
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज तिहार अन्तर्गत कुनै कर्म नरहेको जनाएको छ ।
विशेषगरी यमपञ्चक पाँच दिनको हुने भए पनि यस वर्ष तिथिको घटबढले एक दिन बढेर छ दिन भएकाले शास्त्र अनुसार आज कुनै कर्म नभएको बताईएको छ । जस अनुसार गएको एक गते शनिवार त्रयोदशी तिथिमा धनतेरस पर्व मनाइएको छ । तर त्रयोदशी तिथिमै गरिने कागपूजा भने आइतवार गरियो । त्यसैगरी हिजो सोमवार बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा गरिएको छ ।घरका साथै व्यापारिक प्रतिष्ठानमा विधिपूर्वक लक्ष्मीपूजा गरिएको हो् । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकासहित प्रमुख सहर उज्यालोले झिलिमिलि बनेको छ ।
उज्यालोले घरबाहिरको वातावरण उल्लासमय बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी चहलपहल तिहारमा देखिएको छ । यसैले लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर पर्ने चार प्रमुख रात्रिमध्ये यो पनि एक रात्रि हो । परम्परा अनुसार कतै कतै औँसीमा गाईको पूजा गर्ने चलन समेत छ ।
शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिए । त्यसअनुसार आज मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म नपरेको उनको भनाइ छ । यसवर्ष गाईगोरु एवम् गोवद्र्धन पूजा भोलि बुधवार परेको छ । आत्म पूजा र नेपाल संवत्को आरम्भ पनि यसै दिन परेको समितिले जनाएको छ ।
पर्सि कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ । भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।