कोरोना महामारी र पर्यटन व्यवसायीको ब्यथा


     प्राडा भरतराज पहारी    
     कार्तिक ५ गते २०७७ मा प्रकाशित




१. प्रस्थान विन्दुः

कोरोना महामारीको प्रभाव विश्वभरी आतंकको रुपमा देखिन थालेको छ। करिब दश महिनाको अवधिमा विश्वमा कहिल्यै नभएको पूर्ण बन्दाबन्दीको अवस्था कोरोनाले सृजना ग¥यो । तथ्यांकमा २०२०, नोभेम्बरको १५ तारिखका दिनसम्म विश्वमा ३ करोड ८७ लाख, ८९ हजार ६ सय १३ मानिसहरु कोरोनाबाट संक्रमित भएका छन्। त्यस्तै, १० लाख, ९७ हजार ५ सय ६७ मानिसहरुको मृत्यु भएको छ।

यही मितिमा नेपालमा १ लाख, १७ हजार, ९ सय ९६ जना संक्रमित भएका छन्। त्यस्तै, यहाँ ६ सय ७५ जनाको मृत्यु भएको छ। यो संक्रमित तथा मृत्युको संख्या निरन्तर बढ्दो छ। कोरोनाको कहरले विश्व अर्थव्यवस्था गंभीर संकटबाट गुज्रिएको छ। यतिबेलाको आर्थिक अवस्थालाई विज्ञहरु सन् २००८ को आर्थिक मन्दीसँग तुलना गर्छन्। अहिलेको अवस्था २००८ भन्दा तिन गुणा बेसी भयावह भएको विज्ञहरुले बताएका छन्। यो महामारीबाट सबै भन्दा धेरै पर्यटन उद्योग प्रभावित बनेको छ। विश्व पर्यटन संगठनका अनुसार सन २०२० मा पर्यटन क्षेत्रको आय ६० देखि ८० प्रतिशतले घट्नेछ भने १० देखि १२ करोड रोजगारीका अवसरहरु जोखिममा परेका छन्।

नेपालको पर्यटन क्षेत्र यो महामारीबाट अत्याधिक प्रभावित भएको छ। यो क्षेत्रमा बिमान सेवा, होटल, रेष्टुरा, जिम, स्पा, क्यासिनो, ट्रेकिङ, ट्राभल एण्ड टुर्स, शाहसिक सेवाहरु, आदि मात्र होइन, पर्यटनसँग जोडिएका सेवाका क्षेत्रहरु तथा कृषि उत्पादनहरु, सबै अत्यधिक मारमा परेका छन्। व्यवसाय नै बन्द हुने अवस्थामा पुगेका छन्। नेपाल पर्यटन बोर्डकानुसार पर्यटन क्षेत्रमा साढे ४ लाख प्रत्यक्ष रोजगार, साढे ३ लाख मौसमी रोजगार र करिब ११ लाख मानिसहरु आश्रित अवस्थामा रहेका छन्। यो बाहेक करिब ५ हजार लाइसेन्स प्राप्त गाइडहरु अहिले बेरोजगार बनेका छन्।

यो महामारीले प्रायः सबै होटल, रेष्टुरालगायत पर्यटन क्षेत्रका सबै संस्थाहरुमा कार्यरत कामदारहरुको रोजगारी गएको छ। ठूला र पुराना होटलहरुले आफ्ना कर्मचारीहरुको तलबमा केही गुजारा हुनेगरी व्यवस्था गरेका छन्। नयाँ होटलहरुलाई कर्जा र व्याजले सताएको छ। साना तथा मध्यमस्तरका होटलहरु अधिकांश भाडामा रहेका र यतिबेला भाडा तिर्न नसकेको कारणले व्यवसाय छोड्नुपर्ने अवस्थामा पुगेका छन्। यतिका महिनासम्म आय नहुँदा र खर्चहरु यथावत भैरहदा धेरैले नयाँ व्यवसायको खोजीमा लागेको अवस्था देखिएको छ।

गण्डकी प्रदेश नेपालको पर्यटन क्षेत्रको केन्द्रको रुपमा स्थापित छ। पोखरा पर्यटकहरुको विशेष आकर्षणको केन्द्र हो। पोखरा उपत्यका यो महामारीको अबधिमा सुनसान रह्यो। प्रदेशको स्रोतकानुसार यस क्षेत्रमा रहेका करिव ७ सय होटलहरु, १ सय ५० रेष्टुराहरु, ६३ स्पाहरु, १ सय ५९ ट्रेकिङ एजेन्सीहरु, २ सय ३ ट्राभल एण्ड टुर्स एजेन्सीहरु, ८७ वटा पर्यटक बसलगायत करिब १८ हजार ६ सय पर्यटनसँग सम्बन्धित विभिन्न सानाठूला पसल तथा व्यवसायहरु बन्दको अवस्थामा रहे। विस्तारै जनजीवनले गति लिन थालिरहेको अबस्थामा पनि पर्यटनको हबको रुपमा रहेको लेकसाइड क्षेत्र अहिले सुनसान देखिएको छ। निराशा समाधान होइन, होटलहरु अब खुल्ने तरखरमा देखिएका छन्।
यस्तो अवस्थामा कोरोनाको महामारीबाट पिल्सिएका होटललगायत पर्यटन व्यवसायीहरुलाई राहत कसरी दिने तथा व्यवसायलाई धान्नका लागि के कस्तो व्यवस्था गर्ने भन्ने विषयमा छलफल गर्ने र विकल्पको खोजी गर्नु आवश्यक छ। यो लेखको प्रयत्न यही हो ।

क.पर्यटन व्यवसाय के हो?

सभ्यताको विकाससँगै मानिसहरु एक ठाँउबाट अर्को ठाँऊमा विचरण गर्ने गरेका हुन्। समयको एउटा कालखण्डमा आफूलाई अनुकूल लागेका ठाँऊमा मानव वस्तीहरु विकास हुँदै गए। यसैक्रममा मानिस आफ्नो वस्ती भएको ठाँऊको रैथाने भएर रहन थाल्यो। विज्ञान र प्रविधिको विकासले मान्छेको जीवन सहज र सरल हुन थाल्यो। एउटा ठाँऊमा वसोवास गर्दै आफ्नो पहिचान बनाएको मान्छेले अन्य क्षेत्रको अवलोकन तथा मन बहलाउनको लागि केही समय घुम्दै फुर्सदको समय बिताउँदै केही दिन, केही हप्ता र महिनाहरु भिन्न भिन्न ठाँऊहरुमा बिताएर आफ्नो बसोबासको ठाँऊमा फर्किन थाल्यो।

समयको क्रममा यो उपक्रमलाई पर्यटन भन्न थालियो। अहिलेको समयमा यस्तो घुमघामलाई उद्देश्यमूलक बनाउन थालिएको छ। कसैले मनोरञ्जनका लागि घुम्न थाले भने कोहीले व्यवसायको लागि घुम्न थाले। कोही भने सभा सम्मेलनको लागि भिन्न–भिन्न ठाँऊमा जान थाले। कसैले फुर्सदको समय फरक ठाऊमा विताउन रुचि गरे। यस्तो यात्रा तथा बसाइँको लागि जेजस्ता गतिविधिहरु गरिए, तिनिहरु पर्यटन क्षेत्रभित्र समेटिए। यस्तो अर्थ बोकेको पर्यटनले छोटो समयको लागि गरिएको यात्रा र विश्रामको समयमा गरिने गतिविधिहरु, आफ्ना आवश्यकताहरु परिपूर्ति गरिने विषयहरु, इच्छा र आकांक्षा पूरा गरिने कामहरु, आफ्नो शान्ति सुरक्षासँग जोडिएका कामहरु, सबै पर्यटन क्षेत्रको परिधिभित्र रहने बुझिने गरिएको छ ।

ख.कोरोनाको कहर

पर्यटन क्षेत्रको मूल मर्ममा नै कोरोनाको महामारीले बज्रपात ग¥यो। मानिसहरुको आवागमनलाई बन्द ग¥यो। विश्वनै बन्दाबन्दीको अवस्थामा रह्यो। मान्छेका सारा गतिबिधिहरु रोकिए या सीमित बने। मानिसहरुले आफ्ना दैनिक आवश्यकताहरु समेत घटाउन बाध्य भए। सबै ईच्छा आकांक्षाहरु मुर्झाए या प्रकट हुननै सकेनन्। सबैतिर डर र त्रास छायो। मानिसहरु यतिसम्म डराएकी, आफन्त या छिमेकीलाई कोरोना पोजिटिभ देखियो भन्ने सूचनामा व्यक्तिलाई घरमा या टोल छिमेकमा समेत बस्न नदिने गरी साह्रै असहिष्णु बने। नजाने आफैलाई पनि पोजिटिभ देखिने हो कि भन्ने शंकै शंकामा परिवारका सदस्यहरु पनि बोलचाल नगर्ने या दूरीमा बस्न थाले। कामको कुरा परै जाओस, घरमा सकभर कोही नआइदिए हुन्थ्यो भन्ने कामना गर्न थाले।

डरैडरमा, के गर्ने के नगर्ने भन्ने कुरामा ध्यानै जान छोड्यो। सोंच्ने काम रोकियो। मान्छेहरु निराश हुन थाले। आत्महत्या बढ्न थाल्यो। मानिसहरुमा उत्साह देखिन छाड्यो। सपनाहरु मुच्र्छित हुन थाले। कामका योजनाहरु बनेनन्। सृजना र निर्माणका कामहरु रोकिए। उत्साह र प्रगतिका कामहरु भएनन्। जीवन कसरी धान्नेहो भन्न ेकुरामा सीमित हुन थाल्यो। विकासको गति रोकियो।

विज्ञान र प्रविधिले मानिसहरुमा समृद्धि र सुखमय जीवनको सपना देखाउदै गयो। स्रोतहरु परिचालन हुँदै गए। उत्पादन प्रक्रियाहरुले गति लिए। सेवाका क्षेत्रहरु जीवन्त बने। उत्पादनहरु उपभोक्ताहरुसम्म बितरण हुन थाले। प्रविधिले एकपछि अर्को गरी गति लिन थाल्यो। उच्चस्तरको सीप र दक्षताबाट मानव श्रमको उत्पादकत्व बढ्दै गयो। कोरोनाको महामारीले यी सबै कुराहरु सिथिल हुदै जान थाले। उत्पादनको शिलशिला नै रोकियो। विश्व अर्थ व्यवस्थामा अनपेक्षित मन्दी देखिन थाल्यो।

कोरोनाले विश्वभरी मानिसहरुलाई आर्थिक दुश्चक्रमा फसायो। उत्पादित सेवा र वस्तुहरुको बिक्रि ह्रास हुदै गयो। यो क्रम बढ्दै जाँदा अधिकांश वस्तुहरु बिक्रि हुनै छाडे। सामानहरु बिक्रि नभएपछि बिस्तारै उत्पादन घट्दै आखिरमा बन्द हुन थाले। यस्तो अवस्था हुन थालेपछि सबै उद्योग तथा व्यवसायहरुमा रोजगारी कटौती हुन थाल्यो। उत्पादन र बिक्रि नभएपछि स्वभाविक हिसावले आम्दानी घट्दै व्यवसायहरु घाटामा जान थाले। धेरै उद्योग व्यवसायहरुको ऋण बढ्दै गयो। केही उद्योग–व्यवसायहरु बन्द हुन थाले।

यो दुश्चक्रले पर्यटन क्षेत्रलाई नराम्रोसँग गाँजेको छ। थुप्रै होटलहरु, रेष्टुराहरु, स्पाहरु, ट्रेकिङ एजेन्सीहरु, ट्राभल एण्ड टुर्स एजेन्सीलगायत विभिन्न पसलहरु धान्न नसकेर बिक्रिमा गएका छन्। राम्रो व्यवसाय गरिरहेकाहरु कोरोनाको कहरले भुँइमा झरेको अवस्था अहिले छ।

पर्यटन व्यवसाय मानिसमा निर्भर हुने हुँदा मान्छेको आवागमन रोकिएपछि व्यवसाय नै ठप्प हुन गयो। कारोवारनै नभएपछि आम्दानी हुने कुरै भएन। अरु व्यवसाय भन्दा होटल तथा रेष्टुरामा लगानी धेरै हुने नै भयो। यहाँको लगानीको प्रतिफल हरायो। यति लामो बन्दाबन्दीले कसैसँग भएको संचित पूँजी पनि सकिदैँ गयो। आम्दानी नहुँदा ऋणको ब्याज बढ्दै गयो। ब्याजको पनि स्याज लाग्न थाल्यो। ब्याज र स्याज पूँजीकृत हुदै गयो। ऋणको कहर थपियो।
व्यवसाय गर्दा लगानी हुनैपर्छ। जोखिम लिनै पर्छ। यो आर्थिक नियम नै हो। उद्योग तथा व्यवसाय गर्ने मान्छेले पैसा भएर मात्र व्यवसाय संचालन गर्न सक्दैन। उसँग सीप ज्ञान र क्षमतासमेत हुनु जरुरी हुन्छ। त्यस्तो क्षमता भएका मानिसहरुले बैंक तथा बित्तीय संस्थाहरुबाट ऋण कर्जा लिनु स्वभाविक हो। बैंकहरुले त्यस्तो ऋण कर्जाको सुरक्षा सोंच्नु अन्यथा होइन। यस्तो ऋण कर्जाको सुरक्षा स्वरुप राखिएको धितो यतिबेला समस्याको विषय बनेको छ।

पोखरामा विद्यमान भवन निर्माण र सम्पत्ति मुल्यांकन विधि अव्यवहारिक भैदिदा त्यस्तो धितोको उचित मुल्यांकन हुन सकेको छैन। धितोको अवमुल्यांकनले गर्दा थोरै ऋणमा धेरै धितो रहने गरेको छ। अहिलेको कोरोना महामारीमा विद्यमान धितोबाट थप ऋण लिन नसकिने र लिएको ऋण भुक्तान गर्न नसक्दा खराब कर्जामा परिणत हुने अवस्था सृजना भएको छ। कोरोनाको संकटको अवधिमा धितोको वास्तविक मुल्यांकनअनुसार बैंकहरुले थप ऋण नदिने र व्यवसायीहरु पासोमा पर्दै जाने अवस्था सृजना भएको छ।

ग.निकास के हो?

कोरोना भाइरस अहिले सबैको टाउको दुखाई बएको छ। सर्वसाधारणदेखि सबै पेशा व्यवसायमा यसले संकट निम्त्याएको छ। पर्यटन क्षेत्रका उद्योग व्यवसायीहरु सा¥है धेरै प्रभावित बनेका छन्। उद्योग र व्यवसायबाट मुनाफाको अपेक्षा गरिने हुँदा स्वभाविक रुपमा जोखिम लिनु पर्दछ। प्राकृतिक प्रकोपदेखि अन्य विभिन्न खालका संकटहरु व्यवसाय संचालनको क्रममा आउने गर्छन्। तिनिहरुलाई झेल्दै उद्योग व्यवसायीहरु चलिरहेका हुन्छन्। श्रमजीवीहरु जीवन धानिरहेका हुन्छन्। तर, यतिबेला कोरोना महामारीले सबैको दैनिक जीवनलाई बेस्सरी हल्लाइदियो। त्यसैले, निकासको कुरा उठेको हो।

समाजमा सबैको लक्ष विकास नै हो। विकास भनेको मुलुकको समृद्धि र जनताले सुख प्राप्त गरेको अवस्था हो। सर्वसाधारणले आफ्ना ईच्छा र चाहनाहरु पूरा भएको अवस्थामा उनीहरु सुखी हुन्छन्। त्यसैले, राजनीतिको अन्तिम लक्ष विकास नै हो। विकास भनेको व्यापक उत्पादन कार्य संचालन गर्दै उत्पादिन वस्तु र सेवाहरुलाई जनताको पहुँचमा पु¥याइ उनीहरुको जीवन सरल सहज र सुखमय बनाउने कुरा हो। सरकारले गर्ने काम यही हो। यस्ता उत्पादन कार्यहरुलाई अनुकूलता सृजना गर्ने, प्रतिकूलताहरुबाट संरक्षण गर्ने र तोकिए बमोजिमको गुणस्तर कायम गर्न अनुगमन र नियमन गर्ने काम सरकारको हुनुपर्दछ।

यस्तो समस्याको समयमा सबैतिर मेसो मिलिरहेको हुदैन र सम्बन्धित मानिसहरु भावुक या आवेशमा आउने या आत्तिने गरेको देखिन्छ। मान्छेको स्वभाव हो, अलिकति बुझेपछि गफ लगाउन या भाषण गर्न थालिहाल्छ। तर, कुराले चिउरा भिज्दैन, ठ्याक्कै काम हुनुपर्छ । नीति बन्ने तर बाटो नखुल्ने हुनुहँुदैन। यो भनेको गोरु चुट्नु हलो पड्काउनु जस्तै हो। सरकारमा बस्नेहरुले प्रष्ट नीति र विधि बनाउनुपर्छ र यस्ता नीति तथा विधिहरुलाई कार्यान्वयन गर्न बलियो ईच्छाशक्ति हुनुपर्छ। अहिलेको संकटमा अधिकारीहरुले बलियो गरी ध्यान दिन सकेमा यो संकटबाट पार पाउन सकिन्छ।
पोखरामा कोरोना महामारीले पर्यटन व्यवसायीहरुलाई थप संकट सृजना गरेको छ। एकातिर व्यवसाय बन्द भएको छ भने अर्कातिर ऋण कर्जा भुक्तानीले आतंक बनेको छ। यो विश्वव्यापी महामारीले गाँजेको बेला सरकारले केही राहत प्याकेजहरु नल्याएको पनि होइन। ऋणको ब्याज घटाउने, पुनर्कर्जाको रुपमा ब्याजमा थप राहत दिने, साँबा ब्याज भुक्तानीको समयलाई पुनर्तालिका बनाउने, उद्योग व्यवसायलाई टिकाउन भैरहेको ऋणमा थप धितो नराखिकन व्यवसाय संचालनको लागि थप ऋण (टप अफ फ्यासिलिटी) दिने निर्देशन र परिपत्रहरु सरकारले जारी गरेको छ।

यो व्यवस्थाले तत्कालको लागि राहत दिने पनि हो। तर, बैंकहरुले यसलाई आफूअनुकूल परिभाषित गरेका छन्। वित्तीय संस्थाहरु तथा सहकारी संस्थाहरुले यो व्यवस्थालाई लागु गरेका छैनन्। अहिले पुनर्कर्जाको ठेगान छैन। पुनर्तालिका लागु गरिएको छैन। ऋणको टप–अप सुविधा रामभरोसे छ। यसलाई साँबाब्याज तिर्न प्रयोग गरिएको छ। कोरोनाको कहरले बैंकको नियमित आयमा कुनै कमी आएको छैन। व्यवसायीको ऋण कर्जाको सबै ब्याज पूँजीकृत भएको छ। अर्थात ब्याजको स्याज लागेको छ। सरकारले यसलाई अनुगमन र नियमन गरेको अवस्थामा व्यवसायीहरुलाई केही राहत हुनेछ। यस्तो बेलामा बैंक, वित्तीय संस्थाहरु तथा सहकारी संस्थाहरुले उदार भावले सहयोग गर्नुपर्दछ।

कोरोना महामारीको समयमा बल्झेको विषय सम्पत्तिकर मुल्यांन पनि हो। पोखरा महानगर भएको कारणले शहरीकरण तिब्र गतिले भैरहेको र व्यापारिक केन्द्रको रुपमा विकास भैरहँदा सम्पत्तिको मुल्य बृध्दि हुनु स्वभाविक छ। तर, यस्तो मुल्य बृध्दिले उत्पादन क्षमतामा बृध्दि गर्दैन। यसरी बढेको सम्पत्तिमा कर लगाउदै जाने हो भने नागरिकहरु दरिद्र हँुदै जानेछन्। गरिबि बढ्नेछ । भएसम्म जग्गा बेचेर कर तिर्नुपर्ने अवस्था आउनेछ। यस्तो कर, आयमा बृध्दि गरी सम्पत्ति बढाएको अवस्थामा मात्र लगाउनु उपयुक्त हुन्छ। मूलबजार र बाटाहरुमा सम्पत्ति भएका व्यवसायीहरुलाई यस्तो सम्पत्तिकरबाट गंभीर समस्या पैदा भएको छ। सम्बन्धित अधिकारीले यस विषयमा व्यवसायीहरुलाई राहत दिनु उपयुक्त हुनेछ।

नीति निर्माताले पोखराको सुन्दरतालाई दुरुपयोग या कुरुप बनाएको एउटा उदाहरण शहरमा दुइतले मात्र घरहरु बनाउन पाउने र बैदाम क्षेत्रमा एकतले घर तथा बाटोमुनी ताल देखिनेगरी ठाऊ छोडेर घर बनाउनुपर्ने शर्तबाट देखिन्छ। २०३२ सालमा बनाइएको यो व्यवस्था कति ठिक कति बेठिक भन्ने कुरा २०७२ सालको महाभूकम्प आउँदासम्म कुनै नेता, विज्ञ या भद्रभलादमीको चासोको विषय भएन। नगरपालिकाको रुपमा सीमित वडाहरुमात्र समेटेको २०३२ सालको संरचना, महानगरको स्वरुप धारणा गर्दा समेत २०३२ सालको चेतना कायम हुनु दुखद कुरा हो।

महानगर जीवन्त अर्थ–व्यवस्थाको केन्द्र हो भन्नेकुरा बुझ्नु जरुरी छ। व्यापार–व्यवसायहरु भवनभित्र हुने हो, खुला चौरमा हँुदैनन्। भूगोलको सीमिततालाई बुझ्न सकिएन भने शहर शहरको रुपमा रहँदैन । पोखरा व्यापारिक केन्द्रको रुपमा रहने हो भने विशाल व्यापारिक मलहरु, गगनचुम्बी व्यापारिक भवनहरु, आदि बन्नुपर्दछ। नीति निर्माता र कार्यान्वयनकर्ताको चेतना यसमा बाधक देखिएको छ। यदाकदा देखिएको अराजकता पनि विषयवस्तुको बुझाईमा समस्या बनेको छ। म्हाभूकम्प २०७२ को लगत्तै नेपाल सरकारले नेपाल भरी लागु हुने गरी ‘वस्ती विकास, शहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२’ सोही वर्षको भाद्र महिनामा स्वीकृत गरी नेपालभर अनिवार्य रुपमा लागु गर्न निर्देशन जारी गरेको र तत्कालीन पोखरा उपमहानगरपालिकाको नगरपरिषदले २०७२ आश्विन २९ गते लागु गर्ने निर्णय गरेको थियो। यस बिषयलाई कार्यान्वयन गरिएन । निर्णयलाई कार्यान्वयन नगर्ने अराजकताको उदाहरण हो यो।

अहिले ‘भवन नियमित तथा अभिलेखिकरण सम्बन्धि कार्यबिधि २०७६’ अन्तर्गत २०७२ को आधारभूत मापदण्ड बमोजिम बनेका भवनहरुलाई तेब्बर दस्तुर लिई स्वीकृत गर्ने निर्णय विरोधावास बनेको छ भन्ने कुरा यो कार्यबिधि २०७६ बनाउनेहरुले बुझेनन्। व्यापार–व्यवसायको माग सम्बोधन गर्ने क्रममा सबै व्यवसायीक भवनहरु ५ वा ६ तला देखि १२ वा १४ तला सम्म बनिसकेका छन्। यो क्रम अझै बढिरहेको छ।
एकातिर यस्तो वास्तविकता छ भने अर्कातिर कोरोना महामारीले व्यापारिक भवनहरुमा संकट सृजना गरेको छ। व्यवसाय ठप्प भएकोले आय छैन भने नियमित खर्चहरु भने यथावत छन्। बैंकहरुले २ तला सम्मको मात्र धितो मुल्यांकनमा राखी ऋण कर्जा प्रवाह गरेका छन्। अहिले व्यवसाय संकटमा गरेको बेला धितोको रुपमा बहुतले भवनको मुल्यांकन पर्याप्त हुँदाहुँदै पनि बैंकहरुले थप कर्जा प्रवाह गर्न तयार देखिदैनन्।

सम्पत्ति हुँदाहुँदै पनि अब व्यवसायीहरु ऋणमा गड्ने भए। बैंकले खराब कर्जाको रुपमा कुनैपनि बेला घोषणा गर्ने भयो, सबै सम्पत्ति ऋण जोखिममा पर्ने भयो। विषयको गंभीरतालाई ध्यान दिदै सम्बन्धित अधिकारीहरुले नेपाल सरकारको बिद्यमान मापदण्ड २०७२ बमोजिम बहुतले व्यापारिक तथा व्यवसायिक भवनहरुको निर्माण सम्पन्न स्वीकृति नियमित प्रक्रियाबाट गरिदिने व्यवस्था गरेमा कोरोना महामारीले निम्त्याएको वर्तमान संकटबाट पर्यटन व्यवसायको क्षेत्रले ठूलो राहत प्राप्त गर्नेछ। व्यवसाय संरक्षण गर्ने विषय सरकारको दायित्व भित्रको कुरा हो । अहिलेको निकास यही हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।