अरब सागरको चक्रवात ‘ताउ–ते’ को असर नेपालमा पनि, मेघगर्जन र हावाहुरीको सम्भावना


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित




फाईल तस्बिर ।

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ‘ताउते’का कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ ।

चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ ।

बुधबार बेलुकादेखि शुक्रबारसम्म कर्णाली, सुदूपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

नेपालमा चक्रवातको अप्रत्यक्ष प्रभाव मात्र रहने तथा ठूलो वर्षा र हावाहुरीको सम्भावना नरहेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । चक्रवातको प्रभाव शुक्रबारसम्म रहने बताइएको छ ।

मुलुकभर यस याममा प्रिमनसुनको गतिवधिका कारण मेघगर्जन/चट्याङ/ हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउनसमेत अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।