‘श्रवणकुमार समाधिस्थल’लाई चिनाउन भजन चुड्का प्रतियोगिता


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०८० मा प्रकाशित




वालिङ । ‘बनून सबै जना श्रवण जस्तै सन्तान’ यो प्रतीकात्मक चुड्का श्रवणकुमार समाधिस्थलमा आयोजना गरिएको भजन चुड्का प्रतियोगिताका सहभागीले गाएका हुन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिकाको सहयोग र श्रवणकुमार क्षेत्र विकास समितिले सोमबार आयोजना गरेको पालिकास्तरीय भजन चुड्का प्रतियोगितामा प्रतिस्पर्धामा उत्रिएका प्रतिस्पर्धीहरुले प्रस्तुत गरेका हुन् ।

समयक्रमसँगै आफ्ना बुबाआमाप्रति छोराछोरीले निभाउनुपर्ने जिम्मेवारीबाट उनीहरु पन्छिदै गइरहेका बेला श्रवणकुमारलाई प्रतीकका रुपमा स्थापित गरी जिम्मेवार बन्नुपर्ने सन्देश भजन चुड्कामार्फत प्रस्तुत गरिएको हो । श्रवणकुमारले आफ्ना अन्धाअन्धी बुबाआमाको गरेको सेवा, बुबाआमाप्रति छोराछोरीले कर्तव्य र दायित्व भुल्दै गइरहेको समाजलाई साङ्केतिक रुपमा सहभागीका प्रस्तुति र झाँकीले दर्शाइरहेको देखिन्थ्यो ।

आफ्ना अन्धाअन्धी बुबाआमालाई खर्पनमा बोकेर छोरा श्रवणकुमारले तीर्थाटन गराउने क्रममा हालको आँधीखोला गाउँपालिका–४ घ्याङसिदी आइपुग्दा बुबाआमालाई तिर्खा लाग्यो । श्रवणकुमार बुबाआमालाई छाडेर नजिकैको तलाउमा पानी लिन गएका र तलाउबाट पानी निकाल्दा डुबाएको भाँडो बज्न पुग्यो । उक्त आवाज मृगको जस्तो मानी राजा दशरथले प्रहार गरेको ‘शब्दभेदी वाण’ लागेर श्रवणकुमारको निधन भएको पौराणिक किंवदन्ती रहिआएको छ ।

अन्धाअन्धीको सहारा एकमात्रै छोरा श्रवणकुमारको मृत्यु भएपछि व्याकुल बनेका बुबाआमाले पनि रुँदारुँदै सोही ठाउँमा मृत्युवरण गरेका थिए । उनीहरुको आँसुबाट बनेको दहबाट उत्पत्ति भई हालको ‘आँधीखोला’ बहेको मानिन्छ । श्रवणकुमारलाई बाण लागेर मृत्यु भएको किंवदन्तीका आधारमा उक्त ठाउँमा श्रवणकुमार समाधिस्थल निर्माण गरिएको छ ।

“धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक तथा प्राकृतिक हिसाबले महत्वको ठाउँको प्रचारप्रसार गर्ने उद्देश्यसहित गाउँपालिकाले भजन चुड्का प्रतियोगिता सञ्चालन गरेको संस्कृतिविद् डा तुलसी प्रभास खनालले बताए । उनले भने, “यसको महत्व स्थानीयवासी तथा अन्यत्रसम्म पु¥याउन तथा श्रवणकुमारका बारेमा खोजअनुसन्धान गर्न पनि यसले महत्वपूर्ण भूमिका खेलेको छ ।”

यस ठाउँको महत्वका बारेमा स्थानीय पाठ्यक्रममा समावेश गरी बालबालिकालाई जानकारी दिइएको संस्कृतिविद् डा खनाल बताउछन् । समाधिस्थलमा आयोजना भएको भजन चुड्का प्रतियोगितामा ‘खोला बनी बग्यो रगत र आँसुले, शीला बन्यो मासुले’ जस्ता भाव समेटिएका भजन चुड्का प्रस्तुत गरिएका थिए ।

श्रवणकुमारका अन्धाअन्धी बुबाआमा, श्रवणकुमारको गाथालाई लयात्मक ढङ्गले समाधिस्थलमै कार्यक्रम गर्दा यसको प्रचारप्रसारमा टेवा पुगेको गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले बताए।

स्थानीय कला संस्कृतिको संरक्षण, धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसाका लागि यस वर्षदेखि भजन चुड्का प्रतियोगिता आयोजना गरिएको अध्यक्ष पौडेलले बताए । “गाउँपालिकाभित्र पर्ने प्रमुख धार्मिक, पर्यटकीय, पौराणिक तथा सांस्कृतिकरुपमा निक्कै महत्व बोकेको यस ठाउँको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य हो”, उनले भने।

श्रवणकुमार समाधिस्थलमा गाउँपालिका र नेपाली सेनाको सहकार्यमा सामाजिक कल्याण कोषमार्फत भौतिक पूर्वाधार निर्माणका कामहरु भइरहेका छन् । उक्त ठाउँमा पोखरी पुनःनिर्माण, मन्दिर निर्माण, राजा दशरथले हवन लगाएको हवन कुण्डलगायतका संरचना निर्माण भइरहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।