गोरखाको चुमनुब्रीबाट जटिल स्वास्थ्य अवस्था भएका दुई महिलाको हवाई उद्धार


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०८३ मा प्रकाशित




गोरखाको चुमनुब्रीबाट गर्भवती र सुत्केरी महिलाको हवाई उद्वार गरिएको छ ।

चुमनुव्री गाउँपालिका वडा नं. ३, सानो फिलिमकी ३१ वर्षीय सुन्तली गुरुङले जन्म दिएको शिशुको तौल कम भएको र उक्त शिशुलाई थप उपचार गर्न नसके ज्यान जोखिममा पर्नसक्ने देखिएपछि हेलिकप्टरबाट हवाइ उद्वार गरिएको हो । २८ हप्ताको गर्भावस्थामै सुत्केरी व्यथा लागेर सिर्दिवास स्वास्थ्य चौकीमा उपचारका लागि उनी भर्ना भएकी थिईन् । उपचारकै क्रममा आइतबार बिहान उक्त स्वास्थ्य चौकीमा निजको गर्भबाट छोराको जन्म भएको थियो ।समय नपुग्दै जन्मिएको उक्त शिशुको तौल १ केजी रहेको थियो ।त्यस्तै सिर्दिवास देवल गाउँकी २३ वर्षीय गर्भवती महिला सुप्रिया गुरुङको अनुमानित सुत्केरी हुने मिति कटिसकेको र जुनसुकै अवस्थामा जोखिममा पर्नसक्ने भएकोले उनको पनि उद्धार गरिएको गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दुवै जनालाई मन्त्रालयको समन्वयमा संघीय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, मार्फत नेपाली सेनाको हेलिकप्टरबाट हवाइ उद्वार गरिएको हो । दुवै जनाको कान्ति बाल अस्पतालमा भर्ना गरी थप उपचार भईरहेको स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका अधिकृत एवम हवाइ उद्वार कार्यक्रमका फोकल पर्सन बुद्धिसागर अधिकारीले जानकारी दिए । जटिल अवस्थामा रहेका उनीहरुलाई प्रमुख कन्सल्टेण्ट स्त्री तथा प्रसुती रोग विषेशज्ञ तथा मातृशिशु मितेरी प्रादेशिक अस्पताल, पोखराका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रेखा पौडेलसहितले विषेशज्ञ चिकित्सकीय सल्लाह प्रदान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।