पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते


     एभरेस्ट आवाज    
     कार्तिक ५ गते २०८३ मा प्रकाशित




पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यु भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित कोशी लोकमार्गमा को २७ प २०३६ नम्बरको मोटरसाइकलाई प्र १–०२–००१ ख ९९८५ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी–८ का ६२ वर्षीय छत्रबहादुर भण्डारीको मृत्यु भएको छ ।यस्तै, मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा बा प्र ०८¬–००१ ह ०१०५ नंको अटो ‘ब्रेक फेल’ भई दुर्घटना हुँदा ४५ वर्षीय सन्तबहादुर माझीको मृत्यु भएको छ । मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडकमा प्र १–०१–२४५ प ६३८० नम्बरको मोटरसाइकलले सोही ठाउँका ७० वर्षीय बलबहादुर विकलाई ठक्कर दिँदा निजको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पृथ्वीराजमार्ग हुँदै तनहुँको डुम्रेबाट दमौलीतर्फ गइरहेको बा १८ च ४५८७ नम्बरको गाडीले व्यास नगरपालिका–१ अम्रेनी भन्ने स्थानमा ठक्कर दिँदा ४० वर्षीय एक पुरुषको मृत्यु भएको छ । निजको पहिचान नखुलेको प्रहरीले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।