तस्बीरः गुगलबाट
पोखरामा आज (बुधबार) बिहानै भारी वर्षा भयो। पश्चिमी वायु, पूर्वी वायु र स्थानीय वायुको प्रभावका कारण आज विहान ५ बजे पोखरामा भारी वर्षा भएको थियो।
केही दिन यता दिउँसो मात्र मेघ गर्जनसहित चट्याङ र वर्षा हुने गरेकोमा आज विहानै पोखरामा भारी वर्षा भएको थियो।
केही दिन यता गण्डकी प्रदेश लगायत देशका केही पहाडी भूभागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहँदै आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागहरुमा अझै केही दिन मेघ गर्जनसहित चट्याङ र वर्षा हुने जनाएको छ।
तराईका केही स्थानमा विशेषगरी पोखरा लगायत प्रदेश नम्बर २, अनि चितवन, धादिङका केही निश्चित स्थान साथै पोखरातिर पनि हल्का वर्षा भएको थियो। वर्षा कम हुँदै गएर अहिले पोखरामा मौसम बदली देखिएको छ।
यस्तै आज दिउँसो पनि गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने संभावना छ।
यस्तै राति गण्डकी प्रदेश लगायत प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
आज साँझपख काठमाडौं उपत्यकामा पनि वर्षा हुने संभावना रहेको मौसमविद्हरुले जनाएका छन्।
वर्षा याम सुरु गराउने मौसम प्रणाली अर्थात मनसुन नेपालमा भित्रिनै लागेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी क्षेत्रको आकाशमा मनसुनी बादल प्रवेश गरिसकेको छ। मनसुन जहिले पनि नेपालको पूर्वी क्षेत्रबाट प्रवेश गर्ने हो।
मनसुन भित्रिनै लागेकाले अहिले देशका धेरै स्थानमा बादल लागेको छ। काठमाडौं उपत्यकामा पनि चिसो महसुस गरिएको समाचार छ।
मनसुन अब १÷२ दिनभित्रमै मनसुन नेपाल प्रवेश गर्ने सम्भावना छ। मौसमविद्हरु मौसमका बारे निरन्तर अध्ययनमा छन्। आजै वा भोलीसम्म यस विषयमा बुलेटिन जारी गर्ने तयारीमा मौसमविद्हरु छन्।
मौसमविद्हरुका अनुसार मनसुन बंगालको खाडीमा आइपुगेको छ। दक्षिण हिन्द महासागरअन्तर्गत पूर्वी अफ्रिकाको म्यातागासकार टापुनजिक समुद्रमा बन्ने उच्च चापीय क्षेत्रबाट मनसुन विकास भएर बंगालको खाडी हुँदै नेपाल प्रवेश गर्छ।
सतर्कता अपनाउन आग्रह
यसपटक अधिक वर्षा हुने भनेर मौसमविद्हरुले २ महिनाअघि नै सूचना सार्वजनिक गरिसकेका छन्। यस वर्ष बाढी आउने, पहिरो जाने तथा डुबान हुने क्षेत्रमा सम्बन्धित निकाय तथा नागरिकले क्षतिबाट बच्ने तयारी गर्न उनीहरुले सुझाव दिएका छन्।
‘अझै पनि तयारी गर्ने समय छ। सुरक्षित स्थानमा सर्नुपर्ने हुन्छ। यस्ता विषयमा पहिले ध्यान दिन सकियो भने क्षतिबाट बच्न सकिन्छ, मौसमविद्हरुको सुझाव छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






