नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकीले ज्ञापनपत्र बुझायो


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०८१ मा प्रकाशित




साउन ४ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशले आफ्ना मागहरु राख्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

नेराशिसं राष्ट्रिय समितिको आह्वान तथा गण्डकी प्रदेश समितिको निर्णय बमोजिम शुक्रबार गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, ११ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाई एवम् ८५ वटै स्थानीय तहका प्रमुख, अध्यक्ष तथा शिक्षा प्रमुखहरूलाई विभिन्न समसामयिक विषयहरूमा ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई ज्ञापन पत्र बुझाउँदै सङ्गठनका गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेलले संघीय कानुनसँग बाझिने गरी स्थानीय तहले आफू खुसी नियमावली तथा कार्यविधि बनाई शिक्षकहरूको हुर्मत लिने कार्य गरेकाले यसलाई तुरून्त रोक्नुपर्ने, शिक्षकका पेसागत संगठनहरूसँग भए गरेका सम्झौताहरूको हुबहु कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिए ।

ज्ञापनपत्र बुझ्दै माननीय मन्त्रीले आफ्नो तर्फबाट माग पूरा गर्न सक्दो सहयोग गर्ने र कतिपय मागहरू पूरा गर्न संघीय सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख तथा उपसचिव लोकनाथ आचार्यलाई ज्ञापन पत्र बुझाउँदै जिल्ला अध्यक्ष तिर्थराज ढकालले संघीय शिक्षा ऐन अविलम्ब ल्याउन पहल गर्नुपर्ने, स्थानीय सरकारसँग समन्वय गर्ने एवम् शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कनलाई भरपर्दो र विश्वसनीय बनाउन अनलाइनमा फारम भर्ने व्यवस्था गर्नुपर्ने कुरा बताए ।

ज्ञापनपत्र बुझ्दै उपसचिव आचार्यले आफ्नो कार्यालय संघीय सरकारको प्रतिनिधि भएकाले शिक्षकहरूले उठाएमा माग मुद्धाहरूलाई मानव स्रोत विकास केन्द्रमार्फत् संघीय सरकारलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरे ।

कास्की जिल्लाका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष तथा शिक्षा शाखा, महाशाखाका प्रमुखहरूलाई समेत स्थानीय पालिका समितिहरूद्वारा ध्यानाकर्षण पत्र बुझाइएको कुरा सङ्गठन विभाग प्रमुख दामोदर तिमिल्सिनाले जानकारी गराए ।

ज्ञापन पत्र बुझाउने कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिका गण्डकी इन्चार्ज याम कुँवर, राष्ट्रिय समिति सचिव रामप्रसाद पोखरेल, राष्ट्रिय समिति सदस्य शारदा शर्मा लगायत गण्डकी प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरू, कास्की जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू एवम् स्थानीय तह समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।