भनिन्छ, डाक्टरले आफ्नै उपचार गर्न सक्दैन। कोरोनाका कारण समस्या नभएको कुनै क्षेत्र छैन। त्यसमध्ये सबैभन्दा बढी प्रभावित हुनेमा एउटा क्षेत्र संचार क्षेत्र पनि हो। कोरोना भयावह शुरु भएको केही महिनामै मुलुककै ब्राण्डको रुपमा स्थापित भएका संचार गृहले नै धमाधम प्रकाशन बन्द गर्नेदेखि पत्रकारको बिदाई गर्ने घटना हेरे संचार र पत्रकारमाथि आएको संकट बुझ्न काफी हुन्छ।
उसो त पत्रकारले हरेक व्यक्ति, क्षेत्र र निकायका समस्या उजागर गर्ने, समाधानका लागि सम्बन्धित पक्षलाई खबरदारी गर्ने र घचघच्याउने दैनिक कर्म गरिरहेका हुन्छन्। खाली समस्या मात्रै होइन, समाधानसमेत गराउन सक्ने हैसियत भएका देशभरका पत्रकार अहिले भने आफँै चरम समस्या र संकटमा छन्। समस्या भएपनि खुलेर आफ्ना कुरा व्यक्त गर्न सकिरहेका छैनन्।
कोरोना महामारीका कारण पत्रकार निष्कासन हुनुपरेको, जबर्जस्त बिदाइमा परेर बेरोजगार हुनुपरेको, नियमित तलब नपाएको, कतिपय आधा तलबमा चित्त बुझाउनु परेकोजस्ता दर्जनौँ समस्या पत्रकारले झेलिरहेका छन्। योसँगै महत्वपूर्ण विषय त पत्रकार संचारकर्मी कोरोना संक्रमणको तीव्र जोखिमका बीच पनि महिनौँदेखि आफ्नो ज्यान जोखिममा राख्दै अग्रमोर्चामा उभिएर नागरिकलाई सही समयमा सही सूचना दिएर सचेत र सुरक्षित बन्ने बनाउने भूमिकामा छन्।
बजार विज्ञापनमा टिकेको नेपाली मिडिया लामो समयको बन्दाबन्दीसँगै थलिएको छ। बागलुङमा कोरोना शुरु भएको गत वर्षको चैतदेखि आधा दर्जन पत्रकार विभिन्न बहानामा जागिरबाट निकालिने र भूमिका खुम्चिनेमा परेका छन्। यसका साथै नियमित पारिश्रमिक नपाएका र अबको जागिर थप धरापमा भएकाको संख्या पनि कम छैन। यद्यपि, समस्या संकटमा परेका पत्रकारले आजसम्म आधिकारिकरूपमा सम्बन्धित निकायमा कुनै गुनासो उजुरी भने गरेका छैनन्।
अर्काको समस्यामा निरन्तर कलम चलाउँदै आएका पत्रकार आफ्नो समस्यामा मौन बस्न नहुने पत्रकार विजय राना बताउँछन् ।
‘राजधानीदेखि जिल्ला तहसम्मै पत्रकारले आफू समस्यामा पर्दा खुलेर समस्या राख्न सकिरहेका छैनन्, मालिकले के भन्लान् भन्दापनि समाजले के भन्ला भन्ने प्रश्न र संशयबाट डराइरहेको बुझिन्छ’, रानाले भने।
पत्रकारले समेत अहिलेको संकटमा आफूलाई समयानुकूल परिवर्तन गर्न नसक्दा बेरोजगारको अवस्था आउन थालेको पत्रकार प्रकाश बराल बताउँछन्। कोरोना समस्या मात्र नभई अवसरका रूपमा समेत आएकाले प्रविधिको उचित प्रयोग गर्न उनको सुझाव छ।
वर्षौंदेखि नाफामा चल्दै आएका संचार गृह कोरोना संकटको ४/५ महिनामै संचारकर्मी निकाल्ने अवस्थामा आयो भन्ने विषय गम्भीर भएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष तथा नयाँ विश्व डटकमका सम्पादक मुकेशचन्द्र राजभण्डारीले बताए ।
‘अहिले संचार र संचारकर्मी संकटका दुई कारण देखा परेका छन्, एउटा बलियो संचार माध्यम जसले पत्रकार नहटाएपनि हुन्थ्यो उसले हटाउन थालेको छ, अर्को आर्थिक रूपमा संकटमा रहेको संचार गृह जसले बाध्यताले समेत हटाएको छ’, राजभण्डारीले भने, ‘राज्यले समेत चौथो अंगका रूपमा परिचित गर्ने तर कोरोनामा अग्रमोर्चामा खटेका पत्रकारलाई धमाधम बेरोजगार बनाउँदा नदेखे जस्तो गर्नु अर्को गम्भीर समस्या हो।’
बागलुङमा बेतलवी, जबर्जस्त बिदामा राखेको, केही समयपछि सम्पर्क गर्ने भनेकोजस्ता समस्या रहेको सुन्नमा आएपनि पत्रकारनै खुल्न नसक्नु दुःखद् भएको उनको भनाई छ।
केन्द्रीय, प्रदेश तथा जिल्ला तहका विभिन्न मिडियाले बागलुङका केही पत्रकारलाई ५ महिनादेखि सम्पर्क नगरेको पत्रकारहरूको अप्रत्यक्ष गुनासो छ। बागलुङमा कोरोनाका कारण केही पत्रकार संचारकर्मीको समस्याबारे अप्रत्यक्षरूपमा गुनासो सुनिएपनि आधिकारिक रूपमा पत्रकार महासंघमा कसैको गुनासो उजुरी नपरेको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताए । महासंघले पत्रकार संचारकर्मीलाई अन्याय या समस्या भएको विषयमा कानूनी प्रक्रिया र संचार गृहलाई जवाफदेही बनाउन आधिकारिकरूपमा आउनुपर्ने शिरिषको भनाई छ।
‘हामीले हल्ला सुनेकै भरमा संस्थागतरूपमा कदम चाल्ने भन्ने हुँदैन, समस्यामा परेका भनिएका केही साथीसँग महासंघले केही भूमिका खेल्नुप¥यो कि भनेर कुराकानी पनि ग¥याँै, उहाँहरुले त्यस्तो अवस्था आए भन्छौँ भन्नुभएको छ, यदि लिखितरूपमा गुनासो आए महासंघ आवश्यक भूमिका खेल्न तयार र प्रतिबद्ध छ’, अध्यक्ष शिरिषले भने, ‘संचारको बढ्दो संकट सामनाका लागि अब संचार गृह र राज्यलाई पनि थप जवाफदेही बनाउनुपर्ने अवस्था त छ नै, अहिलेको संकटमा पत्रकारले पनि थप सिर्जनशील, उत्तरदायी भएर आफूलाई फेरि एकपटक योग्य सावित गर्नुपर्नेछ ।’
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१० असार पोखरा । निर्माण सामग्री व्यवसायमा लामो समयदेखि सक्रिय व्यवसायी मनोज…






