राजनैतिक पार्टीका कार्यकर्ताहरुलाई एउटा यक्ष प्रश्न, तपाईहरु अनुचर कि नागरिक ?


     बिश्व सिग्देल,पोखरा    
     कार्तिक १५ गते २०७७ मा प्रकाशित




राजा बोला रात है
रानी बोली रात है
मन्त्री बोला रात है
चपरासी वोला रात है
सुबह सुबहकी बात है ।
कवि गोरख पाण्डेका शव्दहरु हुन् यी । यो सुन्दर विम्वले नेताहरु त के सिने कलाकारका मन्दिर बनाएर आरती गर्ने र मृत्युमा आत्मदाह गर्ने पटमुर्ख संस्कृतिको विशेष गरी गरीव र अविकसित औपनिवेसिक, अर्ध औपनिबेसिक देश र त्यो समाजको तथाकथित शिक्षित र जागरुक मानिएका समाजका अगुवाहरुको सजिव चित्रण गर्दछ ।
आम नेपालीलाई स्मरण भएको हुनु पर्दछ नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले ग्रयाण्ड डिजाइनको अमोध अस्त्र प्रयोग गरेर देशको सर्वोच्च कुर्सिमा पटक पटक आधिपत्य जमाई रहनु भयो । जनताहरुले काल्पनिक प्रेत युटोपियाको भ्रमजालमा संमोहित भएर उहालाई नेपाली राजनीतिको सर्वोच्च पदमा धेरै पटक आसन ग्रहण गराई नै रहे । यदि साच्चिकै देश भित्र र वाहिरवाट देशको अस्तित्व नै मटियामेट पार्ने ग्रायाण्ड डिजाइन कतै अस्तित्वमा थियो र उहाॅंलाई यसका बारेमा राम्रैसंग जानकारी थियो भने ती डिजाईन कर्ताहरु को थिए र कहाॅंबाट सञ्चालित थिए? भन्ने कुरा उहाले जनताका वीचमा प्रस्तुत गर्न सक्नु पर्दथ्यो र जनताको साथ लिएर दुष्ट डिजाईनकर्ताहरुको अभिष्टहरु विरुद्ध नेतृत्व गर्न सक्नु राजनेताको निम्ति ठूलो कर्तव्य हुन आउथ्यो । तर गिरिजाप्रसादले भन्ने गरेको ग्रयाण्ड डिजाईन उहाॅंको पार्थिव शरीर संगै आर्यघाटको चितामा भेट चड्यो ।
सायद टेलिभिजनको कार्यक्रम ‘फायरसाइडमा’ हुनु पर्दछ नेता रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्री र पार्टी सभापति हुन नदिन देशको भलो नचाहने एउटा ग्रयाण्ड डिजाइनले प्रपञ्च गरेको कुरा सःगौरव वताउनु भयो । त्यो डिजाईनको रहस्योद्घाटन गर्नु हुने छ की भनेर अन्त्य सम्म टेलिभिजनको पर्दामा आखा गडाएर हेरि रहें ।गिरिजाप्रसादकै चेला न पर्नु भयो ग्रयाण्ड डिजाईनको रहस्योद्घाटन गर्ने त्यो इमान्दारिता उहाॅंले पनि देखाउन सक्नु भएन ।
नेता मदन भण्डारीको दाशढुंगामा दुर्घटना भएर अकल्पनिय देहावसान भयो । यो दुर्घटना भवितव्य थियो वा आयोजित थियो यो अनुसन्धानको विषय भएका कारण यसमा मैले प्रवेश गर्ने कुरा भएन । यो त अनुसन्धान गरेर सत्य तथ्य बाहिर ल्याउने, दोषी भए दण्ड दिने कार्य सोही पार्टीका सदस्यहरुको हो जो वर्षौ देखि सत्तामा वसिरहेका छन् । तर अनुसन्धानको पूर्वनै दुर्घटनालाई ताततात्तै हत्या हो, षडयन्त्र हो भनेर देशभर वितण्डा गर्ने व्यक्तिहरु राज्य सत्ताको नेतृत्वमा पुगे पछि सुस्त सुस्त राम्ररी नसुने नवुझिने गरी एकातर्फ भवितव्य भन्न थालेका छन् भने अर्का तर्फ विवेकहीन जमातहरु युधिष्ठिरले अश्वस्थामा हतोहत: सुस्तरी भन्नु र अझै सुनिन्छ की भनेर जोड जोडले नगराहरु बजाए जस्तै त्यही आवाज पनि वाहिर नपुगोस भनेर शंख घण्ट बजाई रहेका छन् ।
मदन भण्डारी प्रतिको अगाध आस्था , उनको अनुपस्थितिमा देश र दलले व्यहोर्नु परेको क्षति, उनको हत्याको न्यायपूर्वक छानविन होस भन्ने ध्ययमा उठेको ज्वाराभाटा र सुनामिले देशको भौतिक सम्पत्तिको ठूलो क्षति भयो । साच्चिकै सडकमा पोखिएको उन्माद, करुणा , समर्पण आस्थाले वसिभूतजन्य कर्म थियो , उनको न्यायका लागि थियो वा नेताहरुले यही मुद्धालाई सिंढी, टेको वा थांक्रो वनाएर अकण्टक सिंहदरबारमा टिकीरहने प्रपञ्च थियो यो समय संगै विस्तारै उघारिदै जाने नै छ ।
हामीलाई हिजो जस्तै लाग्दछ प्रचण्डजीले टुॅंडीखेलको मञ्चमा उभिएर दिल्लीड तिर औला ठड्याउदै विदेशी प्रभु भनेर ललकार्नु भएको । उहाले त्यस्तो विदेशी प्रभुलाई ललकार्नु भयो जो प्रचण्डको आश्रयदाता, पालनहार दुबै थियो र आफैले घचेटेर चढाएको तारेभीरबाट सिंहदरवार सम्म अवतरण गराउन अहम् भुमिका निर्वाह गरेको थियो । मैले यो सूचना उहाॅंले नै तामझामकासाथ विमोचन गरेको सुखदेव मुनीको पुस्तकवाट सापट लिएको हुॅं ।यही नेर मलाई के कुराको स्मरण गराउन मन लाग्यो भने प्रचण्डजीको एउटा टाउकोमा जडित मुखबाट अंग्रेजीमा चिनिया कुटनैतिकसंग चुनाव जित्न मागिएको पचास करोड र उहाॅंकै अर्को टाउकोसंग जोडिएको अर्को मुखले दिल्लीसंग अवतरण गराई दिन गरिएको रोदन महाभारतमा वर्णित दुई टाउके भार्गब चराको जस्तो लाग्दछ । हाम्रो नेपाली राजनीतिको विडम्वना ……………………..।
नेपालसंग भारतको धेरै स्वार्थहरु छन् । तर नेपाली राजनीतिले भारतको स्वार्थ वुझ्ने दक्षता राख्न नसक्दा हामी धेरै कारणले खुम्चिएका हौ । भारतीय स्वार्थलाई चुनौति दिन सक्ने गरी हामीले हाम्रो नेपाली स्वार्थलाई उच्च कुटनैतिक चातुर्यता र दक्षताले सम्बोधन गर्न सकेनौं । नेपालका राजनेता भन्नेहरुले राष्टिय स्वार्थलाई भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिदा भारतीय स्वार्थलाई वुझेर काम गर्ने इमान्दारिता देखाउन सकेनन् । म यही नेर भारतीय स्वार्थको एउटा प्रसंग जोड्न चाहन्छु । नेपाल संगको भारतीय स्वार्थ उसको सुरक्षा मात्रै होइन नेपालको प्राकृतिक स्रोत साधनहरुको दोहन संग प्रमुखरुपमा जोडिएको छ । उसको प्राथमिक स्वार्थ सिंचाई र विजुली संग मात्रै जोडिएको भने होइन । उ त गंगा यमुनाको पानीको अत्यधिक दोहनले आक्रान्त नदी सभ्यतालाई अविरल वहाउन चाहन्छ । हामी नेपालीले वुझ्न र वुझाउन नसकेको एउटा सत्य के हो भने भारतको सभ्यता भनेको गंगा यमुनको सभ्यता हो । भारतको आफ्नै कारणले यो सभ्यता माथि अतिक्रमित भईरहेको छ । भारतको ठूलो आकारको जनसंख्यालाई खानेपानीको व्यवस्था मिलाउन , सिंचाई र उद्योग धन्दाहरुको सञ्चालनका लागि भारतले अत्यधिकरुपमा प्रयोग गर्दै आएको गंगा यमुनाको स्रोतहरु अहिले यतिखेर झण्डै झण्डै सुक्ने अवस्थामा छन्, वर्वाद हुदैछन् । जसले गर्दा गंगा यमुनाको सभ्यता वचाउनु भारतको प्रमुख चासोको विषय हो । यसका लागि भारतले नेपालको राजनीति र तिनको नेताहरुलाई यो वा त्यो प्रलोभन वा डर धम्की देखाएर आफ्नो अनुकूल प्रयोग गर्दै नेपालका नदीहरुलाई गंगा यमुनामा मिसाएर गंगा यमुनाको अस्तित्वलाई जोगाउन चाहन्छ । भारतीय सभ्यता संग जोडिएको विषय भएका कारण यसका लागि भारत जे पनि गर्न तयार देखिन्छ । जसका लागि भारत ‘महाकाली’ नदीको उद्गम हालको अतिक्रमित नदीको पश्चिम हो भनेर प्रत्याभूत गराउन चाहन्छ । पञ्चेश्वरको छदम परियोजना नेपालको संसदमै दुई तिहाई पुर्याएर भारतले आफ्नो अभिष्ट पुरा गर्दा यस अभियानका नेपाल तर्फका प्रमुख अभियन्ता तपाईहरुले भारतको विरोधको रथमा चढेर संसदमा गरिएको दिग्विजय कुन अभिष्टका लागि थियो ? यो हामी नेपालीले जान्न पाउने कि नपाउने ? हुदै नभएको अयोध्याको राग अलाप्दा मुख्य मुद्धाहरु हाललाई विषयान्तर त होलान् तर समयको कालचक्रमा पूनः यी विषयहरु उठिरहने छन् र मृत्यौ उपरान्त पनि तपाईहरु कठघरामा उभिएको उभिएै गरिरहनु पर्दछ भन्ने हेक्का राख्नु भएको छ की छैन ? अव तपाईले विदेशी शक्तिले अर्थात नया दिल्लीले मेरै दलवाट अत्पमतमा पुर्याएर मलाई दुबै पदबाट विस्थापित गर्न खोज्यो भनेर अलापि रहेको राग अलापको विश्वशनियता कहाॅं प्रमाणित हुने हो ?
यी केही प्रतिनिधि उदाहरणहरु हुन् । तपाईहरुसंग गर्नु पर्ने प्रश्नहरु र जिज्ञासाहरुका अनगिन्ति शृंखलाहरु छन् । तपाईका अनुचरहरु प्रश्न सोध्दैनन् ,जिज्ञासा राख्दैनन् बरु उपरोक्त कविताझै तपाई रात भन्नुहोस रात भन्छन्, दिन भन्नुहोस दिन भन्छन् । फेरि अर्का थरी अनुचर होइनन् निशाचरहरु छन् । ति निशाचरहरु राती मात्रै झुल्किन्छन् र अध्यारोमै सवै काम तमाम गर्दछन् र झिसमिसेमै अनुचरहरुलाई ठाउ छोडिदिन्छन् । अहिलेको भाषमा दलाल पूजिपति, माफिया, तस्कर, कमिसनखोर के के भन्दछन् ती त अनुचरहरु भन्दा पनि माथि छन् । अर्थात अनुचर भन्दा निशाचार माथि ।
चार चोटी प्रधानमन्त्रि भएका देउवाजी लोकतन्त्रको भ्रष्टिकरणको बेताज बादशहनै हुनु भयो । आफ्रनो सत्ता पुख्ता निष्कन्टक राख्न लोकतन्त्रको बस्त्रहरण मात्र होइन च्यातेर तात तार गरिदिनु भयो , धुजा धुजा पारिदिनु भयो । राज्यकोषको चरम र निर्लज्ज दोहन गरेर संसद सदस्य , नोकरशाहहरुको खरिदफरोख्त उनिहरुलाई रंगरस सहितको बिदेश भ्रमण , करोडौ नगद र विलासी गाडीको व्यवस्था गरेर लोकतन्त्रको सुन्दरतामा तेजाब फ्याक्न र खुलेआम बजारमा हुर्मत लिन शेरवहादुरजीले के गर्नु भएन ? संसद, संवैधानिक नियूक्ति, अदालत सवैलाई खुलेआम विक्री गर्ने वस्तु बनाईदिनु भयो । आज तिनै नजिरमाथि टेकेर उनि पछिका दुइगुना चारगुना अपराध कर्ममा उद्धत भए ।
वी पी कोइरालाले अति महत्वकांक्षी राजा र चरम प्रतिकूल परिस्थितिमा लंगडो संविधान टेकेरै भए पनि १६, १७ महिनको छोटो समयमा देशलाई युगान्तकारी परिवर्तन हुने महत्वपूर्ण योजनाहरुको आरम्भ मात्रै होइन कार्यान्वयन गरेर छोड्नु भयो । राजौटाहरु र जमिन्दारी उन्मुलन गर्नु भयो । अग्रगामी र प्रगतिशिल राज्यका लागि महत्वपूर्ण यी तगाराहरु वी पी ले जति कुशलतापूर्वक व्यवस्थापन गर्नु भयो जुन नेहरुले भारतमा सर्वाधिक शक्तिशाली सरकारको नेतृत्वमा रहदा पनि गर्न सकेका थिएनन् । बरु वीपीको निर्णयको एक दशक पछि इन्दिरा गान्धिले भारतमा राजा रजौटा र जमिन्दारहरुको व्यवस्थापन गरिन ।
२०४२ साल तिर शिक्षा सचिव वा सह सचिव रहेका अर्थविद्ध रामेश्वर खनालले एउटा स्मरणमा लेखेका थिए, कुनै वर्ष झण्डै ५००० स्कूलहरुले स्वर्ण जयन्ति मनाएछन् । वर्षमा सय पचास स्वर्ण जयन्ति हुने देशमा त्यो साल एक्कासी ५००० स्कूलमा स्वर्ण जयन्ति कसरी भयो ? भनेर सोधपुछ गर्दा बीपीको १६,१७ महिने प्रधानमन्त्रित्व कार्यकालमा देशभर मेची काली हिमाल तराईमा स्कूल खोल्ने बाढीनै आएछ । सायद अधिकांश कांग्रेस जनहरुलाई यो थाहा नहुन पनि सक्दछ । शिक्षामा , राज रजौटा उन्मुलनमा , बनको राष्टियकरणमा यस्ता धेरैै विकासका पूर्वाधारहरुमा वीपीले बसालेको जगवाट मुलुक यहा आईपुगेको हो । केही नवोली , सपना नदेखाई राजनेताहरु काम गर्दछन् परिणाम आफै शिर ठडाएर वोल्छ , होहल्ला गर्दछ ।
मनमोहन अधिकारी वीपीले पाएको समय भन्दा आधि समय मुस्कीलले पाउनु भयो । एउटा नितान्त विपन्न र गरीवीको न्युनतम सुचांकमा रहेको मुलुकले सानो सिमित र सांघुरो अर्थतन्त्रलाई अवरोध नगरी देशका वृद्ध वृृद्धाहरुलाई सम्मान स्वरुप भत्ता दिन सकिन्छ भन्ने कुरा प्रमाणित गरेरै देखाइदिनु भयो र उहाकै दलका अर्थ जानकारहरुलाई समेत अचम्मित पारिदिनु भयो ।
राज्यलाई युगौ लाभ दिने युगान्तकारीकाम गर्न प्रधानमन्त्रि सभापति भैरहनु पर्दैन । उक्त कुरा एउटा सामान्यमन्त्रिले पनि गर्न सक्दछ भन्ने कुरा शैलजा आचार्यले प्रमाणित गरिदिनु भएको थियो । म प्रधानमन्त्रि नभए देशलाई घाटा हुन्छ, मैले पद पाए भने देशलाई ५ वर्षमै चीन भन्दा माथि, बेलायत भन्दा उन्नत बनाई दिन्थे भनेर डिंग हाक्नेले उपप्रधानमन्त्री, मन्त्री भै सकेककाहरु शैलजाले दिनु भएको जवाफको हेक्का रहनु पर्ने थियो । एक मेघावाट भन्दा साना क्षमताका जवविद्युत आयोजनाहरुलाई उहाले दिएको झंझटमुक्त कागजी प्रक्रिया, कर सहुलियत आजको लोडेसेडिंगमक्त उज्याले नेपालको कोशे ढुंगा हो ।
ग्रिसमा सुकरातकै समकालिन डायनोसिक भन्ने फक्कड दिगम्वर सन्त थिए । सिकन्दरले उनको कुटीमै सुख दुःख सोध्न पुगेछन् । उनि कुटी बाहिर जाडोको न्यानो घाममा ढाड सेकाएर सुतिरहेको थिए । बिनयमुद्रामा हात जोडेर उभिई रहेको सिकन्दरलाई उनले किन आयौ भनेर सोधेछन् । हजुरलाई मेरो सेवा केही थियो कि भनेर सोध्दा तिमीले घाम छेकेर उभिदा मलाई जाडो लागेको छ , कृपया पर हटी देउ, त्यही मेरो सेवा हुन्छ भन्ने प्रसंग पनि सुन्न पाइन्छ । मलाई तिनै सन्तलाई अहिले सम्झिन मन लागेको छ । उनि हरेकसंग प्रश्न गर्दै हिड्दथे , सुकरात त्यसै गर्थे । हाम्रा पूर्विय सन्तहरु जस्तो उपदेश दिदै हिड्दैनथे । म अव यिनै प्रश्नहरु मन्त्रि , प्रधानमन्त्रीलाई होइन तिनीहरुका कार्यकर्ताहरुलाई गर्दैछु । के कहिल्यै नेताहरुको चाल , चरित्र र चेहराहरुलाई सन्देहको नजरले हेर्नु भयो ? के नेताहरु र तिनिहरुका परिवारहरुको दैनिकी, अस्वाभाविक जीवनशैली, चालढाललाई संसयको विषय वनाउनु भयो ? के नेताहरुले देखाउने असम्भव र उडन्ते सपनालाई तर्कको कसौटीमा घोटेर हेर्ने कोशिस गर्नु भयो ? ती सपनाहरु हाम्रो धरातलमा उत्रन सक्छन की कितावका परीकथा वा तिलस्मी उपन्यासका तानावुना हुन अध्ययन , सोधपुछ , बहस आदि गरेर सत्यापन गर्ने र पत्याउने अन्यथा नेताहहरुसंग सार्वजनिकरुपमै जबाफ माग्ने साहस गर्नु भयो ? नेताहरुको विश्वास गर्दा , उनिहरुलाई जयगान गर्दा कहिल्यै आफ्नो विवेकलाई एक पटक सोध्नु भयो ?
जनताले नेताहरुलाई परख गर्न थालिसकेका छन् । तपाई नेता र जनताको वीचको विचौलिया वनेर दुवैलाई ठगी रहनु भएको छ । नेतालाई मालिक ठान्नुहुन्छ , जनतालाई रैती ठान्नु भएको छ । नेतासंग घुडा टेक्नु हुन्छ र जनतालाई घुडा टेकाउन खोज्नु हुन्छ । नेताहरु टाढा छन् , तपाईहरु हाम्रो पहुचमा हुनुहुन्छ अव हामी तपाईलाई फेरि पनि प्रश्न सोध्छौं नेताहरुले देशलाई यसरी ठगी रहदा, यसरी लुटी रहदा, हामीले वुझाएको सम्पन्न र आत्मनिर्भर देश नेताहरुले क्षतविक्षत पारि रहदा तपाइहरुले नेताहरुलाई किन प्रश्न गर्नु भएन ? हामी जनतालाई किन उत्तर दिनु भएन ?

धन्यवाद ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।