पोखरामा फूलको थुंगा र मालाको मूल्यमा मनपरी : महानगरले तोकेको भन्दा दोब्बर


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक ४

पोखरामा फुलको थुंगा र मालाको मूल्य व्यवसायीले मनपरी लिएका छन् । पोखरा महानगरपालिकाले फुलको थुंगा र मालाको मूल्य तोके पनि अनुगमन नहुँदा व्यवसायीले मनपरी मूल्य लिइरहेका हुन् ।

पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाको मात्रै होईन फूलको केजीको मूल्य पनि तोकेको छ । महानगरले यस वर्षको तिहारका लागि फूलको थुंगाको मूल्य ३ फरक दर कायम गरेको छ । जसमा १५ देखि २० ग्रामसम्मको फूलको थुंगाको मूल्य प्रति थुंगा ५ रुपैयाँ, १० देखि १५ ग्राम सम्मको थुंगालाई ४ रुपैयाँ र ५ देखि १० ग्रामसम्मको थुंगालाई २ रुपैयाँ तोकिएको छ । तर बजारमा फूलको अभाव देखाएर बिचौलियाले १५ देखि २० ग्रामसम्मको थुंगालाई ७÷८ रुपैयाँसम्म, १० देखि १५ ग्रामसम्मको थुंगालाई ५–६ रुपैयाँसम्म र ५ देखि १० ग्रामसम्मको थुंगालाई ४–५ रुपैयाँसम्म लिइरहेका छन् ।

त्यस्तै, महानगरले सयपत्री मालाको मूल्यमा पनि ३ फरक दर कायम गरेको छ । महानगरले ठूलो थुंगाको मालाको मूल्य १५०, मध्यम खालको थुंगाको मालाको मूल्य १३० र सानो आकारको थुंगाकोे मालाको मूल्य १०० रुपैयाँ तोकेको हो । तर बजारमा फूलको अभाव देखाउँदै एउटै मालाको मूल्य ८ सय रुपैयाँसम्म लिइरहेका छन् । सानो मालाको मूल्य ४–५ सय देखि ठूलो मालाको मूल्य ८ सय रुपैयाँसम्ममा बिचौलियाले माला बिक्री गरिरहेको पाइएको फ्लोरीकल्चर एशोसियसन कास्कीका अध्यक्ष रामप्रसाद सुवेदीले बताए ।

यसैगरी, महानगरले केजीमा खरिद बिक्रीका लागि पनि फूलको मूल्य प्रतिकेजी ३ सय देखि ४ सय रुपैयाँ तोकेको छ । तर पोखरामा फूल प्रति केजी ७ सय देखि ८ सय रुपैयाँ सम्ममा बिक्री भइरहेको छ । जसका कारण उपभोक्ता मारमा परेका छन् ।

पोखरामा हरेक वर्ष बिचौलियाले फूलको अभाव देखाएर तिहारमा फूलको मूल्यमा भारी बृद्दि गर्ने गरेको छ । त्यसले यस वर्ष पनि निरन्तरता पाउँदा पोखरा महानगरपालिका मुकदर्शक बनेर बसेको छ । पोखरामा यस वर्ष फूल राम्रै उत्पादन भएको एशोसियसनका अध्यक्ष सुवेदीको दाबी छ । जसले गर्दा पोखरामा फूलको माग अनुसार आपुर्ती हुने अनुमान गरिएको थियो । तर बिचौलियाले किसानको बारीमै गएर फूल खरिद गर्दै महानगरले तोकेको रैथाने बजारमा लैजानबाट रोकेकाले फूलको मूल्यमा उच्च बृद्दि भएको देखिएको छ । यतिसम्म कि महानगरले सयपत्री फूलको बिक्री केन्द्र तोकिएका विभिन्न १५ स्थानमध्ये एकाध स्थानबाहेक अन्य केन्द्रमा किसानले फूल बिक्री गर्न लग्दै लगेनन् । पोखरा–१३ र पोखरा–१७ मा स्थानियले नै उत्पादन गरेकाले बिक्री केन्द्रमा लगेको तर श्रीकम्प्लेक्सलगायतका केन्द्रहरुमा भने किसानले फूल नलगेको पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

पोखराको फूल काठमाडौं लगेर महंगोमा बेच्नेहरु र बजार कब्जा गरेर अभाव सिर्जना गर्ने र महंगोमा बेच्न पल्केकाहरुले अहिले फूलको मूल्य बढाएको पाइएको अध्यक्ष सुवेदीको भनाई छ । महानगरको अनुगमन जाँदा फूलको उत्पादन राम्रै भएको र पोखराको माग अनुसार फूलको आपूर्ती हुने देखिएको थियो,उनले भने,‘तर पोखराको फूल काठमाडौं धेरै नै गएको देखियो, अनि कृतिम अभाव सिर्जना गरेर मूल्य बढाएको पनि पाइयो ।’

पोखरालाई फूलमा आत्मनिर्भर बनाउन पोखरा महानगरपालिकाले फूलमा अनुदान दिने गरेको छ । महानगरले बिउ र मल्चिङमा अनुदान दिनुका साथै फूल बिक्री नभएमा न्यूनतम समर्थन मूल्यसमेत दिने गरेको छ । जसले गर्दा किसानको लागत घट्ने मात्र होईन, उत्पादन खेर जाने अवस्थामा लागत मूल्य पाउने ज्ञारेन्टी पनि भएको छ । तर महानगरले दिएको अनुदानमा उत्पादन भएको फूल बिचौलियाले खरिद गरेर महानगरले तोकेको फूलको मूल्यलाई नै धज्जी उडाउँदै उपभोक्ता मारमा पर्नेगरी बिक्री भइरहँदा महानगरले अनुगमन गर्न सकेको छैन ।

पोखरा महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख मनहर कडरिया बिचौलियाका कारण फूलको मूल्यमा गरिएको दररेट लागु गर्न नसकिएको बताउँछन् । हामीले किसानले पनि मूल्य पाओस् र उपभोक्ता पनि मारमा नपरोस् भनेर मूल्य तोकेका हौं,उनले भने,‘तर बिचौलिया हाबी हुँदा तोकिएको मूल्य बजारमा लागु गर्न सकिएन । यद्वपी किसानले भने महानगरले तोकेको मूल्य पाएका छन् ।’ महानगरले किसानको संरक्षण गर्न खोजेकाले एक हदसम्म यो सफल भएको उनको तर्क छ ।

पोखरामा आजदेखि चितवन, धादिङलगायतका ठाउँबाट फूल आयात भएमात्रै यहाँ फूलको मूल्य घट्ने अध्यक्ष सुवेदीले बताए । अन्यथा झन् मूल्य बढ्ने उनको अनुमान छ । हामीले त महानगरले तोकेकै मूल्यमा बेचिरहेका छौं,उनले भने,‘हामीलाई अनुदान पनि दिइएको छैन, तै पनि महानगरले तोकेको अनुसार नै फूल बेचिरहेका छौं । तर अनुदान दिएका किसानलाई महानगरले तोकिएका ठाउँमा ल्याएर बेच्न लगाउन सकेन । बिचौलिया नियन्त्रण गर्न नसक्दा यस्तो अवस्था आएको हो ।’

पोखरामा तिहारान करीब तीन करोड रुपैयाँ बराबरको फूल खपत हुने गरेको छ । पोखरा र लेखनाथसहित नजिकका क्षेत्रहरुमा झण्डै साढे दुई लाख फूल खपत हुने गरेको र त्यसमा करीब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने भएको हो ।

तिहारका लागि पोखरामा आवश्यक फूल स्थानिय उत्पादनले धान्छ । स्थानिय उत्पादनले धान्ने फूलको बजार पोखरा एक्लैले भने धान्दैन । यहाँ खपत हुने फुल धादिङ, गोरखा, लमजुङ, तनहुँलगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको अध्यक्ष सुवेदीले जानकारी दिए । उनका अनुसार पोखरामा खपत हुने फुल मध्ये ८० प्रतिशत फूल स्थानिय पोखराका व्यवसायी र किसानले गरेको उत्पादनले धान्छ । त्यसबाहेक बाँकी २० प्रतिशत फूल छिमेकी जिल्लाबाट आउँछ ।

७० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी ३० प्रतिशत पुष्प ब्यबसायीले उत्पादन गर्नेगरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।