‘जेनजी आन्दोलन आकस्मिक विस्फोट होइन, विगतका संघर्षहरूले जगाएको चेतनाको निरन्तरता हो’


     रुद्रबहादुर विश्वकर्मा    
     भाद्र २९ गते २०८२ मा प्रकाशित




नेपालको राजनीतिक इतिहास निरन्तर सङ्घर्ष, बलिदान र परिवर्तनको इतिहास हो । यस मुलुकका जनताले आफ्नो अधिकार र स्वतन्त्रता सहजै पाएका होइनन्, बरु निरन्तरको आन्दोलन र क्रान्तिबाट प्राप्त गरेका हुन् । यस प्रक्रियामा विशेष गरि २०४६-४७ सालको जन आन्दोलन पछि दुई ठूला राजनीतिक संघर्षहरू जनयुद्ध ९२०५२-२०६२ र २०६२-६३ को ऐतिहासिक १९ दिने जनआन्दोलन निर्णायक चरणका रूपमा उभिएका छन् । यी दुवै सङ्घर्षहरूले नेपाली जनतालाई आफ्नो हैसियत, हक, अधिकार र सार्वभौमिकताको वास्तविक अर्थ बुझाइदिए । यसै चेतनाको जगमा आजसम्मका सबै आन्दोलन र परिवर्तन सम्भव भएका छन् । यही ऐतिहासिक चेतनाको निरन्तरतामा हालसालै देखिएको जिएन जि आन्दोलन पनि पर्दछ, जसले फेरि एकपटक जनतालाई आफ्नो आवाज बुलन्द गर्न बाध्य बनाएको छ।

जनयुद्धले नेपालको दुर्गम गाउँ/गाउँमा राजनीतिक चेतनाको बीउ रोप्यो। यसले राज्य केवल काठमाडौं, केन्द्रित सत्ताको संरचना मात्र होइन, सर्वसाधारण जनताको पनि अंग हो भन्ने बोध गरायो। विगतमा शोषण, जातीय, लैङ्गिक विभेद, भूमिहीनता र असमानताले दबिएका जनताले यस युद्धबाट पहिलो पटक आफ्नो आवाज बुलन्द गर्न सके । दलित, महिला, मधेसी, जनजाति लगायतका समुदायले समान अधिकारका मागलाई क्रान्तिको स्वरमा बदल्न थाले , यसैले गर्दा राज्यले लामो समयदेखि बेवास्ता गरेका प्रश्नहरू, सामाजिक न्याय, समान प्रतिनिधित्व र आर्थिक समानता , जनअधिकारका अनिवार्य एजेन्डा बने ।

तर यो चेतना केवल युद्धमै सीमित रहेन । जनयुद्धले दिएको बलिदानलाई वैधानिक स्वरूप दिने काम भने २०६२-६३ को ऐतिहासिक १९ दिने जनआन्दोलनले गर्‍यो। यो आन्दोलनमा लाखौँ जनताको सहभागिताले स्पष्ट गर्‍यो कि नेपाली जनता अब अधिनायकवाद र दमनकारी शासन स्वीकार्न तयार छैनन् यही आन्दोलनले राजतन्त्रको अन्त्यतर्फ ढोका खोल्यो, गणतन्त्रको मार्ग प्रशस्त गर्‍यो र संविधानसभा मार्फत आफ्नै संविधान लेख्ने जनअधिकार सुनिश्चित गर्‍यो । सार्वभौमसत्ता जनतामा निहित हुन्छ भन्ने आदर्श, यस आन्दोलनपछि मात्र व्यवहारमा लागू हुन सक्यो ।

यी दुवै ऐतिहासिक सङ्घर्षहरूको परिणाम स्वरूप नेपालले आमूल परिवर्तन अनुभव गर्‍यो । संघीय लोकतान्त्रिक गणतन्त्र आज केवल राजनीतिक नारा होइन, संविधानले संस्थागत गरेको व्यवस्था बनेको छ । लामो समयसम्म राज्यबाट वञ्चित गरिएका वर्ग र समुदायले समानुपातिक प्रतिनिधित्व पाए । अब जनता केवल शासनका प्रजा होइनन् बरु शासनका वास्तविक मालिक हुन् भन्ने भावनाले स्थायी रूप पाएको छ । लोकतन्त्रलाई केवल व्यवस्था होइन, जीवन शैलीका रूपमा आत्मसात गर्ने आधार यहीँबाट सिर्जना भएको छ।

यही ऐतिहासिक यात्रामा हालसालैको जिएन जि आन्दोलनलाई पनि जोडेर बुझ्न आवश्यक छ। यो आन्दोलन कुनै आकस्मिक विस्फोट होइन, बरु विगतका संघर्षहरूले जगाएको चेतनाको निरन्तरता हो । नयाँ पुस्ताका युवाहरूले शासनमा पारदर्शिता, जवाफदेहिता र स्थिरता माग्दै सडकमा उपस्थित हुनु, लोकतान्त्रिक चेतनाको नैसर्गिक विकास हो । जनयुद्धले उठाएको न्याय र समानताको सवाल, १९ दिने आन्दोलनले संस्थागत गरेको लोकतान्त्रिक अधिकार, र आजको जिएन जि आन्दोलनले देखाएको सुशासन र जवाफदेहिताको माग, यी सबै एउटै ऐतिहासिक धारा हुन् । यस आन्दोलनले फेरि एकपटक पुष्टि गरेको छ कि नेपाली जनता कुनै पनि अन्याय, दमन वा गैरजिम्मेवार शासकलाई लामो समयसम्म स्वीकार्न तयार छैनन् ।

यद्यपि, यी सबै सङ्घर्षहरूको वास्तविक मूल्य र अर्थ बुझ्दा एउटा महत्वपूर्ण पक्षलाई कहिल्यै बिर्सनु हुँदैन हरेक आन्दोलनमा भएका सहिद, घाइते र अपांग योद्धाहरू । प्रत्येक युद्ध वा आन्दोलनमा प्राण गुमाउने सहिदहरू आफ्नो अंग गुमाएर अपांग भएका वा जीवनभर पीडा बोकेर बाँचिरहेका घाइतेहरू पनि समान रूपले राष्ट्रका आधारस्तम्भ हुन् । सहिदले आफ्नो जीवन राष्ट्रलाई अर्पण गरे भने घाइते र अपांगहरूले आफ्नो शरीरको अंश राष्ट्रलाई समर्पण गरेका छन् । दुवैको योगदान बराबर छ, दुवैको बलिदानलाई एउटै दृष्टिले सम्मान गर्नुपर्छ । यदि सहिद राष्ट्रका अमर दीप हुन् भने घाइते र अपांगहरू त्यही दीपको निरन्तर उज्यालो बोकेका जीवित स्मारक हुन् त्यसैले परिवर्तनको कथा लेख्दा वा उपलब्धिहरू गन्दै गर्दा उनीहरूलाई छुट्याएर होइन, एउटै सम्मानका साथ स्मरण गर्नुपर्ने हुन्छ ।

यसरी हेर्दा, नेपालमा आज सम्भव भएको आम परिवर्तन केवल एउटा आन्दोलनको उपलब्धि होइन । यो दशकौँदेखि निरन्तर चलेका सङ्घर्ष, बलिदान र चेतनाको सम्मिलित परिणाम हो। जनयुद्धले चेतना जगायो १९ दिने आन्दोलनले त्यसलाई वैधानिकता र संस्थागत स्वरूप दियो । जिएन जि आन्दोलनले सोही चेतनालाई नयाँ पुस्ताको आवाजसहित थप उचाइमा पुर्‍यायो र यी सबैमा सहिद, घाइते तथा अपांग योद्धाहरूको योगदान अमूल्य रह्यो।

अन्तमा ,नेपाली जनतालाई आज प्राप्त भएको लोकतान्त्रिक उपलब्धि गणतन्त्र समान प्रतिनिधित्व र स्वतन्त्रताको अधिकार कुनै दान होइन बरु आफ्नै बलिदान र सङ्घर्षको परिणाम हो । यस चेतनाले अब कुनै पनि अधिनायकवाद वा भ्रष्ट शासनलाई लामो समयसम्म टिक्न दिने छैन ।नेपाली जनता आफ्नो बलिदान, संघर्ष र उन्नत चेतनाबाट भविष्यको बाटो आफैं निर्माण गर्ने क्षमतामा पुगेका छन् र त्यस यात्रामा सहिद, घाइते र अपांग योद्धाहरू सधैं इतिहासका अमर गवाहीका रूपमा रहनेछन् । आज यसैको परिणाम स्वरुप नेपालले पहिलो महिला प्रधानमन्त्रि समेत प्राप्त गरेको छ । नेपालमा राजनितिकदलहरु प्रतिको जनताले हेर्ने दृष्टिकोण धेरैनै फरक भएको छ जो सबै गलत हुन भन्ने मनोविज्ञान छ । त्यसैले अन्तिममा के छ भने यि सबै गतल हुन् त ? छन त ? यिनिहरु सबैको छानविन गरि गलत लाई कार्बाहिको भागेदर बनाई सजाय दिनु पर्छ । तर हजारौ ईमान्दार कार्यकर्ताहरुलाई र हजारौ साहसी जिएन जि समुहका नेता हरुलाई एउटै तराजुमा जोख्नु पनि गलत छ । विद्रोह आफैमा एउटा भयंकर रुपहो । यसबाट स्वभाविक रुपमा क्षति वा विनास भएकै हुन्छ । विनास बाट विकास र निकासको बाटो तय हुन्छ ।

लेखक नेकपा माओवादी केन्द्रका युवा नेता हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।