आज नेपाल सम्वत ११४१ कछलाथ्व पारु अर्थात नयाँ बर्षारम्भ । यो बर्ष सबैका निमित्त हर्ष,उत्साह,सुख,संतोष,
सुस्वास्थ्य र समृद्धिको बर्ष बनोस् । हार्दिक शुभकामना ।
नेपाल सम्वतको नयाँ बर्ष भन्नासाथ हाम्रो मस्तिष्कमा नेवारहरुको न्हू दँया भिन्तुनाको र्याली ताजा भएर देखा पर्छ । यो अस्वभाविक नलाग्ला तर अस्वभाविक चाॅंहि पक्कै हो । राष्ट्रको नाममा भएको सम्वत कुनै निश्चित समुदाय बिशेषको हुनु अस्वभाविक नै हो । राज्यले राष्ट्रिय सम्वतको मान्यता दिइसकेको सम्वत राष्ट्रकै सम्वत हो कुनै समुदाय विशेषको मात्र हुन सक्दैन । तर किन यो नेवारहरुको जस्तो मात्र लाग्छ ? किन यसको स्वामित्व संकुचनमा परेको छ ? यो छलफलको विषय हो ।
मंका खलले नेपाल सम्वतलाइ राष्ट्रिय मान्यता दिलाउन राजधानीमा निरन्तर आयोजना गर्दै आएको न्हू दँ या भिन्तुना र्याली र त्यसैको अनुकरण गर्दै मोफसलका नेवा संगठनहरुले आयोजनाको प्रभाव स्वरुप २०५६ सालमा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शंखधर साख्वालाइ राष्ट्रिय विभूति र २०६५ सालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेपाल सम्वतलाइ राष्ट्रिय सम्वत घोषणा गर्यो । तर राष्ट्रिय मान्यता प्राप्त राष्ट्रको नाममा स्थापित सम्वत यौटा समुदायको मात्र भनेर किन आरोपित छ ? यसको उत्तर त्यति जटिल छैन । यस सम्वतलाइ मान्यता दिलाउन अभियान चलाउने अभियन्ताहरु र तिनका अनुशरणकर्ताहरुले अभियान सन्चालनमा फराकिलो दृष्टि र अभियानमा सहभागिता व्यापक गर्न सकेनन् । सरकारको घोषणा र कतिपय अवस्थामा कानूनी व्यवस्था समेत जन जनले आत्मसात नगरेसम्म व्यर्थ सावित हुन्छ । यस प्रसंगमा नेपाल सम्वतलाइ राष्ट्रिय सम्वतका रूपमा मान्यता दिलाउन प्रयत्नशील समुदायलाई क्षणिक तुष्टि दिने काम बाहेक घोषणा गरिए अनुरुप सम्बोधन गर्ने तत्परता राज्यबाट देखिएन । मूलतः यी दुई कारण राष्ट्रको नामको सम्वत समुदाय विशेषको हुन अभिशप्त देखिएकोछ ।
नेपाल सम्वत आजभन्दा ११४१ बर्ष अघि शंखधर साख्वा नाम गरेका एकजना धनी मानिसले काठमाडौका ऋणमा डुबेका गरिबहरुलाइ ऋणमुक्त गराएर लिच्छवि राजा राघबदेवसंग अनुमति लिएर चलाएका हुन् भनिन्छ । यस सम्बन्धमा विविध किम्बदन्तिहरु छन । जसको चर्चा त्यति आवश्यक छैन । हाम्रा चाडपर्वहरु, चन्द्रमाको गतिमा आधारित यो सम्वतको आधारमा चलेका छन । यसलाई सरकारी कामकाजको सम्वतका रुपमा यथास्थितिमा सहज नभए पनि यसमा सुधारको गुन्जायस् प्रशस्त छ ।
राष्ट्रिय सम्वतको मान्यता प्राप्त यस सम्वतको प्रयोग हाललाई कमसेकम राष्ट्रप्रमुख,सरकार प्रमुखका औपचारिक पत्राचार तथा राजपत्रमा हुन मात्र सक्यो भने पनि राष्ट्रिय मान्यताको मर्यादा राखे जस्तो हुन्थ्यो ।
संसारमा संभवत नेपाल बाहेक कुनै राष्ट्रको नाममा पनि सम्वत चलेको छैन । यसमा प्रत्येक नेपालीले गौरव गर्नु पर्दछ ।नेपाल सम्वत सिंगो नेपालको सम्पदा हो । कैयन महान सभ्यताको जननी भनेर चिनिने र कैयन् आर्थिक रूपमा बिकसित राष्ट्रका नाममा सम्वत नहुनु तर नेपालको नाममा मौलिक नेपाली सम्वत हुनुले नेपाल सांस्कृतिकरुपमा एक बिकसित राष्ट्र हो भन्नलाइ बल पुग्दछ ।नेपाल सम्बत् ११४१ को अशेष शुभकामना ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।