्वयनबाट कानुनी शासन स्थापना हुने, कानुनी शासनबाट सुशासन आउने र सुशासनले समृद्ध राष्ट्र निर्माणमा योगदान पु¥याउने उल्लेख गरे । साथै, ट्राफिक सप्ताहको सफलताका लागि आम नागरिकको सक्रिय साथ, सहयोग र सहभागिता अपरिहार्य रहेको बताए ।
कार्यक्रममा काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले अभियानमाथि प्रकाश पार्दै जेनजी युवाहरूको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिको स्मरण गर्दै उक्त आगजनीका कारण ट्राफिक प्रहरीका संरचना ध्वस्त भएको, उपकरण नष्ट भएको र कार्यालयमा रहेका नागरिकका महत्वपूर्ण कागजात जलेको बताए ।
उक्त अभियान आजदेखि सुरु भई आउँदो माघ ३ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत ट्राफिक सचेतना, नियम पालना, सवारी अनुशासन, पैदल यात्री सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






