आजदेखि ५ दिन बैंक नखुल्ने


     एभरेस्ट आवाज    
     कार्तिक ७ गते २०७७ मा प्रकाशित




नेपालीको महान चाँड बडादशैंको सातौं दिन अर्थात आज फूलपातीदेखि पाँच दिन बैंकहरु नखुल्ने भएका छन् । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को संक्रमणका कारण बैंकहरुले शाखाहरु नखोल्ने जनाएका हुन् । बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्नसक्ने सम्भावना देखिएकाले दशैंको सातौं दिन फूलपातीदेखि दशैंको मुख्य दिन बिजयादशमीको भोलिपल्टसम्म नखोल्ने निर्णय गरिएको जनाएको छ ।

विगतका भने बैंकहरुले दशैंको बिदाका दिनहरुमापनि सिमित शाखाहरु खोलेर सेवा प्रवाह गरेका थिए । बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सरकारले तोकिएअनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै वाणिज्य बैंकका शाखा बन्द गर्ने निर्णय भएको जानकारी दिए । ‘दशैंँमा कम आवतजावत हुन्छ, सीमित बैंक मात्र खुला गर्दा बढी भिीभाड हुन सक्छ’, उहाँले भन्नुभयो, ‘अधिकांश बैंकका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमणको जोखिम लिनुभन्दा पाँच दिन बन्द गर्दा उपयुक्त हुने निष्कर्षसहित बन्द गरिएको हो ।’

हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको बताएका छन् ।

सामान्यतया राष्ट्र बैंक खुल्ने दिन र समय बैंकबाट नियमन हुने सबै बैंक तथा वित्तीय संस्था खुला हुनुपर्छ भन्ने मान्यता छ । तर बैंकर्स संघले विषम परिस्थितिका कारण वर्तमान अवस्थामा बैंक खुला गर्न बाध्यकारी नहुने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।