नेउवा संघको केन्द्रीय सदस्य पदमा पोउवा संघका अध्यक्ष दामु अधिकारीको उम्मेदवारी


     एभरेस्ट आवाज    
     कार्तिक २६ गते २०७७ मा प्रकाशित




कार्तिक २६ पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा केन्द्रीय कार्यकारिणी समिति सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिको २४ औं बैठकले अध्यक्ष अधिकारीलाई संस्थापक सदस्यमध्येबाट महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेसँगै उहाँको उम्मेदवारी दर्ता भएको हो । पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले बुधबार अनलाइनबाटै उम्मेदवारी दर्ता गराएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुसार संस्थापक सदस्यहरुमध्येबाट एकजना केन्द्रीय सदस्य हुन पाउने प्रावधान रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघमा पोखरा उद्योग वाणिज्य संघ, झापा चेम्बर अफ कमर्स र चेम्बर अफ इन्डष्ट्री भद्रपुर,मोरङ मर्चेण्ट एसोसियसन विराटनगर, सुनसरी चेम्बर अफ कमर्स, धरान,सप्तरी चेम्बर अफ कमर्स राजविराज,जनकपुर चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री जनकपुर,चितवन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री चितवन,स्याङ्जा उद्योग वाणिज्य संघ स्याङ्जा,बुटवल उद्योग वाणिज्य संघ, बुटवल,सिद्धार्थनगर उद्योग वाणिज्य संघ,भैरहवा र बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ गरि १२ वटा उद्योग वाणिज्य संघ संस्थापक सदस्यहरु रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारण सभा यही मंसिर ११,१२ र १३ गते काठमाडौंमा हुन गइरहेको छ ।

साधारण सभाअन्तर्गतको निर्वाचन कार्यक्रमले महासंघको नयाँ नेतृत्व चयन गर्दैछ । पोखरा उद्योग वाणिज्य संघले यसअघि महासंघको अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त गरेको छ । महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले २०५४ सालदेखि २०५६ सालसम्म महासंघको अध्यक्षको सफल जिम्मेवारी सम्हालि सकेका छन् । महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भूमिका बढाउन तथा मोफसलका उद्योगी/व्यवसायीको हित रक्षा गर्नको लागि त्यही बेलादेखि पोखरा उद्योग वाणिज्य संघले महासंघका आफ्नो सक्रिय सहभागिता हुनुपर्ने मत राख्दै आएको थियो । त्यसो त महासंघका पूर्वअध्यक्षहरु त्रैलोक्यनाथ श्रेष्ठ, हेमबहादुर प्रधान, सुरेशकुमार राजभण्डारी, आजाद श्रेष्ठलगायतले पनि महासंघको पदाधिकारी रहेर जिम्मेवारी निभाएको इतिहास रहेको छ ।

‘अहिले हाम्रा अध्यक्षलाई त्यही परम्पराको निरन्तरता स्वरुप केन्द्रीय सदस्यको उम्मेदवारी बनाउने निर्णय गरिएको हो’, संघका महासचिव अर्जुन पोखरेलले भने,‘ उहाँलाई विजय गराउन संघले प्रचारात्मक अभियान थालिसकेको छ ।’ उनले २०११ सालमा स्थापित पोखरा उद्योग वाणिज्य संघको संस्थागत उम्मेदवारीले महासंघमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको भूमिका बढाउने जिकिर पनि गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष अधिकारी र महासचिव पोखरेल यतिबेला कोरोना संक्रमणसँगै होम आइसोलेसनमा छन् ।। संक्रमणमुक्त भएसँगै प्रचारात्मक अभियान तीव्र पारिने पनि महासचिव पोखरेलको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।