‘ग्लोबल गभर्नेन्स् फोरम’मा भाग लिन पूर्वराष्ट्रपति विद्या भण्डारी चीन प्रस्थान


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०८३ मा प्रकाशित




पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

चीनको हपवे प्रदेशको स्योङआनमा आयोजना हुन लागेको ‘ग्लोबल गभर्नेन्स् फोरम’मा सहभागी हुनका लागि उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् । परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण ‘थिम’ रहेको उक्त ग्लोबल गभर्नेन्स सम्मेलन यही अक्टोबर २३ देखि २५ सम्म आयोजना हुदैँछ । सो सम्मेलनलाई पूर्वराष्ट्रपति भण्डारीले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । उक्त सम्मेलनअन्तर्गत अक्टोबर २४ र २५ मा विभिन्न विषयमा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक पनि आयोजना गरिएको छ ।

फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तरराष्ट्रिय प्रणालीको संरक्षण, विश्व शान्ति र शान्ति स्थापना कार्यमा आवश्यक पर्ने सुधार, बहुपक्षीयताको प्रवद्र्धन, अन्तरराष्ट्रिय सम्बन्धमा विकासशील मुलुकको बढ्दो भूमिका तथा अन्तरराष्ट्रिय व्यापारमा ‘ग्लोबल साउथ’का मुलुकको भूमिकालगायतका विषयमा छलफल हुनेछ । त्यसैगरी सो सम्मेलनमा जलवायु परिवर्तन र यसको असर, हरित तथा न्यून कार्वन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर स्पेसलगायतका विषयमा पनि बहस हुने बताइएको छ ।

पूर्वराष्ट्रपति भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।