पिताम्बर एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन


     एभरेस्ट आवाज    
     चैत्र २५ गते २०८२ मा प्रकाशित




नेपाल ह्यान्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिना एशियन युथ एण्ड स्कुल ह्याण्डबलको काउन्सिल सदस्यमा मनोनयन भएका छन् ।

एशियाली ह्याण्डबल महासंघले उनलाई सन् २०२५ देखि २०२९ सम्मका लागि चार वर्षे कार्यकालका लागि नियुक्त गरेको जानकारी गराएको हो ।महासंघका महासचिव मोहम्मद सफिक र प्राविधिक निर्देशक जसिम अल थायेबले हस्ताक्षर गरेको पत्रमार्फत तिम्सिनाको मनोनयनले एशियाली क्षेत्रका युवा तथा विद्यालयस्तरीय ह्यान्डबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । एशियन युथ एण्ड स्कुल ह्याण्डबल, एशियाली ह्याण्डबल महासंघको एक महत्वपूर्ण अङ्गको रूपमा मानिन्छ ।तिम्सिना नेपाली खेलकुद क्षेत्रका अनुभवी तथा सक्षम व्यक्तित्व हुन् ।

उनले यसअघि नेपाल ओलम्पिक कमिटिमा उपमहासचिव र राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । साथै १३औं दक्षिण एसियाली खेलकुद उनी ‘सेफ अफ द मिसन’ को भूमिकामा पनि रहेका थिए ।उनको यो मनोनयनले नेपाली ह्यान्डबल मात्र होइन, समग्र खेलकुद क्षेत्रकै प्रतिष्ठा वृद्धि भएको मानिएको छ ।

आगामी दिनमा एशियाली स्तरमा युवा तथा विद्यालय ह्यान्डबलको नीति निर्माण र विकासमा तिम्सिनाको सक्रिय भूमिका रहने अपेक्षा गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।