राम बहादुर बानियाँ
पोखराको कुँडहर, भद्रकालीको उत्तरतिर हेर्दा दक्षिणपूर्व दिशातिर फर्केको पहारिलो पाखा। जोतभोग नभएको, अलि बाँझो,लमतन्नको पाखो परेको घाँस दाउरा गर्ने ठाउँलाई आर्बा भनिन्छ।
यसको पूर्वतिर बिजयपूर खोला बगेको छ। बिजयपूरको पश्चिम किनाराको उर्वर फाँटलाई आर्बाको घारी भनिन्छ। वि.सं.२०१६सालमा यहाँ सिंचाई गर्न नहरको निर्माण शुरू भएको थियो। २०२८ सालको जनगणनामा यहाँको जनसंख्या १ हजार ९०७ थियो। कूलमण्डन शाहलाई रिझाएर बिर्ता पाएका कास्कीका ४ महत्वपूर्ण जग्गा मास्टनको टारी, आर्बाको घारी, बैदामे बारी र पूम्दी भूम्दीको खरबारी मध्ये एक हो आर्बाको घारी। वि.सं . १९७२सालमा रोल्पाका नारायण खत्री (स्वर्गद्वारी महाप्रभू)का चेला कोपिलानन्द स्वामी आएर आश्रम खडागरी नित्य जप तप यज्ञ, होमादि, गौशाला खडागरी बस्न थाल्नु भएछ। बसेको डेढ महिना जति पछि स्थानीयले थाहापाई, त्यता तिर जान थालेछन् अनि आवागमन बाक्लिदैं गएर यसले धामको रुपमा विकास हुन थालेछ ।

त्यहाँ ठूलो होम कूण्ड, मन्दिर, पोखरी,स्थापना भयो। जङ्गलको बिच बिचमा गौशालाहरू बने । ती गाई बाच्छालाई पानी खान पोखरी खनियो। चैत मासको खडेरीमा पनि पानी नसुक्ने पोखरी थियो त्यहाँ। स्वर्गद्वारी महाप्रभूको कृपाले त्यो ठाउँ गुल्जार र प्रख्यात बनिसको थियो। गाईहरू फस्टाउँदै गई १०८ नाघिसकेका थिए। गाईको घिउको होमन गर्नाले आर्बा गाउँ भरी सुगन्ध फैलिरहेको थियो । यस्तैमा एक रात कोपिलानन्दले गाउँलेहरूलाई भेला गरी अब आफू त्यस ठाउँबाट जाने समय आएकोले यी गौमाता तपाईंहरूलाई सुम्पदै छु, राम्रो पालन पोषण गर्नु होला भनेर बाँडिदिनु भयो । अर्को एक दिन गाउँलेले थाहा नपाउने गरी आफ्ना चेलाका साथ त्यहाँबाट हिंडनु भयो।
अहिले पनि जंगलमा गाईलाई कुंडो पकाएर खुवाउने चुलाहरू, यज्ञ गर्ने यज्ञ कुण्डहरू भेटिन्छन। जंगलमा खन्दा होम गरिएका कुण्डबाट चरु,कोईला र तामाका पैसा भेटिंदा रहेछन । त्यहाँ बस्दा उहाँहरूले नित्य पानी पिउने कुवा पनि रहेछ। पहिले पहिले त्यस कुवाको दायाँ बायाँ २ वटा चरा बसेर रखबारी गर्दारहेछन। जब कुवामा पात खस्छ तब ती चराहरूले टिपेर लग्दा रहेछन र कुवाको पानी सफा रहने गर्दो रहेछ। त्यहाँबाट अलिपर पहरोमा एउटा गुफा रहेछ। सो गुफामा उहाँहरूले तपस्या गर्नुहुँदो रहेछ। कुनै एक दिन शिकारीहरूले कुकुर लिएर शिकार खेल्न जाँदा, कुकुरले मृग भेटे छ र लखेट्न थाले छ , बिचरो मृग पनि हस्याङ फस्याङ गर्दै त्यसै गुफा भित्र छिरेछ। लखेट्दै गरेको कुकुर पनि त्यसै गुफा भित्र पसेछ । शिकारीहरू कतिखेर कुकुरले मृग ल्याउला भनी ढुकेर त्यसै गुफाको मुखमा बसेछन। रातको १०बजेसम्म पनि कुकुर नआएकोले भोलि खोज्न आउनु पर्ला भनेर आफ्ना घरतिर लागेछन। भोलि पल्ट खोज्दै जाँदा मृग र कुकुर कमल पोखरी नेर स्थानीयले फेला पारी मृग आफूहरूले राखी कुकुर शिकारी टोलीलाई फिर्ता गरिदिएछन। स्वर्गद्वारीकै गुफाको झल्को आउने यस गुफाको अन्वेषण हुन जरूरी छ ।

धाममा स्वामीजीको मूर्ति स्थापित छ भने महाँप्रभूको मूर्ती राख्न ठाउँ बनाइएको छ । सुन्दर मन्दिर छ। पूरानो यज्ञ कुण्डलाई तेलिया इंटाद्वारा घेरिएर सुरक्षित गरिएको छ। ३ तले पक्की धर्मशाला छ भने त्यसको माथि चारैतिर दृश्याबलोकन गर्न सकिने टावर बनेको छ । कञ्चन नेपालको सहयोगमा २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की बनेको छ। समथर टाकुरामा फलामको चौंरैली पिङ, होटल प्रयोजनको लागि घर र पक्की शौचालय बनेको छ। घार्मीको मणिबाट बिहानै देखिने गरेको उज्यालो बत्तिको टावर पनि यहि नै रहेछ । पोखरा १९, काउँरेको अम्मरेश्वर धाम पनि महाँप्रभूकै अर्का चेला स्वामी श्री शंकरानन्दले वि.सं. १९६६ सालमा स्थापना गर्नु भएको थियो, त्यो धामको एकपटक अवलोकन गर्न आर्बाबासीलाई अनुरोध छ।
दुबै धाम स्वर्गद्वारी महाँप्रभूका चेलाले स्थापना गरेका हुन र समकालिन जस्तो देखिन्छ। महाप्रभू धामको उचित प्रचार प्रसार हुन सके अध्यात्मिक चिन्तकहरूको आकर्षणको केन्द्र बन्न सक्छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, कात्तिक २७पोखरामा सडकमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु…







