हट्यो सारा हिलो मैला, हरायो पानीको वर्षा ,
भवानीको भयो पूजा, चल्यो आनन्दको वर्षा ।
जता जाऊँ उतै भन्छन् दशै आयो दशैं आयो ।
यही आनन्दले सबै संकट विर्सायो । (लेखनाथ पौड्याल)
यसरी नै हरेक वर्ष हर्ष उल्लास, खुशी र उमङ्ग बोकेर आउने पर्व दशै यस वर्ष घरआँगनमा आउँदा पनि रौनक छैन । आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ भई कोजाग्रत पूर्णिमाको दिनसम्म मनाइने यो पर्व हिन्दु धर्मावलम्बीहरुले विशेष महत्वका साथ मनाउँदै आएको पाइन्छ । पौराणिक मान्यता अनुसार दुर्गा भवानीले महिषासुरको बध गरेर असत्यमाथि सत्यको विजयको रुपमा यस पर्व मनाइन्छ । पौराणिक मान्यता अनुसार देवी र महिषासुरको युद्ध नौ दिनसम्म चलेको थियो । नौदिनपछि महिषासुरको बध गरिएको थियो र दशौ दिनमा खुशीयाली स्वरुपमा वियत्योत्सव मनाइयो, त्यसैले त्यस दिनलाई विजयादशमी भनेर भन्ने गरिन्छ । यस पर्वको अर्का महत्वपूर्ण पक्ष भनेको आफन्त इष्टमित्रको जमघट र अग्रज मान्यजनबाट टिका र जमरा लगाएर आर्शिवाद लिनु हो । यद्यपि अहिलेको कोभिड –१९ को महामारीले सृर्जित विषम परिस्थितिमा मानिस मानिस बीच भौतिक र सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाले मानवीय जीवनका धेरै पक्षसँगै हाम्रा चाडपर्व रीतिरिवाज र संस्कार संस्कृतीमाथि पनि नराम्ररी असर पारेको छ । कोभिड १९ को बढ्दो जोखिमका बीच घर आँगनमा आइरहेको दशैलाई पोखराका विभिन्न क्षेत्रका स्थापित व्यक्तिहरुले
कसरी मनाउँदै छन् त ?

नेपाली हिन्दुसमाजमा दशै पर्वको विशेष महत्व रहँदै आएको पाइन्छ । असत्यमाथि सत्यको विजय रुपमा लिइने यस पर्व पारिवारिक जमघटदेखि सांस्कृतिक र धार्मिक रुपमा समेत महत्व रहेको छ । अहिले कोभिड –१९ महामारीले सामाजिक आर्थिकसँगै मानसिक रुपमा मात्र नभएर त्यसको असर धार्मिक सांस्कृतिक पर्वहरुम पनि परेको छ । हिन्दुधर्मका अधिकांश पर्वहरु जो भौतिक उपस्थितिको जमघटमा मनाइने खालका छन् । दशै पनि त्यस्तै पर्व मध्य एक हो । अहिले कोरोनाले गर्दा पर्वको महत्व र महिमालाई परम्पराग रुपमा मनाउन सक्ने अवस्था छैन । शक्ति पिठहरु बन्द गरिएको छ । यो समयमा सबैभन्दा पहिले आफु सुरक्षित हुनु र परिवारलाई सुरक्षित राख्नु हो । देवता खोज्न घर बाहिर जानु पर्दैन । देउता आफ्नो शरीरमा छ आफ्नै शरीमा भएका चेतना स्वरुपलाई ऊर्जामय बनाउनुपर्दछ । आशक्तिलाई हटाएर शान्त र सौम्य रुपमा मनाउनुपर्छ । अहिलेको दशैमा बाड्मय शताब्दी पुरुष सत्यमोशन जोशीले टाढैबाट आर्शिवाद लिनु भन्नुभएको छ, त्यसैगरी इतिहास एवम् संस्कृति विद् ज्ञानमणि नेपालले पनि आफुकहाँ टिका लगाउन नआन आग्रह गर्नु भएको छ । त्यसैले अहिले हाम्रो पर्व हो ,संस्कार हो जसरी पनि मान्नुपर्छ भन्ने हठ त्यागेर म पनि कोरोनाबाट जोगिन्छु, परिवारलाई जोगाउँछु भनेर जिम्मेवार हुनुपर्छ । यो साल बाँचियो भने आगामी वर्षहरुमा हर्षोल्लास साथ हामीले थुप्रै पर्व मनाउन पाउनेछौ । त्यसैले आफु बाँचौ अरुलाई बचाऔँ, प्रविधिको प्रयोगबाट एकअर्काबीच जोडिएर भर्चुअल माध्यमबाट आर्शिवद ग्रहण गरौ ।

प्रमुख, जिल्ला प्रहरी कार्यालय कास्की
नेपाल सरकारले प्रहरीलाई विशेष जिम्मेवारी सुम्पेको छ । नागरिकसँग प्रत्यक्ष जोडिएर समाजमा शान्ति सुरक्षाको प्रत्याभूत गराउनु प्रहरीको पहिलो जिम्मेवारी हो । ‘सत्यम सेवम सुरक्षण’ भन्ने मुलमर्मलाई आत्मसात् गरेका प्रहरीका लागि चाडपर्व भन्दा बढी महत्व नागरिकको सुरक्षा हुने गर्दछ । अहिले झन् दोहोरो जिम्मेवारी रहेको छ । एकातिर शान्ति सुरक्षाको प्रत्याभूत गराउने दायित्व छ भने अर्को तर्फ आफुपनि जोगिने र अरुलाई पनि कोभिड–१९ को महामारीबाट जोगाउने जिम्मेवारी छ । चाडवाडको समयमा जुवातास खेल्ने, मदिराको प्रयोग बढी हुने गर्दा अपराधजन्य गतिविधि बढ्छ । यस्तो अवस्थामा आम नागरिकलाई सुरक्षित रुपमा दशैं मान्ने वातावरणमा हामी बढी खटिनुपर्छ ।
चाडपर्वको समयमा हामीले प्रहरी ब्यारेकलाई नै सिंगो घर मान्छौ र टिका जमरा लगाएर एकअर्काबीच खुशी साटासाट गछौ । व्यक्तिगत खुशी भन्दा सामुहिक खुशीमा रमाउँछौ । जिल्ला प्रहरी कार्यालय कास्की र यस मातहतमा गरेर अहिले करीब १ हजार प्रहरी रहेका छन् । यो दशैमा कोहि कसैलाई घर जान विदा छैन सबैले सुरक्षित भएर शान्ति सुरक्षामा खटिनेछन् । मेरो व्यक्तिगत कुरा गर्नुपर्दा २५ वर्ष लामो प्रहरी सेवामा मुश्किलले ५÷७ पल्ट आमाबुबाको हातको टिका लगाउने अवसर मिल्यो होला तर कहिल्यै चाडवाडमा घर जान पाइएन भनेर मन दुखी भएन । हामीले जुन जिम्मेवारी लिएका छौ, त्यो जिम्मेवारी नै प्राथमिकतामा हुने भएकाले अरु सोच्ने अवस्था हुँदैन । अहिलेको कोरोना कहर बीच भएकाले आम नागरिकले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर सामाजिक दुरी कायम गरेर पर्व मनाउन आग्रह गर्दछु ।

उप-प्राध्यापक समाजशास्त्र विभाग, पृ. ना. क्याम्पस पोखरा
कोरोना कहरबीच हाम्रो महान पर्व दशै भित्रिएको छ । एकअर्काबीचको सामिप्ता र आत्मियतामा जोड्ने पर्वहरु अहिले भौतिक उपस्थितिबाट टाढा रहेर मनाउनु पर्ने बाध्यता छ । मानवशास्त्रको इतिहासमा धेरैचोटि यस्तो महामारी आएका छन् , झटट हेर्दा जनस्वास्थ्यको विषय मात्र हो कि जस्तो पनि लाग्छ तर यो सामाजिक विषय पनि हो । यसको उत्पत्ति चिनमा भयो विस्तारै फैलैदै अन्य देशहरु पुग्यो, धेरै संङ्क्रमित भए धेरैको मृत्यु भयो । मानवीय जीवनको विविध पक्षमा यसको प्रवेश भयो । यसले सामाजिक सम्बन्धमा झनै ठूलो असर पारेको छ । मानवीय सम्बन्ध र संस्कारलाई शून्यमा झारीदियो । दशैको टीकाले सम्बन्धलाई प्रगाढ बनाउने विश्वासले हामी आफन्तको जान्थ्यौ तर अब परिवारमा मात्र सिमित भयो । निसंकोच चाडवाडमा पाहुना भएर जान्थ्यौ तर अब आफन्तको जान पनि नसक्ने अवस्था आयो । मानवीय सम्बन्धलाई खुकुलो बनायो । चाडबाड खल्लो बन्यो । आर्थिक र मनोवैज्ञानिक त्रास सृजना गरायो । यसबाट मानवीय जीवनका धेरै पक्षहरुमा क्षति पुगेको छ । यो कठिन अवस्थामा हामीले आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर मानसिक रुपमा विचलित हुन नदिइ यो वर्षको पर्वलाई प्रविधिमैत्री बनाएर मनाउनुपर्छ ।

केन्द्रीय सल्लाहकार, विश्व हिन्दू महासंघ
हाम्रा पर्वहरु सामाजिक सद्भावका सुत्रधार हुन । दशैको महत्व र महिमा पनि नेपाली समाजमा निकै छ । यो दशै नेपालको मौलिक पर्व हो । यसको मेरुदण्ड भनेको शक्तिको उपासना हो । यो समय शक्तिको खेती गर्ने बेला हो । दशैमा मान्यजनको हातबाट टिका प्रसाद ग्रहण गरेर आर्शिवाद लिने गरिन्छ । तर अहिले हामी कसैले नसोचेको अवस्थमा छौ । कोभिड– १९ को असर ज्येष्ठ नागरिकमा बढी हुने भन्ने स्वास्थ्य विज्ञको भनाइले गर्दा पनि अहिलेको अवस्थामा टाढैबाट अग्रज मान्यजनको आर्शिवाद लिनु हाम्रो बाध्यता बन्यो ।
अहिले सरकारले मठमन्दिर बन्द गरेको छ । स्वास्थ्य सतर्कताको कारणले हो भने वित्तिय संस्था, सुपरमार्केट पनि बन्द गर्नुपर्ने हो, बाटोभरी ट्राफिक जाम छ , तर ति क्षेत्र खुला गर्ने तर मठमन्दिर बन्द गर्नु सरकारको विरोधाभासपूर्ण निर्णय हो । धार्मिक आस्थामा विश्वास गर्नेहरु मठमन्दिर र भगवानको अगाडि पुग्दा मानसिक शान्ति प्राप्त गर्छन् । मन्दिरमा विशेष किसिमको दैवी ऊर्जा हुन्छ मनोबल बढाउने शक्ति मन्दिरमा हुन्छ । अहिले धार्मिक मठमन्दिर मात्र किन रोकियो भन्ने एउटा प्रश्न पनि छ । यी यावत कुरासँगै सबैभन्दा पहिले आफू सुरक्षित रहनु नै अहिलेको आवश्यता हो । हामीसबै सुरक्षित भएर घरसी दशैं मनाउँ, सम्पूर्णमा शुभकामना ।

निर्देशक, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्मिाञ्चल क्षेत्रीय अस्पताल
यो वर्ष कोरोनाले दशै आएको रौनक छैन । विगत वर्षहरुमा जस्तो दशैको पर्खाइ यो वर्ष हुन पाएन । पेशागत जिम्मेवारीले पनि यो महामारीका बीच कोरोना सक्रमितको उपचार र व्यवस्थापनको पाटोले व्यस्त बनाएको छ । अहिले कोरोनाको जोखिम बढिरहेको अवस्थाा एकअर्काको हातबाट टिका जमरा ग्रहण गर्न सम्भव भएन । म पनि यो दर्शैमा ८० को हाराहारीमा रहेका आमाबुबाको हातको टिका लगाउने रहर सामाजिक दुरी कायम गरेर टाढैबाट आर्शिवाद लिने योजनामा छु । दिनरात संक्रमितको उपचारमा रहेका चिकित्सकहरुमा पनि कोरोनाको जोखिममा हुने भएकाले अहिलेको समयमा दशैको टिका भन्दा ठूलो कोरोनाबाट जोगिनु हो । यो वर्ष आफू पनि जोगिन सके र अरुलाई पनि जोगाउन सक्यौ भने आउने वर्ष एकसाथ खुशी मनाउन सकिन्छ । स्वास्थ्यको ख्याल राखेर आफ्नै घरमा बसेर सबैलाई दशै मनाउन अनुरोध गर्दछु ।

प्राज्ञ एवम् लोक गायिका
हरेक वर्ष दशैको रौनकले घरआँगनमात्रै होइन मननै रमाइलो हुन्थ्यो, खुलेको मौसम, आकाशमा उडेका चंगा, बाटो भरी देखिने लिङ्गे र रोटे पिङ घर रंगरोगन, रोटीका परीकार लगायतले चाडबाडको रौनकता दिन्थ्यो । अहिले त दशैं आएको भाननै भएको छैन । यो वर्ष यसै पनि तीन जना आफन्तको मृत्युले मन रमाइलो छैन, त्यहि माथि कोरोना कहरको सास्ती छ । मनमा खुशी उमंग भए चाडबाडले रमाइलो अनुभुति गराउँछ अहिले कसैको मनमा खुशी छैन । जीवन बाँच्न पाए मात्र हुन्थ्यो भन्ने अवस्थामा दशैंको महिमाले कसैलाई छुन सकेको छैन । कुनै समय थियो नयाँ लुगा लगाउने रहरले मिठो मसिनो खाने रहर, टिका लगाएको पैसा पटक पटक गन्दै राख्ने रहर, पिङमा मच्चिने रहर , निधारभरी टिका लगाएर कसको धेरै छ भनेर देखाउने रहरका लागि वर्ष दिनको दशै कुरिन्थ्यो । महिना दिन अघिदेखिको पर्खाइ हुन्थ्यो । तर अचेलका बालबालिकामा दशै को त्यो रौनक र महत्व देखिदैन । दशैको सामाजिक सांस्कृतिक पक्षहरु विस्तारै हराउँदै गइरहेकै बेला कोरोनाले झन असर गरेको छ । अहिलेको अवस्थामा एकअर्काबाट टाढा रहेर आफ्नै घरमा बसेर दशै मनाउन म अनुरोध गर्छु । बाँचे अर्को साल निधारमा टिका र जमराले सजिएर घर घर पुगौँला र मान्यजनको आर्शिवाद लिउँला । अहिले सबै घरमै बसौ सुरक्षित रहौँ ।

संस्कृतिकर्मी एवम् सचिव, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति
कोरोना त्रास यत्रतत्र सर्वत्र छ । भीडभाडबाट बचेर बस्नुपर्ने अवस्थामा मान्यजनको स्पर्श बिनाको पर्व निकै खल्लो हुनेछ । कोराना कहरले आर्थिक मानसिकसँगै सांस्कृतिक पक्षमा पनि उस्तै प्रभाव पारेको छ । अब हामीसँग दुईवटा विकल्प छन् । एउटा कोभिड–१९ को प्रतिकार गर्ने र अर्को कोभिड लामो समयसम्म रहन सक्छ भनेर यससँग सहअस्तित्व कायम गरेर लड्दै जाने । संसारभर यस्ता भाइरस आउछन्, तर संयमता र सजकता अपरीहार्य हुन्छ । मानवीय जीवनको अस्तित्व रक्षानै पहिलो प्राथमिकता हो । हामी बाँचे संस्कार र सस्कृति बचाउन सकिन्छ । यो वर्ष स्पर्श विनाको दशै मनाउन म सबैलाई अनुरोध गर्छु । म पनि घर बाहिर निस्कन्न र अरुलाई यो वर्ष टिका ग्रहणलागी निम्तो दिन सक्दिन ।
योसँगै दशैको सन्दर्भमा म अर्को कुरा पनि जोड्न चाहान्छु । दशै देवी शक्तिको आराधानाको पर्व हो । शक्ति पीठहरुमा नवदुर्गाको पूजा हुने गर्दछ । यसको पौराणिक धार्मिक महत्व रहिआएको छ । अहिले सरकारले कोरोनाको जोखिमलाई ध्यान दिएको भन्दै मठमन्दिर खोल्न रोक लगाएको छ तर अन्य क्षेत्र खुला गर्नुले थप आशंका जन्माएको छ । सुपरमार्केट, बैंक वित्तिय संस्था खुला गर्ने तर सामाजिक दुरी कायम गरेर पुजा आजा गर्न मिल्ने मठमन्दिरमा रोक लगाउँदा यो सरकार हिन्दुधर्म विरोधी होकि भन्ने आशंका धेरैलाई गराएको छ । धार्मिक आस्था भनेको मानिसको मनको शान्तिसँग जोडिएको हुन्छ । यो अवस्थामा धार्मिक र आध्यात्मिक शक्तिले पनि मानिसको मनोबल उच्च गराउन सहयोग पुग्छ यसतर्फ सरकारले सोचेर स्वास्थ्य सतर्कताको मापदण्ड पूरा गदै मठमन्दिरमा भक्तजन जाने वातावरण मिलाउनु पर्छ ।

सञ्चालक हिमालयन कम्प्यूटर्स
दशैको महत्व महिमा विशेष छ । वर्षदिनको एकचोटि आउने दशै पर्व कुनै धर्म विशेष जात विशेष भन्दा पनि एउटा साझा पर्वको रुपमा आफन्त इष्टमित्रको जमघटमा आपसी सहिष्णुता सद्भाव कायम गर्दै मान्यजनको आर्शिवाद ग्रहण गरेर मनाउने पर्व हो । असत्यमाथि सत्यको विजयको रुपमा मनाइने यसपर्वले मान्यजनको हातलाई शिरमा राखेर शक्तिलाई ग्रहण गर्दै सत्मार्गको बाटोमा लाग्ने सन्देश दिन्छ । तर समय अब धार्मिक महत्व र महिमा भन्दा माथि अहिले मानव जीवन रक्षाको चुनौतिपूर्ण घडीमा छ । यो समयमा हामीसबैले संयमता अपनाएर अहिले कोभिड १९ लाई परास्त गर्नुपर्ने चुनौती छ । त्यसैले हामी हाम्रो जीवन रक्षाको लागि अहिले प्रविधिको प्रयोगबाट अग्रजको आर्शिवाद लिएर आफू पनि जोगिने अरुलाई पनि जोगाउने प्रतिवद्धता गर्नुपर्छ । हरेक नागरिक सचेत हुन सके सिंगा देशबाट कोरोना परास्त गर्न सकिन्छ । म यो दशैमा दुर्गा भवानीले सबैलाई कोरानाबाट जोगिन र संक्रमण भएकाहरुलाई कोरोनालाई परास्त गर्ने शक्ति मिलोस् भनि कामना गर्दछु ।
विकल्प के हुन सक्छ ?
सबैभन्दा कठिन अवस्थामा भनेको मानिसले आफ्नो सोच र संस्कारलाई बदल्नु हो । वर्षौ देखि मान्दै आएका संस्कार संस्कति र पर्वहरुका धेरै पक्षसँग हामी अभ्यस्त भएका हुन्छौं। हामीले थाहा पाएर पनि कति कुरालाई नजरअन्दाज गरिरहँदा त्यसको असरले छोएपछि मात्र हामीमा चेतना आउने गरको हुन्छ । कोभिड –१९ को प्रभाव सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा देखियो । थाहा नपाइ आज यसले विश्वभरी फैलिएर लाखौको ज्यान लिइसकेको छ । नेपालमा यसको जोखिम दर बढ्दो छ । सिमित स्रोत, साधन र दक्ष जनशक्ति भएको हाम्रो जस्तो मुलुकमा राज्यबाट संक्रमितको उपचारको लागि पर्याप्त व्यवस्था हुन सकेको छैन । यसको उपचारको ठोस औषधीहरु अझै पनि प्रयोगशालामा सिमित भएका छन् । भ्याक्सिन निस्किएको एकाध दाबी गरिएपनि त्यसको पहुँच हामीबाट निकै टाढा छ । आफ्नो उपचार आफै गर्नुपर्ने स्थितिले धेरैलाइ मानसिक रुपमा चिन्तित समेत बनाएको छ । यस्तो अवस्थामा गुज्रिएका हामीले चाडपर्वको महिमा महत्वलाई अगाडि सार्दै संयमता गुमायौं भने यसको नतिजा भयावह हुन सक्छ । अहिले प्रविधिले हामी सबैलाई एकैठाउँमा बनाइदिएको छ । विश्वको जुनकुनामा भएपनि हामी मिनेट भर एक अर्कालाई देख्न सक्छौ, आफ्नो कुरा राख्न सक्छौ । भौतिक उपस्थिति विना पनि एक अर्काका भावनाहरु साटासाट गर्न सक्छौं । प्रविधिले उपलब्ध गराएको सुविधाको प्रयोग गरेर यो वर्ष दशैमा मान्यजनको आर्शिवाद ग्रहण गर्नुनै उपयुक्त विकल्प हो । यो मेरो आफन्त हो, यो मेरो साथिभाई हो भनेर संयमता गुमायौ भने हामी कोरोनाको संक्रमणबाट जोगिन सक्दैनौं। तसर्थ कोराना परास्तको अभियानमा हामी सबै सरिक हौं। विजयादशमीको शुभकामना ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको महान चाँड बडादशैंको टिकाको दिन कास्कीमा ट्राफिक…







