
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
जेनेभामा जारी अन्तरव्यवस्थापिका सङ्घको १५१औँ महासभामा सहभागी हुनका लागि जेनेभामा रहेका उनले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।महासभामा सहभागी हुन पुगेका संयुक्त अधिराज्य ९बेलायत०, जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधिमण्डलसँग आज छुट्टाछुट्टै भेटवार्ता भएको अध्यक्ष दाहालका प्रेस विज्ञ दिल्ली मल्लले जानकारी दिए ।
आइपियूको एसिया प्यासिफिक ग्रुपको अध्यक्षसमेत रहेका चिनियाँ नेता छुइजीङ टिएन नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधिमण्डल, फाबिन हमिलटोन नेतृत्वको बेलायती संसदीय प्रतिनिधिमण्डल र सुनिल वाटगला नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो । सबै भेटमा राष्ट्रबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तरराष्ट्रिय मञ्चमा सहकार्य र सहयोगलगायत विषयमा छलफल भएको दाहालका प्रेस विज्ञ मल्लले बताए ।
अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी प्रदर्शन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताए । प्रदर्शनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्रराष्ट्रको साथ र सहयोगका लागि अध्यक्ष दाहालले आग्रह गरे ।
भेटमा उनले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको असरहरू उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिए। रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।