पोखरामा स्याउ मेला सुरु, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरिने


     एभरेस्ट आवाज    
     असाेज २९ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरा महानगरपालिका वडा नं. १६ को अमरदिपमा स्याउ मेला सुरु भएको छ ।

नेपालीजनका महत्वपुर्ण चाडपर्वलाई लक्षित गर्दै स्थानीय कृषकद्वारा संचालित जय देउराली कृषि फर्मले मेलाको आयोजना गरेको हो । स्वदेशी उत्पादनको प्रर्वद्धन,कृषकलाई प्रोत्साहन र स्वदेशी उत्पादनको बजारीकरण गर्ने उद्धेश्यले मेला आयोजना गरिएको फर्मका संचालक वृन्दा तिवारीले जानकारी दिईन् । मेलाको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरिया, व्यवसाय प्रर्वद्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पर्यटनकर्मि युवराज गुरुङ लगायतले अवलोकन गरेका छन् । उनीहरुले स्वदेशी उत्पादनलाई टेवा दिन मेला सफल हुने विश्वास व्यक्त गर्दै,किसान किसान बिचको समन्वयलाई समेत प्राथामिकतामा राखेको बताए । पोखरा १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले उद्याशीलताका लागि स्थानीय सरकार पनि उद्यमीसँग सहकार्य गर्न तयार रहेको बताए ।सदस्य विकास कुमार आचार्यले स्वदेशी स्थानीय उत्पादनको सम्मान र कृषकको श्रमको पहिचान गर्न संचालकले देखाएको अग्रसरतालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । मेलामा बिभिन्न जिल्लाको स्याउको प्रदर्शनीसँगै बिक्रि वितरण गरिएको छ ।

संचालक बासुदेव तिवारीका अनुसार बडादशैंलाई लक्षित गरी स्वदेशी स्याउलाई मेलामा राखिएको बताए । उनका अनुसार मेलामा जुम्लाको सिंजा कृषि तथा फलफुल केन्द्र र मुस्ताङको छिरिङ कृषि केन्द्रमा उत्पादित बिभिन्न जातका स्याउ राखिएको छ । रेड, गोल्डेन र रोयल डेलिसियस जातका स्याउको माग अधिक रहेको र ति जातका स्याउ मेलामा सहजै उपलब्ध हुने तिवारीले जानकारी दिए । विदेशी स्याउलाई विस्थापित गर्न कृषकको फर्ममै पुगेर स्याउ पोखरा ल्याईएको अर्का संचालक कृष्णहरि तिवारीले बताए । उनले भने, ‘उपभोक्तालाई स्वदेशी स्वाद पस्कन नै मेला आयोजना गरिएको हो ।’ कृषकको फर्मबाट ल्याईएका स्याउ ग्रेडिङ गरेर छुट्याउने र साना तथा दाग लागेका स्याउबाट अन्य उत्पादन गरिने उनको भनाई छ । प्रशोधन प्रविधि पनि फर्ममै रहेका कारण अन्य उत्पादनमा पनि सहज हुने तिवारीले बताए ।कार्तिक ३ गतेसम्म जारी रहने मेलामा सहभागी भई अवलोकन गर्न र सस्तो मुल्यमा ताजा फलफुल खरिद गर्न संचालक तिवारीले आग्रह गरेका छन् । कृषिमा विएस्सी गरेका संचालक कृष्णहरि तिवारीले स्थानीय उत्पादनको प्रर्वद्धनका लागि बिभिन्न स्वदेशी तथा विदेशी निकायसँग समन्वय भईरहेको पनि बताए ।

बिशेष गरी किवि खेतीलाई प्राथामिकता दिएको उक्त फर्मले अन्य फलफुल र तरकारीको उत्पादन र बजारीकरण गर्दै आईरहेको छ । चर्चित रियालिटी शो ‘सार्क ट्यांक’ मा समेत आफ्नो उत्पादनको प्रस्तुति दिईसकेको सो फर्मले ३ रोपनी जग्गामा किवि खेती गरेको छ । बार्षिक ४ हजार किवि उत्पादन गर्दै आईरहेको संचालक तिवारीले बताए । उनले आफनो मात्र नभई गण्डकी प्रदेशभित्रका किवि उत्पादक कृषकसँग समन्वय गरी खरिद समेत गर्दै आईरहेका छन् । किविका बिभिन्न उत्पादनलाई उनले बजारीकरण गरिरहेको बताईएको छ । मेलामा स्याउबाहेक अन्य स्थानीय उत्पादनलाई पनि राखिएको फर्मले जनाएको छ ।

कृषि, उद्यमशीलता र स्थानीय उत्पादनको क्षेत्रमा गर्दै आएको योगदानको कदरस्वरूप सो फर्म बिभिन्न क्षेत्रबाट सम्मानित समेत भएको छ ।किसानको उत्पादनलाई बजारसँग जोड्दै, फलफूलको नोक्सानी घटाउन प्रशोधनमार्फत नयाँ उत्पादन बनाउने प्रयासलाई निरन्तरता दिने फर्मले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।