साहित्यकार पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ स्मृतिग्रन्थ पोखरामा लोकार्पण


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

साहित्यकार तोयनाथ पौडेलद्वारा लिखित ‘१४ वर्ष घान्द्रुक’ नामक स्मृतिग्रन्थको पोखरामा लोकार्पण गरिएको छ ।

घान्द्रुक समाज युके, घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज जापानको संयुक्त प्रकाशनमा तयार गरिएको यो ग्रन्थ घान्द्रुकमा लेखकले बिताएका जीवनका महत्वपूर्ण १४ वर्षको जीवित दस्तावेजका रूपमा प्रस्तुत गरिएको छ ।पुस्तकको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, अन्नपूर्ण गाउँपालिका वडा नं। १० का अध्यक्ष गौतम गुरुङ, संरक्षणविद् डा। हुम गुरुङ, मेश्रम वराह माविका सहायक प्रधानाध्यापक सुभ गुरुङ, पूर्व वडाध्यक्ष कुमार गुरुङ, शिक्षसेवी कृष्ण पौडेल, लेखकका धर्मपत्नी गोमादेवी पौडेलले पुस्तकको लोर्कापण गरे ।

कार्यक्रममा पूर्वविद्यार्थी भुवन सिं गुरुङ, पर्यटन व्यवसायी तथा पूर्वविद्यार्थी कृष्ण गुरुङ, पूर्वविद्यार्थी एवं एक्याप घान्द्रुक इलाका कार्यालयका पूर्वप्रमुख जगनसुवा गुरुङ, पूर्वविद्यार्थी एवम् शिक्षक पूर्ण प्रसाद गुरुङ लगायतका वक्ताहरूले पुस्तकका विभिन्न पक्षबारे धारणा राखेका थिए । वक्ताहरूले पुस्तकले केवल लेखकका व्यक्तिगत अनुभव मात्र नभई तत्कालीन घान्द्रुकको राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक पृष्ठभूमिलाई पनि यथार्थपरक रूपमा उजागर गरेको बताएका थिए । पुस्तकले घान्द्रुकमा उनले बिताएका दिनहरूका तीता–मीठा स्मृतिहरू, विद्यार्थी जीवनका प्रसंगहरू, सहकर्मीहरूसँगको अनुभव र स्थानीय समाजसँगको सम्बन्धलाई समेटेको छ ।यसअघि सो पुस्तक बेलायतमा पनि लोर्कापण गरिएको थियो ।

वि।सं। २००० साल साउन २५ गते कास्कीको साविकको लामाचौर गाविस घार्मीमा पिता छविलाल पौडेल र माता यशोधा पौडेलको कोखबाट जन्मिएका लेखक पौडेलले वि।सं। २०२३ सालमा शिक्षण पेशा प्रारम्भ गरी २०५७ साल असोजमा अवकाश लिएका थिए । करिब ३४ वर्षभन्दा बढी शिक्षण जीवन बिताएका उनले तीमध्ये १४ वर्ष मेश्रम वराह माध्यमिक विद्यालय, घान्द्रुकमा अध्यापन गरेका थिए । यही कालखण्डमा उनले विद्यालय, समुदाय र पर्यटन गाउँ घान्द्रुकमा भोगेका अनुभवहरूलाई पुस्तकमा आत्मीय ढंगले अभिव्यक्त गरेका छन् । वक्ताहरूका अनुसार पुस्तक घान्द्रुकको ऐतिहासिक र सांस्कृतिक अध्ययनका लागि सन्दर्भ सामग्रीका रूपमा उपयोगी हुने अपेक्षा गरिएको छ । संरक्षणविद् डा। गुरुङले भने, “यो ग्रन्थले शिक्षक पौडेलको निजी जीवन मात्र होइन, घान्द्रुकको सामुदायिक विकास र शिक्षण–संस्कारको यात्राको चित्रण गरेको छ,” भन्दै यसलाई भावी पुस्ताका लागि प्रेरणादायी कृति भएको टिप्पणी गरे । घान्द्रक सहित घार्मीको शैक्षिक तथा सामाजिक विषयमा उल्लेखनिय भुमिका निभाएका पौडेलको सक्रियतामा एमाजी कल्चरल फाउण्डेसन जापानको सहयोगमा महेन्द्र माविको स्थापना गरेका हुन् ।

यसअघि पौडेलको “जीवन र संघर्ष”नामक आत्मकथात्मक कृति २०६८,सम्झौता उपन्यास २०७१,कालीगण्डकी देखि क्यानडासम्म, चेतनामृत लगायतका प्रकाशित भइसकेको छ । विभिन्न पत्रपत्रिकामा उनका लेख, कथा र कविताहरू पनि प्रकाशित हुँदै आएका छन् ।उनका अप्रकाशित कृतिमा महाभारतको सात संक्षेप कृति २ रहेको छ। ‘१४ वर्ष घान्द्रुक’ पुस्तकले उनका पूर्व रचनाहरूमध्ये सबैभन्दा स्मरणीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण योगदानको रूपमा दरिलो स्थान ओगट्ने अपेक्षा गरिएको छ । हाल काठमाडौंमा बसोबास गर्दै आएका लेखक पौडेलले धार्मिक कृति लेखनमा विशेष रूचि राख्छन्। लामो समयसम्म लेखन कार्यमा क्रियाशील पौडेल जिल्ला शिक्षा समिति कास्कीबाट राष्ट्रिय शिक्षा सम्मान, मेश्रम बराह मावि घान्द्रुक र महेन्द्र मावि घार्मीबाट शिक्षा सम्मान, जोर्ज जोन शिक्षा प्रतिष्ठान पोखरा र काठमाडौंका विभिन्न संघ संस्थाबाट सम्मानित भएका छन्।

विभिन्न देशको कला, संस्कृतिमा चासो राख्ने पौडेलले जापान, चीन, हङकङ, भारत, थाइल्याण्ड, क्यानडा र यहाँका ५० बढी जिल्लाको भम्रण गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।