२६ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप माघको पहिलो साता हुने


     एभरेस्ट आवाज    
     कार्तिक ६ गते २०८३ मा प्रकाशित




२६ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आगामी माघको पहिलो साता हुने भएको छ ।

सहारा क्लब पोखराले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगिता आगामी माघ ५ गतेदेखि १६ गतेसम्म पोखरा रंगशालामा आयोजना गरिने जनाएको छ । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं भन्ने उद्घोषका साथ २६ वर्षसम्म निरन्तर संचालनमा रहेको सो प्रतियोगितालाई हिम श्री फुड्स प्रा. लि.को उत्पादन आहा रारा तयारी चाउचाउको मुख्य प्रयोजना रहेको छ । आयोजक सहारा क्लबले पोखराको फुटबल विकास, खेलकुदको प्रवर्द्धन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको पहिचान अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाली फुटबलको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाउको छ ।

प्रतियोगिताले प्रतिभाशाली खेलाडीहरूलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पोखरालाई खेलकुद पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्नसमेत सहयोग पुर्‍याउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।प्रतियोगितामा सहभागी हुने टिमहरू, खेल तालिका, पुरस्कार राशि, प्रायोजक तथा अन्य आवश्यक विवरणहरू केही समय पछि सार्वजनिक गरिने बताईएको छ । प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न क्लबले आवश्यक तयारी अघि बढाएको जनाएको छ । पोखरा महानगरपालिकाको संरक्षकत्व, राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, नेपाल पर्यटन बोर्ड, कास्की जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटबल संघ, लुम्विनी विकास बैंक, नमस्ते एजुकेशन कन्सल्टेन्सी, बुद्द एयर, सहारा युके, हङकङ, अष्ट्रेलिया, समाजसेवी, लोक दोहोरी गायक तथा कानुन व्यवसायी देव गुरुङ हङकङ, सर्वोत्कृष्ट राष्ट्रिय वर्ष खेलाडी पुरस्कार प्रायोजन मानार्थ सदस्य खेमबहादुर गुरुङ आदिको सहयोगमा सञ्चालन हुँदै आएको छ ।

यस अघिका प्रतियोगिता सफल भएको भन्दै क्लबले आगामी संस्करणलाई पनि सफल बनाउन आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।