१४ असार, पोखरा । पोखरामा बुधवारदेखि शुरु जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन जारी रहेको छ । जलवायु उत्थानशीलता वृद्धि र जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने उपायको खोजी गर्न विभिन्न क्षेत्रका ६० युवा अभियन्ता पोखरामा भेला भएर छलफल गरिरहेका हुन् ।
नेपाल यूयस एलुमनाइ नेटवर्क (नुसान)को आयोजना, रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान संस्थान (आईएसएसआर) को सहआयोजनामा र नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सम्मेलन सुरु भएको हो ।
नुसानका महासचिव प्रदीप खतिवडाका अनुसार बुधबार सहभागीले समुदायस्तरमा जलवायु परिवर्तनको प्रभावको सम्बोधन, वैकल्पिक उर्जाको प्रयोग, जलवायु शिक्षा, महिला र युवाको संलग्नतालगायत विषयमा अन्तरक्रिया गरे । आज जलवायु परिवर्तनको प्रभावले निम्त्याउने हानी नोक्सानी र विपद्मा युवाले खेल्नुपर्ने भूमिकाका बारेमा बुझ्न प्रत्यक्ष सहभागी भइरहेका छन् ।
सम्मेलनको बुधवार उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जलवायु परिवर्तनका प्रभावका विरुद्ध लड्न स्थानीय सरकार र सरोकारवालासँग सहकार्यको आह्वान गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा जलवायु परिवर्तनका सम्बन्धमा कार्य गर्नकालागि बजेट विनियोजन गरेको जानकारी दिए ।
उनले पहाडी क्षेत्रमा प्राकृतिक प्रकोपको प्रभाव न्यूनीकरण गर्न जथाभावी सडक खन्ने कार्यलाई निरुत्साहित गर्ने, वन डढेलो कम गर्न जनचेतामूलक कार्यक्रम सञ्चालन गर्ने जनाए ।
पोखरा महानगर प्रमुख धनराज आचार्यले वि.सं. २१०० सम्म पोखरालाई कार्बन तटस्थ सहर बनाउने लक्ष्यअनुरुप तर्जुमा भएको कार्बन तटस्थ रणनीतिक कार्ययोजना आगामी आर्थिक वर्षदेखि क्रमशः कार्यान्वयन गर्दै लैजाने बताए । उनले दुई वर्षभित्र पोखरालाई हरित नगरको रुपमा विकास गर्न वन विज्ञान अध्ययन संस्थानसँगको सहकार्यमा दुई लाख बिरुवा रोप्न बजेट विनियोजन गरेको सुनाए । आगामी आर्थिक वर्षदेखि नै ४० माइक्रोनभन्दा कमको प्लास्टिक झोलालाई पूर्णरुपमा प्रतिबन्धित गर्ने, महानगरभित्र चल्ने सवारीसाधनमा प्रदूषण जाँचसहित हरियो स्टिकर लगाउने व्यवस्था गर्ने उल्लेख गरे । उनले महानगरपालिका र नेपाली सेनाको सहकार्यमा हिमाल सरसफाई अभियान शुरु गरेको पनि बताए ।
अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख ग्यारेट विल्करसनले अमेरिकाले कार्बन उत्सर्जन कम गर्न २ सय ७० बिलियन डलरभन्दा बढी लगानी गरेको उक्त अवसरमा बताए । जलवायु परिवर्तनबाट उत्पन्न संकटको न्यूनीकरणका लागि यूएसएड मार्फत अनुकूलन योजना लागू गरेको सुनाए । उनले प्रकोप उत्थानशिलताकालागि स्थानीय र राष्ट्रिय सरकारलाई सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे । ‘प्रकोप उत्थानशीलताका लागि स्थानीय र राष्ट्रिय सरकारलाई सहयोग गर्न प्रतिबद्ध छौं,’ उनले भने, ‘जलविद्युत् विकासमा सहायता प्रदान गर्ने छौं । नेपाल सरकार र सरोकारवालासँग सहकार्य गर्न तयार छौं ।
सम्मेलन आज समापन हुने नुसानका सचिब बामनप्रसाद घिमिरेले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १० पोखरामा असार १४ गते रोपाईं महोत्सव हुने भएको…






