पोखराको अमरसिंहचौरमा पितृमोक्ष श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०८३ मा प्रकाशित




पोखरामा पितृमोक्ष श्रीमद्भागवत ज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती सुरु भएको छ ।

पोखरा महानगरपालिका–१२, अमरसिंह चोकस्थित श्री अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा मंसिर १० देखि १७ गतेसम्म महायज्ञ सञ्चालन भएको हो । महायज्ञको पहिलो दिन बिहीबार बिहान कलश तथा शोभायात्रा निकालिएको छ । विभिन्न बाजागाजा, भजनकीर्तनसहित नगर परिक्रमा गरी जल तथा फूलपाती महायज्ञस्थलमा स्थापना गरेर महायज्ञको समुद्घाटन गरिएको छ । उद्घाटन पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गरे । उनले युवाहरुको धार्मिक अभिरुचीको प्रशंसा समेत गरे । त्यस्तै संस्कार, संस्कृति, धर्म परम्परालाई संरक्षण गर्नु युवाको पनि दायित्व रहेको उनले बताए ।बिहीबार कलश यात्रा सहित औपचारिक उद्घाटन गरिएपनि ज्ञान प्रवचन भने शुक्रबारदेखि शुरु हुने आयोजकले जनाएको छ ।

लालीगुराँस एकता युवा क्लबको मुख्य आयोजनामा अमरसिंह माध्यमिक विद्यालयका विपन्न तथा असहाय विद्यार्थीहरूको शैक्षिक सहयोगार्थ महायज्ञ आयोजना गरिएको हो । महायज्ञ अवधिभर प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म श्रीमद्भागवत पाठपारायण, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, प्रह्लादशान्ति पूजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजनलगायत धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् । यसैगरी पितृको फोटो राखी पितृ तर्पण, तुलादान, विवाह, व्रतबन्ध, गुन्यूचोली तथा आरती अर्पणसमेत गरिने आयोजक क्लबका अध्यक्ष कृष्ण थापा मगरले जानकारी दिएका छन् ।

त्यस्तै मंसिर १६ गते साँझ ६ बजे लक्षदीप प्रज्वलन तथा मंसिर १७ गते दिउँसो ४ बजे भागवतको पुस्तिका तिलार्पण गर्ने कार्यक्रम तय गरिएको क्लबका कोषाध्यक्ष, मुल आयोजक समितिका अर्थिक व्यवस्थापन तथा सचिवालय संयोजक दिपेन्द्र बस्नेतले जानकारी दिए । महायज्ञमा प्रसिद्ध कथावाचक पण्डित श्री शुकदेव शरणबाट संगीतमय श्रीमद्भागवत ज्ञान प्रवचन तथा देवलीला प्रस्तुत गरिने आयोजकले जनाएको छ । त्यस्तै उपवाचकमा श्रीकृष्ण शरण आचार्य रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।