आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ,नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक होः प्रधानमन्त्री कार्की


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०८२ मा प्रकाशित




नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराएका थिए । नेपाल सम्वत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल सम्वत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल सम्वत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गरिन्छ ।गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपालीहरुको गौरव, सभ्यता र पहिचानको प्रतीक भएको बताएकी छिन् ।नेपाल संवत् ११४६ तथा नयाँ वर्षका अवसरमा नेपाल भाषा मङ्का खलः यलको संयोजन, ललितपुर महानगरपालिकाको सहयोग तथा पाटनका विभिन्न जातीय समाजको सहकार्यमा आज पाटन मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नेपाल भाषाको संरक्षण र प्रवद्धर्नमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

आजभन्दा ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाले गरिबी र ऋणमा डुबेका नागरिकको ऋणमोचन गरी उनीहरूलाई मुक्त गुर्नभएको ऐतिहासिक दिन नै ‘नेपाल संवत्’को शुभारम्भको आधार भएको उनले बताईन् । शङ्खधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिलोस् भन्दै प्रधानमन्त्री कार्कीले आजदेखि सुरु भएको ‘नयाँ वर्ष’ले हामी सबैको जीवनमा सुख, शान्ति, सामाजिक सद्भाव र प्रगतिको नयाँ आयाम थप्न सकोस् भन्ने कामना गरिन् ।

गत भदौ २३ र २४ गते ‘जेन जेड’ समूहले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा कलिला युवाहरुको अनाहकमा ज्यान गएको र सयौँको सङ्ख्यामा घाइते भएको घटनाले आफू अत्यन्त दुःखी भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “उक्त आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।”

“जेन जेड आन्दोलनको बलमा बनेको यस नागरिक सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने जिम्मेवारी प्राप्त गरेको यहाँहरुलाई विदितै छ, यस सरकारसँग नेपालको संविधानको अधिनमा रही जेन जेड आन्दोलनको सुशासनको आवाजलाई सम्बोधन गर्नुपर्ने दायित्व रहेको छ । यसका लागि समाजका सबै तह, तप्का र वर्ग समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहाकार्य गरौँ र सचेत नागरिकको भूमिका निर्वाह गरौँ ।” उनले भनिन ।

उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको रक्षा गर्न आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढङ्गले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री कार्कीले सम्पूर्ण नेपालीको सहभागितासहित स्वतन्त्र, निष्पक्ष एवं भयसहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अभियानमा सम्पूर्ण राजनीति दल, वर्ग, समूहको साथ, सहयोग प्राप्त हुने विश्वास व्यक्त गन्रि ।

विभिन्न जातीय समुदायको तर्फबाट उपत्यकाको ललितपुर भक्तपुर र काठमाडौँमा विशेष कार्यक्रम गरी हर्षोल्लासका साथ आज नेपाल संवत् मनाइँदै छ । यसैगरी विशेषगरी नेवार समुदायको बसोबास भएका देशका विभिन्न गाउँ, सहर, बजारमा समेत ‘नेपाल संवत्’ उल्लसमय वातावरणका बीच मनाईंदै छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।