फाइल फोटो
सन्देश श्रेष्ठ
पोखरा, कात्तिक ५
नेपालीको महान चाँड बडादशैंको टिकाको दिन कास्कीमा ट्राफिक नियम उलंघन गर्ने ४० जना सवारी चालक कारबाहीमा परेका छन् । टिकाको दिन सवारी साधन पातलिएको अवस्थामा पनि ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
त्यस्तै, यात्रुसँग बढी भाडा लिने दुईवटा सार्वजनिक सवारीसाधन र क्षमताभन्दा बढी यात्रु बोक्ने तीनवटा सवारीसाधनलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी तथा प्रहरी सहायक निरीक्षक जनक रिजालले जानकारी दिए ।
यसैगरी मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने १८ जनालाई कारवाही गरिएको छ । त्यसबाहेक मोवाइल फोनमा कुरा गर्दै सवारी चलाउने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक नभएका तथा नवीकरण नगरेका, हेलमेट नलगाई सवारी चलाउनेजस्ता लापरबाहीपूर्वक सवारी चलाउने १७ जनालाई पनि कारवाही गरिएको उनले बताए ।
टिकाको दिन कास्कीमा एउटा सवारी दुर्घटनामा परेको जनाइएको छ । पोखरा विरौटास्थित बराल पेट्रोल पम्प क्षेत्रमा भएको स्कुटर दुर्घटनामा एक महिला घाईते भएकी छन् । उनको उपचार भइरहेको रिजालले जानकारी दिए ।
दशैंमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले कास्कीका आठ स्थानमा ट्राफिक चेकजाँच गरिएको थियो । रिजालका अनुसार पोखराको नयाँबजार, बगरस्थितट्याक्सीचोक, घारीपाटन, मिलनचोक, पेन्सनक्याम्प, अर्घौं, छोरेपाटनस्थित बरको बोट क्षेत्रमा चेकिङ गरिएको थियो । ट्राफिक व्यवस्थापन तथा चेकजाँचका लागि २४ जना प्रहरी परिचालन गरिएको बताउँदै उनले भने,‘सम्भावित दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले चेकजाँच गरिएको हो, सँगै सवारी चालकलाई सचेत पनि गराउने उद्धेश्य हो ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ५ नेपालीको महान चाँड बडादशैंको टिकाको दिन कास्कीमा ट्राफिक…







