पोखरामा भलले बगाउँदा आमा-छोरीको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८३ मा प्रकाशित




पोखरा — पोखरामा सडक नालीबाट आएको पानीको भलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका–३० ढुङ्गेपाटन बस्ने २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहाल रहेका छन्।
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) कास्कीका अनुसार २०८३ साल भदौ १२ गते दिउँसो करिब ४ बजे सुष्मा ग १३ प २८५९ नम्बरको स्कुटरमा बिरौटाबाट पृथ्वीचोकतर्फ आउँदै थिइन्।
पोखरा महानगरपालिका–१७ हर्कमेयर चोकमा स्कुटर साइड लगाएर झरी हिँड्ने क्रममा सडक नालीबाट आएको पानीको भलले सुष्मा र उनकी छोरीलाई बगाएको थियो।
घटनाको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा दुवै जनालाई ४ बजेर २३ मिनेटमा पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।
उद्धारपछि उनीहरूलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा सुष्माको सोही दिन राति ९ बजेर ४० मिनेटमा मृत्यु भएको हो।
उनकी दुई वर्षीया छोरी रानीका दाहालको भने भदौ १३ गते बिहान १ बजेर २१ मिनेटमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुवैको शव गण्डकी मेडिकल कलेजमै राखिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।