बेँसीशहर नगरपालिका–७ का खेमजङ्ग गुरुङले व्यावसायिकरूपमै बट्टाई चरा पाल्न थालेका छन् । भारतीय सेनाबाट सेवा निवृत्त भएपछि उनले आफ्नै घरमा शुरु गरेको यो व्यवसायबाट राम्रो आम्दानी हुनाका साथै समयको पनि सदुपायेग हुने भएकाले यसलाई व्यावसायिकरूप दिन थालेका हुन।
पछिल्लो समय बट्टाईको माग बढ्दै गएकाले बजारको मागलाई दृष्टिगत गरी रू ५० लाख लगानी गरेर ७०० वटा बट्टाई अट्ने खोर निर्माण गरी पहिलो चरणमा २०० वटा चल्लाबाटै व्यवसाय शुरु गरेको उनको भनाइ छ । गुरुङ भनछन्, “राम्रो हुँदै गएमा आगामी दिन यो व्यवसायलाई विस्तार गर्दै लानेछु । अहिले चल्ला ठूलो भएर अण्डा उत्पादन गर्न थालेको र बिक्री वितरणसमेत शुरु भैसकेको छ । दैनिक एक हजार अण्डा उत्पादन भइरहेको र अण्डासँगै माउ पनि बिक्री हुन थालेको छ ।”
अहिले बट्टाईको अण्डा प्रतिगोटाको १० रुपियाँ देखि १५ रुपियाँ सम्म पर्छ । त्यस्तै एक जोडी माउको ५०० रुपियाँ पर्छ । बट्टाईको अण्डा तथा मासु स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले पछिल्लो समय यसको माग पनि बढेको हो । सामान्यत बट्टाईले ४० दिनदेखि ४४ दिनभित्र अण्डा दिने गरेको छ । यसको अण्डा तथा मासुले विभिन्न प्रकारका रोगसमेत निको हुने बताइएकाले स्थानीयबासीको रोजाइमा पनि उक्त चराको अण्डा तथा मासु पर्न थालेको छ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।