नेपालकै पर्यटकीय राजधानी पोखराको मुटु लेकसाईड (तस्बिर सौजन्य : उमेश पुन)
विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) गत चैतको शुरुदेखि नेपाल भित्रियो । कोरोना भित्रिएसँगै नेपालमा चैत ११ गतेदेखि लकडाउन भयो । लकडाउनसँगै उद्योग, कलकारखाना, ब्यापार, ब्यबसाय, यातायातलगायत सबै ठप्प भए । पर्यटन त झन् भन्नै परेन । पर्यटक बोलाएर उनीहरुलाई सेवा दिएर आम्दानी गर्नुपर्ने क्षेत्र पर्यटक नै नआएछि मारमा पर्ने नै भयो । यो समस्या १, २ वा ३ महिना होईन लगातार ८ महिना बितेको छ ।
गत असारताका सरकारले मौद्रिक नीति ल्याउँदा पर्यटन व्यवसायी बडो उत्साहित थिए । सरकारले ‘व्यवसाय पुनरुत्थान कोष’मा बजेटमार्फत ठूलै रकम राखिदिएपछि उनीहरु आशावादी हुनु स्वाभाविकपनि थियो । तर त्यहि कोष ‘आकाशफल आँखा तरि मर’ हुन्छ भन्ने उनीहरुलाई के थाहा ? अहिले पर्यटन व्यवसायीलाई त्यस्तै भइरहेको छ ।
सरकारले ल्याएको ‘व्यवसाय पुनरुत्थान कोष’लाई व्यवसायीले सञ्जिवनी सोंचेका थिए । जसको प्रयोगले शिथिल पर्यटन बौरिन्छ भन्ने उनीहरुको आशा थियो । तर बजेट आएको ४ महिना बित्दापनि त्यो कोषबाट रकम पाउनु त परको कुरा, पाउने आशा नै मर्दै गएको छ । जसका कारण पर्यटन ब्यवसायी उत्साहित हुनुको सट्टा निरुत्साहित भएका छन् ।
त्यस्तै, बैंकलेपनि त्यतिखेर व्यवसायीलाई किस्ता र ब्याज तिर्न ताकेता नगर्ने भनेको थियो । अनि ऋणपनि पुर्नतालिकीकरण गरेर सहज वातावरण बनाई दिने भन्यो । तर बैंकलेपनि ब्यबसायीलाई लोप्पा खुवाईदिएको छ । आफैले गरेको बाचा बिर्सेर तारन्तार फोन गरेर अहिले ब्यबसायीलाई आतंकित पारिरहेको छ । एकातिर बैंकले किस्ता र ब्याज तिर्नका लागि ताकेता गरिरहेको छ, अर्कोतिर घरबेटीले घरभाडा तिर्न दवाब दिइरहेको छ । यहि बिचमा रुमल्लिएका छन् पर्यटन व्यवसायी ।
सरकारले भदौको मध्यदेखि ब्यबसाय सञ्चालन गर्न अनुमति त दियो, तर जटिल खालको स्वास्थ्य प्रोटोकल तोकेर । त्यसलाईपनि मानेर व्यवसायीले होटल, रेष्टुरेण्ट खोल्ने प्रयास त गरे तर पर्यटक नै नआएपछि कसको के लाग्छ र ? पर्यटक आओस्पनि कसरी ? जोखिम झन् बढ्दो छ । कोरोना संक्रमणको ग्राफ दिन दुई गुणा, रात चौगुणा गरेर बढिरहेको छ । व्यवसाय खोलेपछि झन् दुर्दशा शुरु भयो पर्यटन व्यवसायीको । होटल, रेष्टुरेण्ट खोलेपछि घरबेटीले अबचाहिं आम्दानी भयो भन्ने सोंचेर घरभाडा माग्न थाले । तर व्यवसायीको ब्यथा कसले बुझ्ने ? त्यहि भएर कतिपयले व्यवसायबाटै हात धोएका छन् । अर्थात पलायनको बाटो रोजेका छन् । यसरी पर्यटन व्यवसायमा पलायनको बाटो रोज्ने १५ देखि २० प्रतिशत रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिवी पोखरेल बताउँछन् । यो समस्या अझै केहि समय लम्विने हो भने त्यो ग्राफ बढेर ५० प्रतिशतसम्म पुग्नसक्ने उनको अनुमान छ । उनको भनाईमा सहमति जनाउँछन् पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन । भन्छन्,‘यस्तै हो भने त धेरै छाड्छन् व्यवसाय ।’
पोखरा पर्यटन परिषदका अध्यक्ष पोखरेले सरकारले आफूहरुलाई झुक्याएको आरोप लगाउँछन् । सरकारले मौद्रीक नीति ल्याउँदा ब्यबसायीलाई सम्बोधन गर्न खोजेको हो कि भन्ने लागेको थियो,‘उनले भने, तर कार्यान्वयनको पाटोमा अप्ठेरा शर्तहरु देखाउँदा यो हाम्रा लागि “आकाशको फल, आँखातरी मर”जस्तो भएको छ ।’ उनले ब्यबसाय पुनरुत्थान कोष कार्यान्वयन हुनेमा शंका व्यक्त गर्दै त्यसको रकम साना व्यवसायीले पाउने सम्भवानापनि आफूले नदेखेको बताए । सरकारका कारण व्यवसायी थप समस्यामा परिरहेको टिप्पणी गर्दै उनले भने,‘सरकार आफू त डुब्यो, डुब्यो, पर्यटन क्षेत्रलाईपनि लामो समयसम्म डुबाउँछ कि भन्ने देखियो ।’ उनले वर्षौदेखिको अनुभवी पर्यटन व्यवसायी पलायन हुँदा समग्र पर्यटन क्षेत्रलाई नै असर पर्ने चेतावनी दिए । होईन भने सरकारले पर्यटन सम्बन्धि छुट्टै नीति बनाएर व्यवसाय पुनरुत्थान कोष कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ । उनले बैंकलेपनि समस्या बुझेर समाधानका लागि तत्परता देखाउनुपर्ने बताए ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनपनि शिथिल पर्यटन उकास्न न सरकार न पर्यटन कार्यालय कसैलेपनि कसैले तदारुकता नदेखाएको गुनासो गर्छन् । पर्यटन चलायनमान बनाउने सरकारले नीति नै नबनाएको टिप्पणी गर्दै उनले भने,‘सरकारले ब्यबसायीको मनोवल बढाउनै सकेन ।’ होटल, रेष्टुरेण्ट खोल्यो कि घरवेटी घरभाडा माग्न आउने गर्दा व्यवसायी त्रसित बनेको भन्दै उनले भने,‘सरकारले ब्यवसाय पुनरुत्थान कोष त ल्यायो, तर कार्यान्वयन गरेन । होटल रेष्टुरेण्ट खोल भन्छ तर खोल्ने वातावरण बनाउँदैन । अनि कसरी खोल्नु होटल ? ।’ अहिले खासगरी मुक्तिनाथ दर्शनका लागि भारतीय आउने उपयुक्त समय भएपनि उक्त क्षेत्र बिना जोखिम घुम्न सकिन्छ भनेर राज्यले सन्देश दिनै नसकेको उनको भनाई छ । उनले अहिले करीब १५ प्रतिशतले होटल व्यवसाय छाडेर पलायन भएपनि तिहार पछिपनि यस्तै अवस्था रहे धेरैले व्यवसायबाट हात धुनसक्ने बताए । उनले पोखराका लागि मात्र पर्यटन नआउने भन्दै मर्दि हिमाल ट्रेक, अन्नपूर्ण सर्किट, घान्द्रुक, धम्पुसलगायतका क्षेत्र खुलाउन पहल गर्नुपर्ने बताए । विदेशी पर्यटकलाई घुम्न आउँदा कोरोना संक्रमण भईहाल्यो भने कुन कुन हस्पिटलमा कस्तो उपचार हुन्छ भनेर आश्वास्त पार्न सके पर्यटक आउन तयार रहेको उनको भनाई छ । नत्र आईज भनेर मात्र पर्यटक नआउने उनले टिप्पणी गरे ।
रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराका निवर्तमान अध्यक्ष भीमसेन भुजेल सरकारले पर्यटन व्यवसायीलाई बेवास्ता गर्दा स्थिति भयावह बन्दै गएको बताउँछन् । रेष्टुरेण्ट चलेमात्र घरभाडा तिर्ने हो, ऋण र ब्याज तिर्ने हो,‘उनले भने,‘रेष्टुरेण्ट नै नचलेपछि कसरी तिर्ने ? ।’ उनले रेष्टुरेण्ट खोल्ने वित्तिकै घरभाडा माग्न आउने घरवेटी र बैंकको फोनले धेरै व्यवसायी आतंकित बनेको बताए । अहिलेसम्म १५ प्रतिशतजति व्यवसायी पलायन भइसके,‘उनले भने,‘यस्तै हो भने धेरै पलायन हुन्छन् ।’ उनले अहिले धेरै व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको र तिहारपछि पनि स्थिति नसुध्रिए व्यवसाय छाड्ने मनस्थितिमा रहेको बताए ।
टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष हरी भुजेल नेपालकै कुल बजेट बराबरको लगानी पर्यटन क्षेत्रमा भएपनि त्यसलाई राज्यले बेवास्ता गर्दा लगानी धरासायी हुने अवस्थामा पुगेको बताउँछन् । ब्यबसाय पुनरुत्थान कोष हात्तीको देखाउने दाँतजस्तो भएको टिप्पणी गर्दै उनले भने,‘यसले राज्य गम्भीर छैन भन्ने प्रष्ट देखाउँछ ।’ पर्यटक अहिलेपनि आउन तयार छन्,‘उनले भने,‘तर सरकारकै तयारी छैन, बुकिङ लिईसक्दापन अन्नपूर्ण सर्किट कहिले खुल्छ भनेर भन्न सकिने अवस्था छैन ।’ उनले पर्यटन क्षेत्र धरासायी भए त्यसको असर व्यवसायीमात्र नभई किसानसम्मपनि पर्ने चेतावनी दिए । राज्यले व्यवसाय पुनरुत्थान कोषको रकम सहज बनाएर व्यवसायीले पाउने वातावरण बनाउनुपर्ने तथा पर्यटन नीति बनाएर पर्यटक आउने वातावरण बनाउनुपर्ने उनको भनाई छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १३ भदौ । सहारा क्लब पोखराले आयोजना गरेको ‘समर हाइकिङ फर…





