नगद ६ लाख ५० हजारसहित मदरल्याण्ड एक्सलेन्स अवार्ड


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित




पोखरा। शिक्षा क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै विशिष्ट परिचय बनाउन सफल पोखराको मदरल्याण्ड मा. वि. मा एक्सलेन्स अवार्ड प्रदान गरिएको छ ।

एक समारोहबिच कक्षा १२ को बोर्ड परीक्षामा नेपाल टप्न सफल तथा अन्य उच्च शिक्षाका विभिन्न तहमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका २८ भन्दा बढी विद्यार्थीलाई नगद ६ लाख ५० हजारसहित मदरल्याण्ड एक्सलेन्स अवार्डका साथ मङ्गलबार विद्यालय प्राङ्गणमा सम्मान गरिएको हो।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को बोर्ड परीक्षामा व्यवस्थापन र विज्ञान दुबै समूहमा नेपाल टप्न सफल राजेश पौडेल, जीवन अधिकारी र कृतिका थापालाई नगद दुईदुई लाख रुपियाँका साथ दोसलाले सम्मान गरिएको थियो ।

त्यसैगरि कक्षा बाह्रपछि उच्च शिक्षाका लागि नेपाल सरकार अन्तर्गत इन्जिनियरिङतर्फ पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल प्रवेश वास्तोला, प्रशिम पोख्रेल, विनायक बास्तोला, सुवास पौडेल, प्रदीप भण्डारी, शिव भण्डारी, अभिजोन लामिछाने सजिस बाँस्तोला, अवपदीप बानियाँ, रीतिका अधिकारी, आदर्श सुवेदी, आधुनिक ढुङ्गाना, स्नेहा अधिकारी, मिसन भुगाईँ र सुजन तिमिल्सिना सम्मानित भएका थिए।

त्यस्तै चिकित्सा शिक्षा ९एमबिबिएस०तर्फको प्रवेश परीक्षामा उत्कृष्ट आठौँ स्थानका साथ पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल सक्षम लामिछानेलाई नगद रु ५० हजार सहित सम्मान गरिएको छ । सोहि अवसरमा एमबिबिएसमै छात्रवृत्ति पाउने रजनी दाहाल, कृतिका थापा र जीवन अधिकारीलाई पनि विद्यालयले सम्मान गरेको छ ।

त्यसैगरि राष्ट्रिय स्तरका विभिन्न विश्वविद्यालयले लिएका बिबिए र बिआइएमको प्रवेश परीक्षा टप्दै पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल सफल गुरुङ, सम्पदा थापा र अनिल बास्तोलालाई पनि विद्यालयमा सम्मान गरिएको छ।

यसका साथै कृषिमा भारतीय दूतावास अन्तर्गतको बिएस्सी अनर्समा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल दिपसन गुरूङलाई पनि सम्मान गरिएको यस कार्यक्रममा उत्कृष्ट जिपिए ९३.८ का साथ कक्षा १२ पास गरेका थप विद्यार्थी कृष्टल रेग्मी, सजग तिवारी, कृतज्ञ श्रेष्ठ र मिलन रेग्मी तथा भर्खरै सम्पन्न हिसान स्पोर्ट्स मिटमा पदक प्राप्त गर्न तथा सहकार्यकलाप अन्तर्गत विभिन्न पुरस्कार हात पार्न सफल विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो। सोही अवसरमा कक्षा ११ र १२ को प्रथम त्रैमासिक परीक्षाको पुरस्कार तथा छात्रवृत्ति पनि वितरण गरिएको थियो।

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङको प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक एवम् दस जोड दुईका इन्चार्ज नारायण आचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा, उपनिर्देशक वसन्तराज पौडेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकराज आचार्य, विद्यालय निर्देशक त्रिभुवन शर्मा आदिजस्ता व्यक्तित्वले विद्यार्थीहरूलाई सम्मान गरेका थिए।

विद्यालयका संस्थापक प्राचार्य नारायण बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन अङ्ग्रेजी विभागका विभागीय प्रमुख बामनकुमार घिमिरेले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।