
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका छन् ।
सुर्खेतमा आज आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औँ पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा उनले चुनावका लागि बन्नुपर्ने सबै वातावरण बने पार्टी चुनावमा जान तयार रहेको बताएका हुन् । हालसम्म सरकारले चुनाव गराउने भरपर्दो कामहरू भने नगरेको कावा सभापति खड्काको भनाइ थियो । सरकारले चुनाव गराउने हो भने पवित्र उद्देश्यसहित ‘जेनजी’ ले गरेको प्रदर्शनमा घुसपैठ गरेर लुटिएका हतियारहरू फिर्ता, प्रहरी र सुरक्षा निकायको मनोबल बढाउनुपर्नेमा जोड दिँदै उनले चुनावमा भाग लिने दलहरूलाई विश्वासमा लिइ आममतदातामा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने सुझाव दिए ।
कावा सभापति खड्काले सरकार चुनावको वातावरण बनाउन छोडेर पार्टीका नेताहरूमाथि पूर्वाग्रही तरिकाले लाञ्छना लगाउने, भ्रम सृजना गर्ने र अन्योललाई बढाउने काममा लागेको आरोप लगाए । उनले भने,“हामी कुनै पनि खालको कानुनी प्रक्रियाबाट हुने छानबिन अनुसन्धानहरूमा खुल्ला छौँ, तर सरकारमा रहेका जिम्मेवार व्यक्तिबाट भ्रम सृजना गर्ने, अनेक लाञ्छना लगाउनेलगायतका कार्यहरू भइरहेको छन् । यसतर्फ म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”
कावा सभापति खड्काले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकले चुनाव, पार्टीको अधिवेशन, वर्तमान परिस्थितिबारे उपयुक्त निर्णय गर्ने उल्लेख गरे । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।